सरुभक्त : चुली उपन्यास

सरुभक्त

१. उपन्यासकारको परिचय
नामः भक्त श्रेष्ठ
जन्मः वि.सं. २०१३ पोखरा, कास्की
कृतिहरुः
एकाङ्कीः असिना पग्लन्छ (२०३०)
नाटकः युद्ध उही ग्यास च्याम्बरभित्र (२०३७), इतिहासभित्रको इतिहास (२०४१), इथर (२०४३), गाउँघरका नाटकहरु (२०५०), मलामीहरु (२०५३), असमय अमौसम (२०५४), निमावीय (२०५५), सरुमारानी (२०६१), शरणार्थीहरु (२०६३) लगायत एक दर्जनभन्दा बढी ।
उपन्यासः पागल बस्ती (२०५३), तरुनी खेती (२०५३), समय त्रासदी (२०५८), चुली (२०६०)।
कविता संग्रहः बोक्सीको आह्वान र घोषणा पत्र (२०४०), कविता, प्रेमी र पागल (खण्डकाव्य, २०५०) लगायत एक दर्जनभन्दा बढी ।
कथा संग्रहः एउटा अभिनवको आत्मकथा (२०४४), छोरी ब्रह्माण्ड (२०४७), यामागल (२०५४), पदार्थहरुको गीत (२०६३) आदि ।
बालसाहित्यः अँध्यारो कोठा (२०६०), अन्नपूर्ण पिथेकस (२०६७) ।
आत्मसंस्मरणः मार्फत् मञ्जुलः एउटा भेट, एउटा नाटकको कथा, मेरो साहित्यिक कथा ।
सम्मान तथा पुरस्कार: साढे दुई दर्जनभन्दा बढी सम्मान, पुरस्कार र पदकहरु प्राप्त ।

औपन्यासिक प्रवृत्तिः
 अस्तित्ववादी र विसंगतिवादी जीवन भोगाइका अनुभूतिहरु पाइनु,
 जीवनका अनेक सङ्घर्ष र कठिनाइको चित्रण गर्नु,
 मानवताको चिन्तन र खोजी गर्नु,
 प्रेमको अमरता, जीवनको सुन्दरता र सङ्घर्षशील जीवनको कलात्मक प्रस्तुती पाइनु,
 एक युगमा एक दुई जनाले मात्र मानवताको चुली चढ्ने अवसर पाउँछ भन्ने जीवन दर्शन,
 पर्यावरणीय क्षेत्र र हिमाली परिवेशको सफल चित्रण गर्नु,
 मानवीय नैतिकतामा आएको ह्रासप्रति चिन्ता प्रकट गर्नु,
 जटिल भाषाशैली र अमूर्त पात्रको प्रयोग गर्नु,
 बौद्धिकताको प्रदर्शन गर्नु,
 काव्यात्मक भाषाको प्रयोग गर्नु,
 नारी अस्मिताको पक्षमा वकालत गर्नु,
 झिनो वा सूक्ष्म कथानकको प्रयोग गर्नु,
 विश्वशान्ति र विश्वमानवताको पक्षमा वकालत गर्नु,
 उद्देश्यमूलक र सार्थक जीवनका पक्षमा बहस गर्नु ।

२. चुली उपन्यासको विषयवस्तु / आस्वाद्य वा कथ्य विषय
सरुभक्तको चुली उपन्यास पहिलो पटक २०६० प्रकाशित लघु उपन्यास हो । यो कुल ७० पृष्ठमा संरचित छ । यसमा नेपालको हिमाली पर्यावरणीय क्षेत्र र हिमाल अरोहण वा पर्वतारोहणको विषयलाई उठान गरिएको छ । यस उपन्यासमा सगरमाथाको आधारशिविरदेखि चुलीसम्मको मार्गलाई मुख्य कार्यक्षेत्रका रुपमा प्रस्तुत गरिएको छ । विश्वकै सर्वाेच्च चुली सगरमाथा र त्यसको आसपास क्षेत्रलाई उपन्यासको परिवेश वा वातावरणका रूपमा चित्रण गरिएको छ । विशेष गरी यसमा हिमाल आरोहण गर्दाका उत्साह र चुनौतीहरुको वर्णन छ ।
चुली उपन्यासमा लेखकका विचारको भोक्ता र वर्णनकर्ता ‘ऊ’ पात्र हो । आरोही ‘ऊ’ पात्र पहिलो सात दिन नाम्चेमा, दोस्रो सात दिन थ्याङबोचेमा र तेस्रो सात दिन फेरिचे अनि लोबुचेमा बिताइ सर्वोच्च चुली सगरमाथाको आधारशिविरमा पुग्छ । उसँग गाइड र सहआरोहीहरु नभए पनि आधारशिविरसम्मका लागि भरियाहरु छन् । ५३ सय मिटरको आधारशिविरमा विदेशी आरोहीहरुको घुइँचो छ । अर्को दिन ऊ आधारशिविरबाट आल्मुनियमका भ¥याङ, नइलनका रसी र अनेक पुलहरु पार गर्दै खुम्बु आइसफलसम्म पुग्छ र पुनःआधारशिविरमै फर्किन्छ । केही दिन मौसमको प्रतीक्षा र आरोहणको अभ्यासपछि आइसफल पार गरी ऊ आधारशिबिरबाट चार घण्टा मै ६१ सय मिटर उचाइमा रहेको क्याम्प एक क्षेत्रमा पुग्छ । त्यहाँबाट पनि ऊ एक्लै ६४ सय मिटर उचाइमा रहेको क्याम्प दुई तर्फ लाग्छ । अनुकूल र प्रतिकुल मौसमको कुनै प्रवाह नगरी आधारशिविरबाट १५ घण्टामा ऊ प्रियसी र सुखी परिवारको परिकल्पना गर्दै ७३ सय मिटर उचाइमा रहेको क्याम्प तीन पार गरी माइनस २५ डिग्री सेल्सियस तामक्रममा रहेको क्याम्प चार क्षेत्रमा पुग्छ ।
आधारशिविरबाट हिडेपछि मृत्युको पहिलो ढोका मानिने खुम्बु आइसफल र दोस्रो ढोका मानिने हिलारी स्टेप (चुलीभन्दा २०० फिट तल) समेत पार गर्दै बिहान चार बजेतिर ऊ ठीक २२ घण्टामा माइनस ४० डिग्री सेल्सियस तामक्रमको ८८४८ मिटर उचाइमा रहेको गरमाथाको चुली टेक्न सफल हुन्छ । त्यहाँबाट उसले तिब्बतर्फका पठार र दक्षिणतर्फका ल्होत्से, मकालु, नुप्से, कञ्चनजङ्घा लगायतका थुप्रै हिमाल र थ्याङ्बोचे गुम्बाहरुको समेत अवलोकन गर्दछ । चुलीबाट फर्किने क्रममा उसको हिमपहिरोमा परी दुःखद मृत्यु हुन्छ । यही आधारशिविरबाट क्याम्प १,२,३,४ हुँदै सगरमाथाको चुलीसम्म पुग्न सफल भएर पनि फर्किने क्रममा भएको उसको मृत्युको वर्णन नै यो उपन्यासको कथानक बन्न पुगेको छ ।
यो उपन्यासको विषयवस्तु आदि, मध्य र अन्त्य घटना श्रृङ्खलाको रैखिक ढाँचामा संरचित छ । नियात्रा शैलीमा वर्णित कथ्य विषयमा पर्वतारोहीको साहस र आकाङ्क्षा, गाइडको पेसा, भरियाका बाध्यता, हिमाली सौन्दर्य, हिमाल प्रदूषणको विषय, मौसमको अनुकूलता र प्रतिकूलता, भोटे कुकुर, हिमाली काग, शेर्पाभूत, हिममानव (यती), देवीदेवता, साइत, कुसाइत, अन्धविश्वास आदिको वर्णन समेत उपन्यासमा कथ्य विषयका अंश बनेका छन् ।
यो उपन्यास तृतीयपुरुष दृष्टिबिन्दुमा संरचित छ । यसमा कतै पनि सहभागी पात्रको नाम उल्लेख नगरी सर्वनाम ‘ऊ’ का माध्यमबाट कथानकलाई अगि बढाइएको छ । यसमा विषयवस्तुको टिप्पणी वा वर्णन ‘ऊ’ पात्र आफैैँले गरिरहेको छ । समाख्याता वा वर्णनकर्ता आख्यानभन्दा बाहिरै रही आपूm सर्वज्ञ भएर आप्mना अनुभव, विचार र घटनालाई प्रस्तुत गरिरहेको छ । यसरी उपन्यासकार आपूm चुली नचढे पनि आफै चढे झैं उपन्यासका सम्पूर्ण घटनाका बारेमा पूर्ण जानकारी भएकाले यहाँ तृतीय पुरुष सर्वज्ञ दृष्टिबिन्दुको प्रयोग भएको स्पष्ट देखिन्छ ।

३. चुली उपन्यासका पात्रहरुको कार्य वा चरित्र
चुली उपन्यास पर्वतारोहीको जीवनदृष्टि, यात्रानुभूति र मनोलोकीय यथार्थको प्रस्तुति हो । चुलीको मुख्य पात्र ‘ऊ’ हो । उसँग गएका भरिया, युवती, अन्य आरोहण दलका विदेशी आरोहीहरु, पथप्रदर्शकहरु सहायक पात्र हुन् । सगरमाथा मानवेत्तर अमूर्त पात्र हो । अन्य हिमालका चुलीहरु, मौसम, भोटे कुकुर, काग आदि गौण मानवेत्तर पात्रहरु हुन् । सम्झना गरिएकी ‘प्रियसी’ प्रतीकात्मक पात्र हो । नामभन्दा कामलाई महत्व दिनु ‘ऊ’ पात्रको मुख्य विशेषता हो । मुख्य पात्रका चारित्रिक विशेषताको प्रदर्शन गर्नु नै उपन्यासको मूल उद्देश्य हो । चुली चुम्ने उद्देश्य अनुसार २१ दिनमा ऊ पात्र सगरमाथाको आधारशिविरमा पुग्छ र त्यहाँबाट २२ घण्टामा ऊ सगरमाथाको चुली चुम्न सफल हुन्छ । मुख्य पात्रका चारित्रिक विशेषताहरु:
 एक्लै यात्रा गर्नु रुचाउनु,
 आप्mनो लक्ष्य पूरा गर्न अनेक चुनौतीको सामना गर्न तयार हुनु
 महान् लक्ष्यका साथ अगाडि बढ्नु,
 प्रकृतिसँग जुध्न नडराउनु,
 कठिन यात्रामा पनि प्रियसीको याद र सुखी परिवारको कल्पनामा साहसी यात्रा गर्नु,
 अरुले एक्लै हिमाल आरोहण गर्नु हुन्न भन्दा पनि आप्mनो हठ वा जिद्दी नत्याग्नु,
 स्वाभिमानी र दृढ निश्चयी बन्नु,
 आफैले खनेको बाटोमा हिंड्न रुचाउनु,
 जीवनमा दुःख भए पनि जीवनलाई दुःख नसम्झिनु,
 कर्ममा विश्वास गर्नु,
 जीवनहीन जीवन नभएर मृत्युहीन मृत्युको खोजी गर्नु,
समग्रमा ‘ऊ’ पात्रमा उच्च बौद्धिक, दार्शनिक, साहसी, निडर, देशप्रेमी, मानवतावादी, हिमालपे्रमी, स्वाभिमानी, कर्मवादी, दृढ निश्चयी, उत्तरदायी र आत्माविश्वासी देखिनु पात्रका चारित्रिक विशेषता हुन् ।

४. चुली उपन्यासको मुख्य भाव वा सन्देश
‘चुली’ सरुभक्तको हिमाली पर्यावरण र हिमाल आरोहणको विषयमा आधारित उपन्यास हो । यसमा मानवीय जीवन भोगाइ र हिमाल आरोहणका बीचको तादात्म्यलाई प्रस्तुत गरिएको छ । पर्वतारोहीको संवेदना र अनुभूतिलाई देखाउनु यो उपन्यासको मूल उद्देश्य हो । यसमा ‘उ’ पात्रका माध्यमबाट प्रेमको अमरता, जीवनको सुन्दरता र सङ्घर्षशील जीवनको कथालाई प्रस्तुत गरिएको छ । यसमा कठोर चुलीको यात्रा ताक्नेले मात्र जीवनका अनेक संघर्ष र कठिनाइ भोग्नुपर्छ अनि मात्र सफलता प्राप्त गर्नसकिन्छ भन्ने निष्कर्ष निकालिएको छ ।
यो वैचारिक उपन्यास हो । यसमा व्यक्तिले जीवनमा अमरता प्राप्त गर्न मानवताको चुलीमा चुलिनुपर्छ भन्ने सन्देश दिइएको छ । सगरमाथा आरोहणमा जस्तै मानव जीवनमा पनि अनेक प्रकारका समस्या र सङ्कटहरू आउन सक्छन् । त्यसलाई बुद्धिमत्तापूर्वक पन्छाउँदै अगि बढ्नुपर्ने सुझाव दिइएको छ । यसमा व्यक्ति मरे पनि मानवता र उसको महानता कहिल्यै मर्दैन भन्ने सार निकालिएको छ । चुली चढ्ने सौभाग्य पृथ्वीको इतिहासमा एक युगमा एक दुई जना व्यक्तिलाई मात्र प्राप्त हुन्छ । यो सौभाग्य बुद्ध, कृष्ण, यसु, महावीर, मोहम्मद, सुकरात, कन्प्mयुसियस, माक्र्स, डार्विन, फ्रायड आदिले मात्र प्राप्त गर्न सफल भए ।
यो उपन्यासमा थोरै सामग्रीभित्र धेरै प्रकारका सुक्ति वा सूत्रहरु प्रस्तुत गरिएको छ । यहाँ जीवनको उचाइ र मृत्यु भोगाइका बीचको लेखाजोखा गरिएको छ । चुलीको आरोहण उत्तेजनाले होइन, विवेक र बुद्धिले सम्भव छ भन्ने धारणा पनि व्यक्त गरिएको छ । यसमा जीवनवादी, प्रेमवादी, कर्मवादी, जीवनप्रतिको आशावादी र सकारात्मक दृष्टिकोणलाई प्रस्तुत गरिएको छ । हिमालभन्दा शान्त र सुन्दर ठाउँ पृथ्वीमा कतै छैन भन्ने सन्देश पनि दिइएको छ । मानव इतिहास प्रकृतिसँगको सम्झौता नभइ संघर्षको इतिहास हो भन्ने निष्कर्ष निकालिएको छ । यात्रा फोहोरी स्वर्थको खेल नभइ पवित्र विश्वास र समर्पणको उपज हो भन्ने निष्कर्ष निकालिएको छ । जीवन र मृत्यु, सिद्धान्त र व्यवहार, मन र शरीरबीचको सन्तुलन नै चुली वा जीवनको सफलता हो भन्ने सन्देश नै उपन्यासको मूल भाव हो ।

५. चुली उपन्यासको परिवेश/पर्यावरण
कुनै पनि उपन्यासमा स्थान, समय र घटना वा विषयवस्तको वर्णनले परिवेश वा पर्यावरणको चित्रण गरिरहेको हुन्छ । लघु आयाममा लेखिएको प्रस्तुत चुली उपन्यासमा सगरमाथाको आधारशिविरदेखि चुलीसम्मको मार्गलाई स्थानीय परिवेशका रुपमा लिइएको छ । उपन्यासलाई यथार्थपरक बनाउन मुख्य कार्य क्षेत्रका रुपमा नाम्चे, सगरमाथाको आधारशिविर, घोर्तेन, थ्याङबोचे, फेरिचे, लोबुजे, खुम्बू आइसफल, क्याम्प एक, दुई, तीन, चार, ल्होत्सेमुख, हिलारी स्टेप, रेजर्सएजको उकालो आदि मुख्य स्थानका रुपमा वर्णन गरिएको छ । यात्रामा देखिने गुराँसे घाँटी, तम्बु, ध्वजापतका, गुम्बा, हिमाली बस्ती, हिमाली खानपान, देवीदेवताप्रतिको आस्था आदि चुलीका परिवेश हुन् । उपन्यासको कथावस्तु २१ दिन, २२ घण्टाको समयावधिमा आधारित छ । पर्वतारोहणलाई यथार्थपरक बनाउन ‘रुकस्याक, क्रेम्पोन पाइला, ग्लेसियर, आइसफल, हिमबञ्चरो, डोरी, पञ्जा, खरपस, हिलारी स्टेप, हिमतुफान’ आदि पारिभाषिक शब्दको प्रयोगले उपन्यासलाई यथार्थको नजिक पु¥याएको छ ।
विश्वकै सर्वाेच्च चुली र त्यसको आसपासलाई परिवेश बनाइएको यस उपन्यासमा हिमाली वातावरणको सघन रूपमा चित्रण भएको छ । आरोही र भरियाहरुका संवाद, पूजाआज, भोजन, आरोहणको अभ्यास, बन्दोबस्तीका सामग्रहरु, आत्माविश्वास, अन्धविश्वास, पेसागत बाध्यता, हिमाली सौन्दर्य, हिममानव, हिमाल प्रदूषणको विषय, बाटोमा प्mयाकिएका तम्बु र सिलिन्डरका सामग्रीहरु, मौसमको अनुकूलता र प्रतिकूलता, कुकुर, काग, शेर्पाभूतको विश्वास, देवीदेवता, साइत, कुसाइत, आदिको वर्णनले उपन्यासलाई जीवन्त बनाएको छ ।
आरोहीको साहसिक यात्रा, उत्साही वातावरण, कौतुहलतापूर्ण घटनाक्रम र मनमोहक दृश्यावलीको वर्णनले गर्दा नायक ‘ऊ’ पात्र मृत्युको मुखमा पुगिसक्दा पनि कथामा दुःखद वातावरणको झल्को पाइँदैन । उपन्यास दुःखान्त भएर पनि कारुणिक बन्नसकेको छैन । जीवनलाई संघर्षको प्रतीकका रुपमा लिइएको छ । हिमाल र जीवन दुवैमा सङ्घर्ष र चुनौती रहन्छ भन्ने आशय प्रकट गरिएको छ । कथ्य भाषा र पर्वतारोहणसम्बन्धी पारिभाषिक शब्दहरूको प्रयोगले उपन्यासलाई स्वाभाविकता र जीवन्तता प्रदान गरेको छ । यिनै साहसी यात्रा, अनुकूल र प्रतिकूल मौसम, प्राकृतिक सौन्दर्यहरु, संभावित जोखिम र अपनाउनुपर्ने सावधानी, प्राकृतिक भूबनोट, पत्तीका धारजस्ता चट्टान आदिको सजीव चित्रण नै प्रस्तुत उपयासको परिवेश हो । यही परिवेशको कलात्मक चित्रणले उपन्यासलाई यथार्थपरक बनाएको छ ।

६. शीर्षकको सन्दर्भ, प्रतीकात्मक अर्थ र सार्थकता
‘चुली’ सगरमाथा हिमाल आरोहणको सन्दर्भमा तयार गरिएको लघु उपन्यास हो । ‘चुली’ शब्दको कोशीय अर्थ पहाड वा हिमालको चुचुरो, टुप्पो, टाकुरो, शिखर वा उच्च स्थान भन्ने हुन्छ । यही अभिधार्थलाई उपन्यासको शीर्षक राखिएको छ । यहाँ प्रयुक्त ‘चुली’ शब्दले अभिधात्मक र प्रतीकात्मक दुवै अर्थलाई एकैसाथ वहन गरेको छ । अभिधात्मक अर्थमा चुलीले विश्वकै सर्वाेच्च शिखर सगरमाथालाई बुझाएको छ भने प्रतीकात्मक अर्थमा यसले जीवनको महान् लक्ष्य, उद्देश्य वा गन्तव्यलाई सङ्केत गरेको छ । सगरमाथा हिमालको चुली मात्र नभएर सपनाको चुली हो र सर्वोच्चताको चुली हो भन्ने प्रतीकात्मक अर्थलाई पनि अथ्र्याइएको छ । यसमा जुनसुकै परिस्थितिमा पनि मानिस आप्mनो लक्ष्यमा पुग्नुपर्ने धारणालाई अभिव्यञ्जित गरिएको छ ।
यसरी अभिधात्मक र प्रतीकात्मक दुवै दृष्टिबाट हेर्दा चुली उपन्यासको शीर्षक यथार्थपरक, स्वभाविक र सान्दर्भिक बन्न पुगेको छ । मन र शरीर, सिद्धान्त र व्यवहार, जीवन र मृत्युलाई स्वभाविक रुपमा हेरिएको छ । तसर्थ उपन्यासको शीर्षक कथ्य, भाव र उद्देश्यअनुरूप सार्थक र उपयुक्त बन्न पुगेको छ ।

७. चुली उपन्यासमा अभिव्यक्त सूक्तिमय विचार वा वैचारिक आधार
 हिमाल कर्मले चढिन्छ भाग्यले चढिदैन ।
 मन्छे एक साहस हो, साहस आपैंmमा एक प्रतिभा हो ।
 मान्छेका लागि जीवनको अर्थ नयाँ बाटो पत्ता लाउनु भन्ने हुन्छ ।
 हिमाल चढ्नेहरूका जीवनमा थकाइ हुन्छ, थकाइमा जीवन हुँदैन ।
 मान्छेले जीवनहीन जीवन होइन, मृत्युहीन मृत्यु रोज्नुपर्छ ।
 मान्छे आप्mनै इतिहासको स्वप्नद्रष्टा हो ।
 यदि भाग्य मान्ने हो भने मान्छेले आप्mनो भाग्य आपैंm बनाउनु पर्छ ।
 उद्देश्यविहीन जीवन मृत्यु हो, मृत्यु कुनै उद्देश्य होइन ।
 जीवन सक्न एउटै दुर्घटना पर्याप्त भइदिन्छ ।
 दुर्घटनाहरूसित लुकामारी खेल्नुको नाम नै हो जीवन ।
 राम्ररी योजना गरिएन भने सपना सधैं सपनै रहन्छ ।
 मान्छे समाजमा बस्नुपर्छ तर हिमाल चढ्दा एक्लै चढ्नुपर्छ ।
 मनले मात्रै सगरमाथा चढ्न सकिँदैन ।
 चुलीको यात्रा भनेको जहिले पनि एक्लो यात्रा हो ।
 जीवन भनेको जोखिमहरूको एक सुन्दर कविता हो ।
 जोखिमहरुदेखि तर्सनेहरु सधै कुरुप कविता रचना गर्छन् ।
 काँडाहरूले अरूलाई घोच्छन् आपैmँलाई घोच्दैनन् ।
 हिमालमा सबै कुरा जम्छ तर हृदय जम्दैन ।
 जिन्दगीको अर्काे नाम विवशता हो तर विवशताको अर्काे नाम जिन्दगी होइन ।
 जीवनमा दुःख छ, जीवन दुःख होइन ।
 भावुकताले मान्छेलाई कमजोर बनाउँछ ।
 राम्रो मौसम राम्रो कुरा हो तर राम्रो मौसमको प्रतीक्षा गरिबस्नु मात्रै राम्रो कुरा होइन ।
 सबै सम्भावनाहरू दुर्भाग्यपूर्ण हुँदैनन् तर चुनौतीपूर्ण भने हुन्छन् ।
 प्रियसीको सम्झना जहिले पनि न्यानो हुुुुन्छ चाहे हिमालमा होस् चाहे उत्तरी–दक्षिणी धु्रवहरूमा ।
 मायाको सानो घर संसारको सबैभन्दा ठूलो गगनचुम्बी भवनभन्दा बलियो हुन्छ ।
 मान्छेले सबभन्दा पहिले आपैंmलाई चिन्न र विश्वास गर्न जान्नुपर्छ ।
 मान्छेका भूलहरू मान्छेकै कर्मले महान् वा तुच्छ बन्छन् ।
 महान् लक्ष्यको यात्रा भनेको फोहोरी स्वार्थको यात्रा होइन, पवित्र विश्वास र समपर्णको यात्रा हो ।
 महान् लक्ष्यहरू, महान् समस्याहरू र महान् संघर्षहरूले नै मान्छे महान् बन्छन् ।
 मान्छेको चरित्र पवित्र एवं सिर्जनशील हुनुपर्छ ।
 जीवनको यात्रा अनवरत हुनुपर्छ ।
 मान्छेका महान् कर्महरू शिथिल मनका उपज होइनन् ।
 चुलीको यात्रा हजारौं र लाखौं समस्याहरूको यात्रा हो ।
 जीवन भूल होइन तर जीवनमा भूलहरू हुन्छन् ।
 अज्ञानीहरू आपूmलाई ज्ञानी सम्झन्छन् ।
 जीवनको महान् यात्रामा हिँड्नेहरू बाटोमा निदाउँदैनन् ।
 विना शरीर मन हुँदैन र विना मन शरीर रहँदैन ।
 मान्छे मरे पनि मानवता र महान्ता कहिले पनि मर्दैन ।
 जीवनका लक्ष्यहरू नदेखिनुको अर्थ जीवनका लक्ष्यहरू नहुनु होइन ।
 जीवन नबुझ्नेहरू जीवनलाई शत्रुतापूर्ण दृष्टिले हेर्छन् ।
 दुःख कहिले पनि अरूको हुँदैन ।
 विजयमा खुसी हुनुपर्छ तर चाहिनेभन्दा धेरै होइन । चाहिनेभन्दा धेरै खुसी मूर्खहरू मात्र हुन्छन् ।
 जीवन एउटा मात्र चुलीका लागि होइन, धेरैधेरै चुलीहरूका लागि हो ।
 पृथ्वीको इतिहासमा एक युगमा एक दुई जनाले मात्र मानवताको चुली टेक्छन् ।
 जीवनमा तुफानहरू आइरहन्छन् । तुफानसित भागेर तुफानबाट बच्न सकिँदैन ।
 महासङ्कटका बेला भगवान् सधैं अनुपस्थित हुन्छ ।
 बुद्ध, कृष्ण, यसु, महावीर, मोहम्मद, सुकरात, कन्प्mयुसियस, माक्र्स, डार्विन, फ्रायड आपैmमा हिमाल हुन् ।
 जोसित आत्माविश्वास, धैर्य र निर्णय गर्ने क्षमता छैन उसले कहिल्यै हिमाल चढ्न सक्दैन ।
 चुली नदेखिनु चुली नहुनु होइन । जीवनका चुली पनि यस्तै हुन्छन् ।
 खतरापछिको अर्को खतरा नै जीवन हो ।
 जीवन एउटा मात्र चुलीका लागि होइन, धेरैधेरै चुलीका लागि हो ।
 अधिकांश दुर्घटना सुली चढ्नेभन्दा ओर्लने क्रममा हुन्छ । असफलतामा होइन सफलतामा दुर्घटना हुन्छ ।

प्रश्नहरु
१. चुली उपन्यासको आस्वाद्यय वा कथ्य विषयको चर्चा गर्नुहोस् ?
२. चुली उपन्यासका पात्रहरुको कार्य वा चरित्र चित्रण गर्नुहोस् ?
३. चुली उपन्यासको मुख्य भाव वा सन्देश के हो ?
४. चुली उपन्यासको परिवेशको चित्रण गर्नुहोस् ?
५. चुली उपन्यासको शीर्षकको सन्दर्भ, प्रतीकात्मक अर्थ र सार्थकता के कस्तो छ ?
६. चुली उपन्यासमा अभिव्यक्त सूक्तिमय विचार वा वैचारिक आधार के हो ?

सरुभक्त : चुली उपन्यास

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to top