नेपालमा बोलिने भाषापरिवार र विभिन्न मातृभाषाहरु

प्रा.डा. दिनबहादुर थापा

संसारमा आठ अरबभन्दा बढी मानिसहरुले छ हजारभन्दा बढी भाषाहरु बोल्दछन् । यी सबै भाषाहरुको पारिवारिक पृष्ठभूमि थाहा नभए पनि तुलनात्मक भाषाविज्ञानले यी भाषाहरुको पारिवारिक विशेषताहरु निर्धारण गरिसकेको छ । विश्वमा बोलिने यी भाषालाई मोटामोटी दश भाषापरिवारमा वर्गीकरण गरेर अध्ययन गर्नसकिन्छ । यी दश भाषापरिवारहरुमा १. भारोपेली, २. भोटचिनियाँ, ३. द्रबिड, ४. युराल अल्टाइक, ५. ककेसियाली, ६. जापानी-कोरियाली, ७. मलय-पोलिनेसियाली, ८. अग्नेली, ९. अमेरिकाली र १०. अफ्रिकाली हुन् । यी दश परिवारहरुमध्ये नेपालमा १. भारोपेली, २. भोटचिनियाँ, ३. आग्नेली, ४. द्रबिडेली र ५. परिवार खुल्न नसकेको एकल गरी पाँच परिवारका भाषाहरु बोलिन्छन् ।

जनगणना २०७८ को तथ्याङ्कअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । यी मध्ये ८१.१९ प्रतिशत हिन्दु, ८.२१ प्रतिशत बौद्ध, ५.०९ प्रतिशत स्लाम, ३.१७ प्रतिशत किराँत र १.७६ प्रतिशत क्रिश्चियन धर्मालम्बी भएको जानकारी राष्ट्रिय तथ्याङ्कको कार्यालयले जनाएको छ । विभिन्न पारिवारिक पृष्ठभूमि भएका नेपालमा बोलिने मातृभाषाहरुको विवरण निम्नानुसार रहेका छन्–

क. भारोपेली भाषापरिवारका मातृभाषाहरु

१. नेपाली, २. मैथिली, ३. भोजपुरी, ४. थारू, ५. अवधी, ६. राजवंशी\ताजपुरी, ७. दनुवार, ८. हिन्दी ९. बङ्गाली, १०. माडवारी\राजस्थानी, ११. माझी, १२. दरै, १३. कुमाल, १४. बोटे, १५. बघेली, १६. मुसाहार\ मुसार, १७. सोन्ह\सोनह, १८. अङ्गिका, १९. बज्जिका, २०. सिन्धी, २१. हरियान्वी, २२. मगही, २३. कुर्माली, २४. पन्जाबी, २५. चुरौटी, २६. ओरिया, २७. कोचे, २८. आसामी, २९. सधनी, ३० जुम्ली र ३१. अन्यः डोटेली, बैतडेली, बझाङ्गी, गढवाली, माझी, बाजुरेली, अंग्रेजी, संस्कृत, खस, गंगाई, डोल्पाली, दैलेखी, किसान, मुसल्मान, माल्पान्डे, रसियन, फ्रेन्च, उर्दू आदि ।

ख. भोटचिनिया परिवारका मातृभाषाहरु

१. तामाङ, २. नेवार, ३. मगर, ४. बान्तवा, ५. गुरुङ, ६. लिम्बू, ७. शेर्पा, ८. चाम्लिङ,  ९. चेपाङ, १०. सुनुवार,  ११. थामी, १२. कुलुङ, १३. धिमाल, १४. जिरेल, १५. ब्यङ्सी\ब्यासी, १६. याक्खा, १७. थुलुङ, १८. साङपाङ, १९. भुजेल\खवास, २०. खालिङ, २१. थकाली, २२. छन्त्याल, २३. तिब्बती\भोटिया, २४. दुमी, २५. जिरेल, २६. चौरासिया\उम्बुले, २७. पुमा, २८. नाछिरिङ\बाङ्देल, २९. मेचे, ३०. पहारी, ३१. लेप्चा, ३२. बहिङ\रुम्दाली, ३३. कोयु\कोइ, ३४. राजी, ३५. हायु\वायु, ३६. याम्फू\याम्फे\ नेवाहाङ, ३७. घले\कुतङ, ३८. छिलिङ, ३९. लोहोरुङ, ४०. मेवाहाङ, ४१. काइके\तराली खाम, ४२. राउटे \खाम्ची, ४३. बराम\भ्राम, ४४. तिलुङ, ४५. जेरो\जेरुङ, ४६. दुङमाली\आर्थरे, ४७. साम, ४८. कागते, ४९. भुटानिज\जोङ्खा, ५०. छिन्ताङ, ५१. ल्होमी, ५२. आठपरिया\ बेलाहारी, ५३. चौदाङ्सी\सौका\ दर्मिया, ५४. चुक्वा\पोहिङ, ५५. कोचे, ५६. दुङ्माली, ५७. हेलम्बू, ५८ खाम, ५९. हुम्ला भोटिया, ६०. केरुङ, ६१. लोवा\मुस्ताङ, ६२. मनाङ\मनाङवा, ६३. कुकी, ६४. नार्फू, ६५. रावत\जङ्गार\जङ्गली, ६६. थुडाम, ६७. तोमेइङ\चोङ्का, ६८. तेसुम, ६९. वालिङ, ७०. वालुङ्गे\वालुङचुङ, ७१. तिचुरुङ, ७२. लिङ्खिम\लिम्खिम, ७३. रङ्कास, ७४. योल्मो (हेल्मो शेर्पा), ७५. दुरा, ७६. मिजो, ७७ वाम्बुले, ७८. अन्य ः ल्होपा, कोयो, बम्सी, चिनियाँ, काइके, बराम, धुलेली, सुरेल, वन्करिया आदि

ग. द्रविड परिवारका भाषाहरु

१. झाँगड वा घाँगड                                  

घ. आग्नेय परिवारका भाषाहरु

                १. सतार वा सन्थाल   २. खरिया ३. मुन्डरी\मुन्डा

ङ. परिवार पहिचान नभएको वा एकल परिवार

                १. कुसुन्डा

                यसरी जनगणना २०६८ अनुसार नेपालमा भारोपेली परिवारका मातृभाषीको संख्या ८२.१० प्रतिशत, भोटचिनियाँ परिवारका मातृभाषीको संख्या १७.३१ प्रतिशत र अन्य परिवारका ०.५९ प्रतिशत रहेको तथ्याङ्क पाइन्छ ।

नेपालमा बोलिने मातृभाषाहरुको अवस्था

                नेपाल एक बहुजाति, बहुभाषी र साँस्कृतिक एवम् भौगोलिक विविधता भएको मुलुक हो । यहाँ वि.सं. २०६८ को जनगणनाअनुसार कुल १२५ जातजाति र १२३ मातृभाषी भएकामा २०७८ को जनगणनाअनुसार १४२ जातजाति, १२४ मातृभाषी र १० वटा धर्मको संख्या कायम गरिएको जानकारी राष्ट्रिय तथ्याङ्क कार्यालयको जेठ १९, २०८० को सूचनामा उल्लेख गरिएको छ । यसै सूचनाअनुसार १२३ वटा मातृभाषामध्ये थोरै वक्ता भएका १२ वटा विदेशी भाषा बोल्ने व्यक्तिको संख्यालाई अन्य भाषामा राखिएको छ भने थपिएका १३ वटा नयाँ भाषालाई थपेर २०७८ सालको जनगणनाअनुसार नेपालमा कुल १२४ मातृभाषाको संख्या कायम गरिएको छ । यिनै भाषाहरु मध्येका केही भाषाहरुको संक्षिप्त परिचय निम्नानुसार रहेको छ–

१. नेपाली (४४.८६ %)

                नेपाली भाषा (तत्कालीन खस भाषा) संसार प्रसिद्ध भारोपेली भाषापरिवारबाट सतम् वर्ग हुँदै आर्य-इरानेली शाखाको एउटा भाषासमूह (आर्य-इरानेली) बाट वैदिक संस्कृत, लौकिक संस्कृत, प्राकृत र अपभ्रंश हुँदै विक्रमको एघारौं शताब्दीतिर अन्य आधुनिक आर्य भाषाहरु सरह विकास भएको भाषा हो । यसको ऐतिहासिक पृष्ठभूमिलाई हेर्दा भौगोलिक रुपमा खस राज्यबाट विकसित भएको यो भाषा पर्वते र गोर्खाली भाषाका नामले चिनिंदै नेपालको राज्य एकीकरण पूरा भएपछि समग्र नेपालको नेपाली भाषाका रुपमा विकसित भएको हो । नेपाली भाषालाई समयअनुसार खसकुरा, सिंजाली भाषा, गिरिराज भाषा, स्वदेश भाषा, देशभाषा, लोकभाषा, राजभाषा, प्राकृत भाषा आदि नामले पनि समयअनुसार चिनिएको पाइन्छ (तिवारी, २०३०) । नेपालको सन्दर्भमा नेपाली भाषाले राष्ट्रभाषा, सम्पर्क भाषा र माध्यम भाषाको भूमिका निर्वाह गर्दै आएको छ । जनगणना २०५८ को तथ्याङ्कअनुसार नेपालका ७५ वटा जिल्लाहरु मध्ये ५६ वटा जिल्लामा पहिलो स्थानमा, १६ वटा जिल्लामा दोस्रो स्थानमा र तीनवटा जिल्लामा तृतीय स्थानमा गरी नेपालभरि नै नेपाली भाषा बोलिन्छ । नेपालको जनगणना २०६८ को तथ्याङ्कअनुसार नेपालमा कुल जनसंख्याको ४४.६३ प्रतिशत मानिसले नेपाली भाषालाई मातृभाषाका रुपमा र ३२.२८ प्रतिशत मानिसले नेपाली भाषालाई दोस्रो भाषाका रुपमा प्रयोग गरेको पाइन्छ । जनगणना २०७८ अनुसार नेपालमा ४४.८६ प्रतिशत मानिसले नेपाली भाषालाई मातृभाषाका रुपमा प्रयोग गर्दछन् । 

२. मैथिली (११.०५ %) : संस्कृतको मागधी प्राकृतबाट विकसित भएको भाषा मैथिली हो । मैथिली भाषा नेपालमा नेपाली भाषापछि दोस्रो स्थानमा बोलिन्छ । मैथिली भाषा नेपालको जनकपुर, कोशी, नारायणी र सगरमाथा अञ्चलमा बोलिन्छ । नेपालको जनगणना २०६८ लाई आधार मान्दा पूर्वी तरार्ईमा मैथिली, मध्य तरार्ईमा भोजपुरी र पश्चिम वा सुदूर पश्चिम तरार्ईतिर अवधी मातृभाषी वक्ताहरुको बाहुल्यता रहेको पाइन्छ । मैथिली भाषी वक्ताहरुको विशेष बाहुल्यता नेपालको पूर्वी तराई रौतहटको गौरदेखि सर्लाही, महोतरी, धनुषा, सिराह, सप्तरी, सुनसरी, मोरङ र झापासम्म रहेको पाइन्छ । मैथिली भाषामा विद्यालयदेखि विश्वविद्यालयसम्म अध्ययन-अध्यापन हुनुका साथै भाषा र साहित्यको समेत राम्रो अध्ययन भइसकेको छ । मैथिली भाषाका विषयमा रमानाथ झा (१९६४), गोविन्द झा (१९७४), योगेन्द्र यादव (१९८३), रामावतार यादव (१९७६), सुभद्र झा (१९४०), सुनिलकुमार झा (१९८४), देवनाथ यादव (१९९१), अनिल इरेन (१९८४) लगायतका व्यक्तिले अध्ययन गरेको पाइन्छ । जनगणना २०६८ मा कुल जनसङ्ख्याको ११.६७ प्रतिशत मानिसहरुले यो भाषालाई मातृभाषाका रुपमा प्रयोग गर्दै आएकामा जनगणना २०७८ मा ११.०५ प्रतिशतले मातृभाषाका रुपमा प्रयोग गरेको पाइन्छ ।

३. भोजपुरी (६.२४ %) : संस्कृतको मागधी प्राकृतबाट विकसित भएको एउटा भाषा भोजपुरी हो । यो भाषा भारतको प्राचीन नगर भोजपुरामा बोलिने भएको हुँदा नेपालमा यही भाषालाई भोजपुरी भनिन्छ । भारतको पश्चिम विहार र उत्तर प्रदेशको पूर्वी बनारसमा अहिले पनि यो भाषा बोलिन्छ । नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार भोजपुरी भाषाका मातृभाषी वक्ताहरु नेपालमा ५.९८ प्रतिशत रहेकामा पछिल्लो जनगणना २०७८ अनुसार ६.२४ प्रतिशत भएको पाइन्छ । यसका मातृभाषी वक्ताहरु विशेषगरी नारायणी, लुम्बिनी, जनकपुर, मेची र कोसीतर्फ रहेका छन् । विशेषगरी यो भाषा बोलिने जिल्लाहरुमा बारा, पर्सा, रौतहट, चितवन, रुपन्देही आदि हुन् ।

४. थारु (५.८८ %) : नेपालको मेचीदेखि महाकालीसम्मको तराई क्षेत्रमा बसोबास गर्ने थारु जातिले बोल्ने भाषाको नाम थारु हो । यो भाषा पनि संस्कृतको मागधी प्राकृतबाट विकसित भएको हो । यो भाषाका मातृभाषी वक्तहरु २०६८ मा कुल जनसङ्ख्याको ५.७७ प्रतिशत रहेकामा जनगणना २०७८ मा ५.८८ प्रतिशत भएको पाइन्छ । थारु भाषा नेपालको चितवन, नवलपरासी, दाङ-देउखुरी, बर्दिया, बाँके, कैलाली, कन्चनपुर, सुर्खेत, मोरङ, सुनसरी, सप्तरी, उदयपुर, सिराहा, महोत्तरी आदि जिल्लाहरुमा छरिएर रहेका थारुहरुले मातृभाषाका रुपमा बोल्दछन् ।

थारु भाषा पूर्वमा मैथिली, मध्यमा भोजपुरी र पश्चिममा अवधि भाषाबाट प्रभावित भएको तर्क पनि केही विद्वान्हरुले सुझाएका छन् । थारु भाषाका पनि कोचिला, चितवानिया, दङौरा र राना गरी चारवटा भाषिका भएको रहेको पाइन्छ । एस.के. श्रीवास्तव (१९५८) ले थारु भाषाको अध्ययन गरेका छन् । थारु भाषामा त्यति साहित्यिक सिर्जना नभए पनि कथ्य भाषा र लोकसंस्कृतिले यो भाषा आफैँमा सम्पन्न र मौलिक प्रकृतिको छ ।

५. तामाङ (४.८८ %) : नेपालमा भोटबर्मेली परिवारका भाषाहरुको अध्ययनमा ग्रियर्सन, लेहमन, सेफर, भोगलिन, रेन चाओ, बेनेडिक्ट, ग्लोभ, बालकृष्ण पोखरेल लगायतका विद्वान्हरुको महत्वपूर्ण योगदान रहेको छ । भेन ड्रिम र माइकल नुननले तामाङ, गुरुङ, मनाङ-नार्फू, थकाली र छन्त्याल भाषालाई तामाङ्गी वर्गमा राखेर अध्ययन गरेको पाइन्छ । तामाङ जातिको मातृभाषा तामाङ हो । अन्न मारिए हरी (१९६९), मार्टिन मजाउडोन (१९७६), योसियो निसी (१९७८), अमृत तामाङ (२०४९) लगायतका व्यक्तिले यो भाषाको अध्ययन गरेको देखिन्छ । तामाङ भाषाका वक्ताहरु वाग्मती अञ्चल र यसको आसपासका जिल्लाहरुमा बसोबास गर्दछन् ।

यो भाषालाई पहिले मुर्मी पनि भनिन्थ्यो । पहिले यो भाषा तिब्बती लिपिमा लेखिए पनि अहिले देवनागरी लिपिमै लेखिएको पाइन्छ । नेपालको जनगणना २०६८ अनुसार नेपालमा तामाङ मातृभाषी वक्ताहरुको जनसंख्या ५.११ प्रतिशत भएकामा जनगणना २०७८ मा घटेर ४.८८ प्रतिशत रहेको पाइन्छ । अहिले तामाङ भाषा नेपालको सिन्धुपाल्चोक, रामेछाप, दोलखा, गोर्खा, उत्तर पश्चिम नुवाकोट, दक्षिण पश्चिम मकवानपुर, चितवन, धादिङ, पूर्वी रसुवा आदि जिल्लाहरुमा बोलिन्छ ।

६. नेवार (२.९६ %) : नेवार जातिको मातृभाषा नेवार हो । नेवार भाषाको मुख्य थलो काठमाडौँ उपत्याका मानिन्छ । उपत्याकाबाहेक काठमाडौँबाहिरका जिल्ला सदरमुकामहरुमा यिनीहरुको बसोबास रहेको पाइन्छ । अहिले यो भाषा काठमाडौँ, भक्तपुर, ललितपुर लगायत नेपालका प्रमुख सहरी क्षेत्रमा बोलिन्छ । काठमाडौँ उपत्याकाबाहिर दोलखा, सिन्धुली, काभ्रे, बनेपा, तनहुँ, कास्की लगायत तराई र पहाडका अधिकांश सहरी क्षेत्रमा नेवारी भाषा बोलिन्छ । २०७६ जेठ ३२ को कान्तिपुर समाचार अनुसार अहिले देशभरि ९७ विद्यालयमा नेपाल भाषा वा नेवार भाषाका माध्यममा पठनपाठन भएको समाचार प्राप्त भएको छ ।

नेवार भाषाको अध्ययनमा तेजरत्न कंसाकार (१९७९), काशीनाथ तमोट (१९७७), चन्द्रादेवी शाक्य (१९८०), आस्टिन हेले (१९७०), सि.डी. शाक्य (१९८०), ज्योति तुलाधर (१९८५), कारोल जेनेट्री (१९८६), डेभिड हग्र्रेभ्स (१९८३), केनेथ कुक (१९८४), ताल्मी भिगन (१९८५), कारोल जेनेट्टी (१९८६) लगायत धेरै विद्वान्ले अध्ययन गरेको पाइन्छ । नेपालमा नेपालीबाहेक अरु भाषाका तुलनामा साहित्य सिर्जना, पठनपाठन, पाठ्यसामग्री प्रकाशन, सञ्चारसामग्रीको निर्माण आदि दृष्टिले यो भाषा सम्पन्न देखिन्छ । जनगणना २०६८ अनुसार नेपालमा नेवार मातृभाषी वक्ताको संख्या कुल जनसंख्याको ३.२० प्रतिशत रहेकामा जनगणना २०७८ अनुसार  घटेर २.९६ प्रतिशत रहेको पाइन्छ । पहिला नेवारी, क्योमोल, गोलमोल, भुँजीमोल तथा रञ्जना लिपिको प्रयोग हुने यस भाषामा हाल देवनागरी लिपिको समेत प्रयोग हुन थालेको पाइन्छ ।

७. बज्जिका (३.८९ %) : भारोपेली भाषा परिवारको मागधी प्राकृतबाट विकसित भएको आधुनिक आर्यभाषा बज्जिका हो । भारतको ठूलो क्षेत्रमा फैलिएको यो भाषा नेपालको रौतहट, महोत्तरी र सर्लाही जिल्लामा यो भाषा बोलिन्छ । भारतको विहारमा ‘वैशाली भाषा’ का नामले चिनिने भाषा नेपालमा बज्जिका भाषाका नामले चिनिन्छ । यो भाषाका मातृभाषी वक्ताहरु तराईका धेरै ठाउँमा रहे पनि यिनीहरुको घना वस्ती रौतहटमा रहेको छ । नेपालमा वि.सं. २०५८ को जनगणनामा यिनीहरुको मातृभाषी वक्ता कुल जनसंख्याको १.०५ रहेकामा २०६८ को  जनगणनामा बज्जिका मातृभाषीको जनसंख्या २.९९ प्रतिशत र जनगणना २०७८ मा बढेर ३.८९ प्रतिशत पुगेको देखिन्छ ।

८. मगर (२.७८ %) : नेपालको विशाल भूभागमा छरिएर रहेका मगर जातिहरुको मातृभाषा मगर हो । मगरहरु आफूलाई खाम\पाङ, ढुट, काइके आदि नामले पनि चिनाउँछन् । मगर भाषा नेपालको पश्चिमाञ्चल क्षेत्रका गण्डकी, धवलागिरि, लुम्बिनी र भेरीमा समेत बोलिन्छ । मगर भाषाको मूल थलो पाल्पा, तनहुँ, स्याङ्ज र गोरखा मानिन्छन् । मगर मातृभाषाका वक्ताहरु भने पाल्पा, तनहुँ, स्याङ्जा, गोर्खा हुँदै पश्चिमतर्फ बागलुङ, म्याग्दी, रुकुम, रोल्पा, प्युठान लगायतका पहाडी जिल्लाहरुमा पाइन्छन् । मगर भाषाका पनि पाङ्\खाम, ढुट र काइके गरी तीनवटा भेदहरु रहेका छन् । खाम भनी नामकरण गरिएका मगरहरुले आफूलाई पाङ भन्नुपर्ने तर्क राखेका छन् । जनगणनामा पाङ मगरहरुको भने कुनै चर्चा गरिएको छैन । खाम र काइकेलाई पनि मगर भाषाका रुपमा नभएर छुट्टै भाषाका रुपमा गणना गरिएको छ । मगर भाषाको स्पष्ट अध्ययन भएको छैन । मगर भाषाका विषयमा सुभद्रा सुब्बा (१९७२), केशरजङ बराल मगर (२०३७), जोन विम्स (१९७०), डेविड इ. वाल्टर, ग्रीयर्सन, भोगलिनजस्ता स्वदेशी तथा विदेशी विद्वान्हरुले पनि अध्ययन गरेका छन् ।

जनगणनाहरुमा सामान्यतया ढुट मगरलाई मगर भाषाका रुपमा लिइएको बुझिन्छ । नेपालको जनगणना २०६८ अनुसार नेपालमा मगर मातृभाषीको कुल जनसंख्या २.९८ प्रतिशत रहेकामा जनगणना २०७८ ले ढुट मगर मातृभाषीको जनसंख्या कुल जनसंख्याको २.७८ प्रतिशत भएको जनाइएको छ । मगरहरुको जनसंख्याका तुलनामा मगर मातृभाषी वक्ताको संख्या निक्कै न्यून रहेको देखिन्छ ।

९. अवधी (२.९६ %) : प्राचीन अवध क्षेत्रमा बोलिने भाषा अवधी हो । यो भाषा संस्कृतको अर्धमागधी प्राकृतबाट अपभ्रंश हुँदै विकसित भएको हो भनिन्छ । यो भाषा भारतको उत्तर प्रदेशमा समेत बोलिन्छ । नेपालमा यो भाषा विशेषगरी रुपन्देही, नवलपरासी, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगायतका स्थानहरुमा बोलिन्छ । जनगणना २०६८ अनुसार नेपालमा अवधी मातृभाषी वक्ताहरु १.८९ प्रतिशत रहेकामा जनगणना २०७८ मा बढेर २.९६ प्रतिशत पुगेको तथ्याङ्क पाइन्छ । यो भाषामा पनि प्राचीन केही ग्रन्थहरु पाइए पनि हालमा साहित्यिक गतिविधि त्यति पाइँदैनन् ।

१०. डोट्याली (१.७ %) : नेपालको सुदुरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चल क्षेत्रमा बोलिने भाषा डोटेली हो । नेपाली भाषाका परपश्चिमा र मझपश्चिमा भाषिकाअन्तर्गत पर्ने उपभाषिकाहरुलाई जनगणना २०६८ ले स्वतन्त्र नयाँ भाषाका रुपमा मान्यता दियो । यो भाषालाई नेपालको संविधान २०७२ को धारा ५ भाग १ अनुसार पनि मान्यता दिइएको छ । यही नयाँ मान्यता अनुसार २०६८ को जनगणनामा डोटेली मातृभाषाका वक्ता कुल जनसंख्याको २.९७ प्रतिशत रहेकामा जनगणना २०७८ मा घटेर १.७ प्रतिशत मानिसहरु मातृभाषाका रुपमा यो भाषा प्रयोग गर्दछन् । सुदुर पश्चिमाञ्चलका सबै जिल्लाहरु र मध्यपश्चिमाञ्चलका केही जिल्लाहरुमा यो भाषा बोलिने तथ्याङ्क पाइन्छ ।

११. उर्दू (१.०९ %) : पाकिस्तानको राष्ट्रभाषा उर्दू हो । यही उर्दू भाषालाई नेपालमा कतै पहाडी र कतै चुरेटी भाषा भनेको पनि पाइन्छ । यो भाषा अरबी लिपिमा लेखिन्छ । जनगणना २०६८ अनुसार यो भाषा नेपालमा मुस्लिम समुदायका २.६१ प्रतिशत मानिसहरुले मातृभाषाका रुपमा प्रयोग गर्दै आएकामा २०७८ मा घटेर १.०९ प्रतिशत पुगेको देखिन्छ । यो भाषामा अरवी र फारसी शब्दभण्डारको प्रयोग र हिन्दी भाषाको शैलीगत प्रभाव रहेको पाइन्छ । उर्दूलाई कसैले हिन्दी भाषाकै एउटा शैली हो भनेको पनि पाइन्छ । साहित्यिक रचनाका दृष्टिले यो भाषा आफैँमा समृद्ध मानिन्छ ।

१२. लिम्बू (१.३० %) : किराँती जातिमध्येकै प्रसिद्धलिम्बू जातिको मातृभाषा पनि लिम्बू हो । लिम्बूहरु आफूलाई याकथुम्बा\याकथुङ र आफ्नो भाषालाई याकथुङ पनि भन्ने गरेको पाइन्छ । लिम्बू भाषा बोलिने पूर्वी पहाडी जिल्लाहरुमा धनकुटा, तेह्रथुम, सङ्खुवासभा, ताप्लेजुङ, पा“चथर, इलाम आदि हुन् भने तराईका जिल्लाहरुमा सुनसरी, मोरङ र झापा हुन् । यो भाषा नेपालबाहिर भारतको सिक्किम, दार्जिलिङ, देहरादुन, म्यानमार तथा भुटानतिर पनि बोलिन्छ भन्ने सुनिएको छ । यो भाषा श्रीजङ्गा र देवनागरी लिपिमा लेखिए पनि यसका विविध भेदहरुका कारण बोधगम्यतामा समस्या देखिन्छ । सी. बी. हान्नेमन (१९७१) ले लिम्बू भाषाको अध्ययन गरेका छन् । लिम्बू भाषा र संस्कृतिका सम्बन्धमा इमानसिंङ चेम्जोङले पनि गहन अध्ययन गरेका छन् । जनगणना २०६८ अनुसार नेपालमा कुल जनसंख्याको १.३० प्रतिशत मानिसहरु यो भाषालाई मातृभाषाका रुपमा प्रयोग गर्दछन् । नेपालबाहिर सिक्किममा समेत यो भाषाको प्रयोग हुन्छ ।

१३. गुरुङ (१.२३ %) : गुरुङहरुको मातृभाषा गुरुङ हो । गुरुङहरुको मूलथलो गण्डकी क्षेत्रलाई मानिन्छ । गुरुङ भाषालाई तमुभाषा पनि भनिन्छ । गुरुङ भाषा चिनियाँ तिब्बती भाषा परिवार अन्तर्गत पर्दछ । अध्यता जगमान गुरुङको भनाइ अनुसार पनि गुरुङ भाषाको थकाली र तामाङसँग निकट सम्बन्ध रहेको जानकारी पाइन्छ । नेपालमा बोलिने भोट–बर्मेली परिवारका भाषाहरुको पारिवारिक अध्ययन गर्नमा जेसी आर. ग्लोभर (१९६९), वारेन डब्लु. ग्लोभर (१९७१), देउबहादुर गुरुङ (१९९७), देबेन्द्र गुरुङ (१९७१), हेले (१९८२), मोतिसोफ (१९८६), जर्र्ज भेन्ड्रिम (२००१), स्टेफेन वाटर्स (२००२), यादव र मार्ग तुरिन (२००५), बालकृष्ण पोखरेले (२०४६) लगायतका विद्वान्हरुको महत्वपूर्ण योगदान रहेको छ ।

गुरुङ भाषीको प्राचीन थलो मनाङ, मुस्ताङ, लमजुङ आदि क्षेत्र मानिए पनि हाल यो भाषा लमजुङ, तनहूँ, गोरखा, मनाङ, कास्की, चितवन, पर्वत, बागलुङ, मुस्ताङ, रुपन्देही, नवलपरासी, काठमाडौँ, ललितपुर आदि जिल्लाहरुमा बोलिन्छ । जनगणना २०६८ अनुसार नेपालमा गुरुङ भाषाका वक्ताहरु कुल जनसंख्याको १.२३ प्रतिशत रहेको पाइन्छ ।

१४. बैतडेली (१.०३ %) : बैतडीतिर बोलिने नेपाली भाषाको भाषिकालाई जनगणना २०६८ ले बैतडेली भाषाको मान्यता दिएको छ । नेपालमा यसका कुल वक्ता २७२५२४ वा १.०३ प्रतिशत रहेको पाइन्छ ।

१५. कुमाल : नेपालका ५९ वटा जनजातिहरु मध्येको एक अल्पसंख्यक आदिवासी जनजाति कुमाल हो । संस्कृतमा ‘कुम्भ’ को अर्थ माटाको घडा र ‘कुम्भकार’ को अर्थ त्यसको निर्माणकर्ता भन्ने हुनाले माटाका भाँडा बनाउने जातिका रुपमा कुमाललाई चिनिएको हो (हीरामणि शर्मा पौड्याल, २०४३) । यिनीहरुको मुख्य पेसा माटाका भाँडा बनाउने, माछा मार्ने र कृषि हो । भाँडा बनाउने र माछा मार्ने मुख्य पेसा नै संकटमा परेपछि यिनीहरु विभिन्न पेसा र विभिन्न ठाउँहरुमा भौतारिनुपर्ने अवस्था सिर्जना भयो । यिनीहरुको मुल जात कुमाल भए पनि ठाउँअनुसार फरकफरक थरका नामले यिनीहरु चिनिएका छन् । धेरैजसो कुमालहरु ठाउँका नामबाट थर कायम गरेको पनि पाइन्छ । कुमाल भाषा दरै, माझी, दनुवार, भोजपुरी लगायतका भाषाहरुबाट प्रभावित भएको पनि पाइन्छ ।

                कुमालहरु तराई, भित्री मधेस र पहाडका धेरै जिल्लामा छरिएर रहेका छन् । यिनीहरुको मुख्य बसोबास क्षेत्रहरुमा झापा, विराटनगर, नवलपरासी, चितवन, रुपन्देही, कपिलवस्तु, दाङ, पाल्पा, अर्घाखाची, गुल्मी, प्युठान, स्याङजा, धादिङ, तनहूँ, कास्की, लमजुङ, बागलुङ, पर्वत आदि हुन् । यिनीहरु आफ्नो पेसाव्यवसायका निम्ति विभिन्न स्थानमा बसाइ सराइ गर्ने गरेको पाइन्छ । वि.सं. २०६८ को जनगणनाअनुसार कुमालहरुको जनसंख्या नेपालमा १,२१,१९६ रहेको छ भने आफ्नो मातृभाषा बोल्नेहरुको संख्या १२,२२२ वा ०.०५ प्रतिशत रहेको छ ।

१६. दरै : दरै जातिले बोल्ने भाषा पनि दरै हो । यो जातिको परम्परित पेसा माछा मार्ने भए पनि अहिले उनीहरुको पेसासँगै भाषा पनि लोपोन्मुख अवस्थामा पुगेको छ । यो भाषाका विषयमा लक्ष्मण दरै (२०४३), मदनप्रसाद दुवाडी (१९८३) ले कलम चलाएका छन् । संस्कृतको अर्धमागधीबाट प्राकृत हुँदै विकसित भएको यो भाषा नेपालको तनहूँ, पाल्पा र चितवनमा बोलिन्छ भन्ने तर्क रहेको छ । राष्ट्रिय जनगणना २०६८ को जनगणनाअनुसार नेपालमा ११६७७ वा ०.०४ प्रतिशतले दरै मातृभाषा बोल्दछन् । यिनीहरु मध्ये ४६९१ दरै मातृभाषी गण्डकी प्रदेशमा रहेको तथ्याङ्क उपलब्ध छ । राष्ट्रिय जनगणनामा यो तथ्याङ्क उपलब्ध भए पनि व्यवहारिक जीवनमा यो भाषाका वक्ताहरु लोपोन्मुख अवस्थामा रहेको जानकारी पाइन्छ ।

१७. थकाली : नेपालमा ५९ आदिवासी जनजाति मध्येको एक जाति थकाली हो । थाक खोला क्षेत्रलाई पितृस्थल मान्ने जाति थकाली हो । यही थकाली जातिले बोल्ने भाषालाई थकाली भनिन्छ । थकाली भाषाका विषयमा अन्न मारिया हरि (१९६९) ले गहन अध्ययन गरेका छन् । थकालीका गौचन, तुलाचन, शेरचन र भट्टचन गरी चार थर भए पनि उनीहरु सबैले बोल्ने भाषा थकाली हो । नेपालको जनगणना २०६८ मा थकाली मातृभाषा बोल्नेहरुको कुल जनसंख्या ५२४२ वा ०.०२ प्रतिशत रहेको पाइन्छ । यिनीहरु मध्ये ३०९६ वक्ताहरु गण्डकी प्रदेशमा रहेका छन् । गण्डकी प्रखेशमा थकालीहरुको मुख्य बसोबास क्षेत्र मुस्ताङ भएको र अन्य सहरी क्षेत्रमा पनि पछि बसाइ सराइ गरी बसोबास गर्ने थालेको पाइन्छ ।

१८. ल्होपा :  नेपालमा बोलिने भोटबर्मेली परिवारको एउटा भाषा ल्होपा हो । यिनीहरुको मुख्य बसोबास क्षेत्र मुस्ताङ जिल्लाको लोमान्थाङ हो । नेपालमा ल्होपा  मातृभाषीहरुको संख्या ३०२९ रहेको छ । यिनीहरु मध्ये २९८० ल्होपा मातृभाषी वक्ताहरु गण्डकी प्रदेशमा रहेका छन् । मुस्ताङ जिल्लाको लो–घेकर दामोदर कुण्ड गाउँपालिकामा १०४२ र लोमान्थाङ गाउँपालिकामा १८७७ मातृभाषी वक्ता रहेको तथ्याङक राष्ट्रिय जनगणना २०६८ मा उल्लेख छ । तनहुँ लगायतका जिल्लाहरुमा पनि यिनीहरु छरिएर रहेको पाइन्छ ।

१९. छन्त्याल : नेपालमा बोलिने विविध भाषाहरु मध्ये भोट-बर्मेली परिवारको अल्पसंख्यक जाति विशेषले बोल्ने भाषा छन्त्याल पनि एक हो । राष्ट्रिय जनगणना २०५८ अनुसार नेपालमा छन्त्यालहरुको कूल जनसंख्या ९८१४ मध्ये छन्त्याल मातृभाषी वक्ताहरुको संख्या ५९१२ रहेको पाइन्छ । २०६८ को जनगणना अनुसार कूल जनसंख्या ११८१० मध्ये ४२८३ ले आफ्नो मातृभाषा प्रयोग गरेको पाइन्छ ।

छन्त्यालहरु नेपालका विभिन्न जिल्लामा छरिएर रहे पनि यिनीहरुको मुख्य बसोबास क्षेत्र धवलागिरी अञ्चलको म्याग्दी जिल्ला नै हो । यस जिल्लाका विकट क्षेत्र मानिने गुर्जाखानी, कुइनेखानी, मङ्गलेखानी, ठाडाखानी, चौरखानी, घ्यासीखर्क, सिरखर्क, पात्लेखर्च र मल्कबाङमा छन्त्यालको वास्तविक भाषा, संस्कृति र भेषभूषा पाइन्छ ।

२०. भुजेल : नेपालका आदिवासी जनजाति मध्येको एउटा जाति भुजेल पनि हो । यो जातिका मानिसहरुले बोल्ने भाषालाई भुजेल भनिन्छ । यिनीहरुको मूलथलो वा आदिभूमि ‘निसीभुजी वा भुजीनिसी’लाई मानिएको छ । यो क्षेत्रमा कुनै समय यिनीहरुको राज्य थियो भन्ने तर्क पनि सुनिन्छ । हालमा भुजेल मातृभाषी वक्ताहरु तनहूँ, चितवन र गोरखाका केही भूभागहरुमा पाइन्छन् । अहिले भुजेलहरु नेपालका ११ जिल्लामा सङ्गठित भएर आफ्नो भाषासंस्कृतिको संरक्षणमा लागेको आवाज पनि सुनिन्छ । भुजेल भाषा लोपोन्मुख  मानिए पनि उनीहरु आफू लाई लोपोन्मुख जाति मान्दैनन् । जनगणना २०६८ मा भुजेल मातृभाषीको जनसंख्या २१७१५ रहेको छ । गण्डकी प्रदेशमा भुजेल मातृभाषीको संख्या २७९० रहेको पाइन्छ । गण्डकी प्रदेशको तनहूँ, स्याङ्ज, गोर्खा र नवलपरासी जिल्लामा यिनीहरुको मुख्य बसोबास क्षेत्र रहेको देखिन्छ ।

२१. राईकिराँती  : नेपालको पूर्वी भूभागमा बोलिने राई-किराँतीहरुले बोल्ने भाषालाई राई-किराँती भनिन्छ । यी भाषाका बारेमा हान्सन, वर्नर जस्ता विदेशी विद्वान्हरुले अध्ययन गरेका छन् । यिनीहरुको अध्ययनले देखाएको ‘पूर्वी नेपालका राईहरु’ नामक कृतिमा राई-किराँती भाषालाई पूर्वी, केन्द्रीय र पश्चिमी गरी तीन भागमा विभाजन गरिएको छ । बान्तवा, चाम्लिङ, कुलुङ, थुलुङ, आठपहरिया, साम्पाङ, खालिङ, दुमी, उम्बुले, पुमा, नाछिरिङ, बाहिङ, कोयू, याम्फू, छिलिङ, लोहरुङ, मेवाहाङ, तिलङ, जेरुङ, दुङ्माली, छिन्ताङ, सोताङ, मुगाली, फाङ्दुवाली लगायतका भाषाहरु यही राई किराँतीसमूहअन्तर्गत पर्दछन् । यी भाषाहरुको जनसंख्यालाई नेपालको जनगणनामा छुट्टाछुट्टै समावेश गरिएको छ । यी सबै भाषाहरु पूर्वी नेपालको इलाम, तेह्रथुम, भोजपुर, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, धनकुटा, उदयपुर, रामेछाप, सङ्खुवासभा, सुनसरी, मोरङ, झापा लगायतका जिल्लाहरुमा बोलिन्छ । नेपालको जनसंख्याको झण्डै ३.० प्रतिशतको हाराहारीमा यो समूहका भाषाहरु बोलिन्छन् ।

२२. बोटे : बोटे जातिले बोल्ने भाषालाई बोट भनिन्छ । बाटे भाषाको दरै, माझी, कुमाल, मैथिली, भोजपुरी र दनुवारी भाषासँग घनिष्ट सम्बन्ध रहेको तर्क स्व. हीरामणि शर्मा (२०४२) को छ । बोट र माझीको पेसा, भाषा र बसोबास गर्ने भूगोलमा पनि नजिकको सम्बन्ध देखिन्छ । माझी संस्कृतको मागधी प्राकृतबाट अपभ्रंश हुँदै विकसित भएको र बोटे अर्धमागधी प्राकृतबाट अपभ्रम्श हुँदै विकसित भएका भाषा हुन् भन्ने तर्क पनि कतिपय विद्वान्हरुको छ । नेपालको जनगणनाले पनि यी दुई भाषालाई छुट्टाछुट्टै स्वतन्त्र भाषाको मान्यता दिएको छ । पछिल्लो तथ्याङ्कअनुसार नेपालमा बोटे मातृभाषी वक्ताको संख्या ८७६६ रहेको छ । यिनीहरु मध्ये २२८६ जना बोटहरु आफ्नो मातृभाषा बोल्दछन् । गण्डकी प्रदेशमा यिनीहरुको मुख्य बसोबास क्षेत्र नवलपरासी र तनहुँ हो ।

२३. हिन्दी : हिन्दी भारतको मुख्य तथा राष्ट्रभाषा हो । यो भाषा पनि संस्कृतको मागधी, अर्धमागधी, शौरसेनी आदि प्राकृत र अपभ्रम्श हुँदै विकसित भएको भाषा हो । हिन्दी भाषाका पनि पूर्वी, पश्चिमी, राजस्थानी, पहाडी र विहारी गरी पाँचवटा भाषिक भेदहरु भएको पाइन्छ । यो भाषाका वक्ता नेपालको तराई क्षेत्रमा प्रशस्त मात्रमा भए पनि पछिल्लो जनगणनाअनुसार नेपालका विभिन्न भूभागहरुमा छरिएर ०.२९ प्रतिशत अथवा ७७,५६९ रहेको पाइन्छ ।

२४. खाम : नेपालमा खाम भाषाको स्पष्ट अध्ययन भएको देखिदैन । खाम भाषाका बारेमा केही विवादहरु पनि रहेका छन् । ‘खाम कुरा’भन्नाले नबुझिने वा शब्दलाई उल्टोपाल्टो गरी बोलिएको भाषा भन्ने अर्थ पनि लाग्छ । विदेशी विद्वान्हरुले यो भाषालाई केहीले मगर खाम पनि भनेको पाइन्छ । खाम मगर भनिएका भाषाहरु रुकुम, रोल्पा, बागलुङको निसीभुजीतिर बोलिन्छ । खाम भाषालाई केहीले पूर्वी तिब्बतीअन्तर्गत उल्लेख गरेका पनि छन् । डेविड इ. वाल्टरले ‘खाम मगर’ भनेर गरेको अध्ययनलाई ‘मगर पाङ’भन्नुपर्ने तर्क पनि उठेको छ । नेपालको राष्ट्रिय जनगणना २०६८ मा यसका कुल वक्ता २७११३ रहेको उल्लेख गरिएको छ ।

 २५. घले : घले भाषाका वक्ताहरु पश्चिमी नेपालका विभिन्न ठाउँहरुमा छरिएर रहेका छन् । घले र गुरुङ एउटै जात हो अथवा दुई छुट्टाछुट्टै जातिहरु हुन् भन्ने विषयमा मतैक्य पाइदैन । त्यसैगरी घले र गुरुङ भाषामा पनि केकति समानता र भिन्नता छ भन्ने विषयमा गहन अध्ययन भइसकेको छैन । केही समय अगाडि उत्तरी गोर्खामा निर्मित एक चलचित्रमा प्रयोग भएको भाषाको विषयमा गुरुङ र घलेबीच विवाद भएको समाचार सुन्नमा आएको थियो । घले भाषाको विषयमा चित्रबहादुर घले (१९७४) ले अध्ययन गरेका छन् । जनगणनाले यी दुबै भाषालाई स्वतन्त्र मान्यता दिएको छ । वि.सं. २०६८ को जनगणना अनुसार नेपालमा घले मातृभाषीहरुको संख्या ८०९२  रहेको छ ।

२६. दुरा : लमजुङ जिल्लाको दुराडाँडामा बसोबास गर्ने दुराहरुले बोल्ने भाषालाई दुरा भनिन्छ । यो भाषा पुरानो पुस्तासँगै झन्डै लोपोन्मुख अवस्थामा छ । भाषाविद् माधवप्रसाद पोखरेल (सन् १९११) को ‘भाषाविज्ञानका आँखामा नेपाली भाषाहरु’ शीर्षको अनलाइन साहित्यमा प्रकाशित लेखअनुसार दुरा भाषा बोल्न जान्ने लमजुङ दुराडाँडाकी बयासी वर्षिया एक्ली सोममाया दुरा मात्र हुन् । दुरा भाषाको सम्बन्ध गुरुङ, तामाङ र मगर भाषासँग छ भन्ने तर्क पनि सुन्न पाइन्छ । नेपालमा दुरा मातृभाषीहरुको संख्या २१५६ रहेको पाइन्छ । गण्डकी प्रदेशमा दुरा मातृभाषाीको संख्या २०४४ रहेको छ । यो प्रदेशमा यिनीहरुको मुख्य बसोबास क्षेत्र यस प्रदेशमा यिनीहरुको मुख्य बसोबास क्षेत्र लम्जुङ र कास्की हुन् ।

२७. चेपाङ : चेपाङ जातिको मातृभाषा चेपाङ हो । नेपालमा यो भाषा धादिङ जिल्लाको दक्षिणी भागमा पर्ने महाभारत पर्वत श्रृङ्खलाको आसपासमा बसोबास गर्ने चेपाङहरुले मातृभाषाका रुपमा प्रयोग गर्दछन् । विदेशी विद्वान्को सहयोगमा यो भाषामा कोशसम्म तयार गरिए पनि यो भाषा लोपोन्मुख अवस्थामा रहेको छ । यो भाषाको अध्ययन चूडामणि बन्धु, बल्लभमणि दाहाल, रोस सि. कज्ली (१९७०) महत्त्वपूर्ण भूमिका रहेको छ । चेपाङलाई प्रजा जातिका नामले पनि चिनिन्छ । चेपाङ मातृभाषीको संख्या नेपालमा कुल जनसंख्याको ०.१८ प्रतिशत अर्थात् ४८४७६ रहेको छ । गण्डकी प्रदेशमा चेपाङ मातृभाषीको संख्या १९०२ रहेको छ । यो प्रदेशमा यिनीहरुको मुख्य बसोबास क्षेत्र गोर्खा र तनहुँ हुन् ।

२८. शेर्पा (०.४३ %) : नेपालको हिमाली भूभागमा बसोबास गर्ने शेर्पा जातिको मातृभाषा शेर्पा हो । शेर्पा भाषा तिब्बतीसँग अति निकट सम्बन्ध रहेको पाइन्छ । तिब्बती भाषाको प्रभावका कारण यो भाषा तिब्बती र सम्भोट लिपिमा लेखिन्छ । यस भाषाका वक्ताहरुको मूल थलो सोलुखुम्बु जिल्ला हो तापनि अन्य दोलखा, रामेछाप, सिन्धुपाल्चोक, हुम्ला, मुस्ताङ, मनाङ, ताप्लेजुङलगायतका हिमाली जिल्लाहरुमा शेर्पा भाषाका मातृभाषी वक्ताहरु पाइन्छन् । यो भाषा विकट हिमाली क्षेत्रमा बोलिने हुनाले यसका भाषिक भेदहरु पनि रहेको पाइन्छ । शेर्पा भाषाका विषयमा केन्ट एच. गोर्डन र सन्द्रा गोर्डन (१९७०), आस्टिन हेले (१९६९) ले गहन अध्ययने गरेको पाइन्छ । नेपालमा बोलिने भोटबर्मेली भाषाको अध्ययन गर्ने क्रममा जर्ज ए. ग्रियर्सन (१९०९) र हेले (१९७३) गुरुङ, मगर, खाम लगायत धेरै भाषाको समग्र अध्ययन गरेका छन् (तोवा, १९९८) । २०६८ को जनगणनाअनुसार यस भाषाका वक्ता नेपालमा ११४८३० अथवा कुल जनसंख्याको ०.४३ प्रतिशत रहेको पाइन्छ ।

२९. ह्योल्मो : नेपालका ५९ आदिवासीहरुमध्ये ह्योल्मो वा योल्मो जाति पनि एक हो । यिनीहरुले बोल्ने भाषालाई ह्योल्मो भनिन्छ । यिनीहरुको मुख्य बसोबास क्षेत्र सिन्धुपाल्चोक, रसुवा, नुवाकोट र धादिङ जिल्लाका उच्च पहाडी क्षेत्र हुन् । यिनीहरुको भाषा भोटबर्मेली परिवार ह्योल्मो, धर्म महायानी सम्प्रदायको बौद्धमार्गी र ठूलो चाड सोनाम लोसार हो । नेपालमा यिनीहरुको कुल जनसंख्या १०७५२ रहेको छ भने मातृभाषी वक्ता १०१७६ रहेका छन् ।

३०. साङ्केतिक : सुनाइ र बोलाइसम्बन्धी अपाङ्गता भएका व्यक्तिहरुले प्रयोग गर्ने भाषालाई साङ्केतिक भाषा भनिन्छ । साङ्केतिक भाषा आवाजविहीनहरुको दृश्य भाषा हो । साङ्केतिक भाषा सार्वभौम र विश्वव्यापी नभएर भाषा र भूगोल अनुसार पनि फरकफरक हुनसक्छ । नेपालमा बहिरा विद्यालयको स्थापना २०२३ सालमा भए पनि नेपाली साङ्केतिक भाषाको प्राविधिक अभियान २०४५ सालबाट सुरु भएको मानिन्छ । नेपालको राष्ट्रिय जनगणनाको पछिल्लो तथ्याङ्कले नेपालमा ४४७६ व्यक्ति साङ्केतिक भाषा प्रयोगकर्ता रहेको र गण्डकी प्रदेशमा मात्र ९२४ जना साङ्केतिक भाषा प्रयोगकर्ता रहेको तथ्याङ्क पाइन्छ । यिनीहरु कुनै जात, भाषा र भूगोलका आधारमा नभएर अपाङ्गताका आधारमा यो भाषा प्रयोगमा ल्याएका हुन्छन् । नेपालको सन्दभएमा नेपाली साङ्केतिक भाषीलाई नै गणनाको आधार बनाइएको छ ।

३१. बङ्गला : भारोपेली भाषा परिवारमा पर्ने एउटा भाषा बङ्गला पनि हो । बङ्गला देश तथा भारतको पश्चिम बङ्गालमा बङ्गला भाषा बोलिन्छ । विश्वमा यसका २३ करोड मातृभाषी वक्ता रहेको अनुमान गरिएको छ । नेपालमा २०६८ को जनगणना अनुसार यस भाषाका २१०६१ वक्ताहरु रहेको र गण्डकी प्रदेशमा मात्र ५५३ मातृभाषी वक्ता बङ्गला मातृभाषी भएको तथ्याङ्क पाइन्छ ।

३२. माझी : नेपालका ठूलाठूला नदीहरुका किनारमा बसेर माछा मार्ने र डुङ्गा चलाउने पेसा अंगाल्दै आएका माझी जातिको मातृभाषा पनि माझी हो । माझीहरुको मुख्य बसोबास क्षेत्र गण्डकी र कोशी नदी तथा यिनीहरुका सहायक नदीका छेउछाउमा रहेको देखिन्छ । माझी भाषाको सम्बन्ध बोटे र दनुवारसँग पनि रहेको देखिन्छ । पेसासँगै उनीहरुको यो भाषा लोपोन्मुख आस्थामा रहेको छ । पछिल्लो जनगणनाअनुसार नेपालमा ०.०९ प्रतिशत अर्थात् २४४२२ माझी मातृभाषी वक्ता रहेका तथ्याङ्कले देखाएको छ ।

३३. सन्थाल : सन्थाल भाषा आग्नेली परिवारको भाषा हो । आग्नेली परिवारका भाषाहरुको मूल थलो दक्षिण एसिया भएको मानिन्छ । यस परिवारका भाषिक वक्ताहरु चीन, इरान, इराक, भारत, नेपाल लगायतका देशहरुमा रहेको बताइन्छ । नेपालमा बोलिने आग्नेली परिवारका भाषा कसैको भनाइ चीनबाट आसामको बाटो हुँदै भारत र नेपाल प्रवेश गरेका हुन्भन्ने छ भने कसैको भनाइ इरान र इराक हुँदै भारत प्रवेश गरेका थिए भन्ने छ ।

भारतवर्षमा नेग्रिटोपछि अगनेली, अग्नेलीपछि मंगोल, मंगोलपछि द्रविड र द्रविडपछि आर्यहरु प्रवेश गरेका हुन् भन्ने तर्क केही विद्वान्हरुको रहेको छ । भारतका कोल, मुन्डा, खासी, माख्मेर आदि भाषाहरु यही आग्नेली परिवारबाट विकसित भएको पाइन्छ । नेपालमा आग्नेली परिवारका सतार वा सन्थाल, खरिया र मुन्डरी वा मुन्डा भाषाका वक्ताहरु रहेको पाइन्छ । नेपालको पूर्वी तराईका झापा जिल्लामा बस्ने सतारहरुको भाषालाई सतार वा सन्थाल भाषा भनिन्छ । सतार भाषा भारतको पश्चिम बङ्गालमा बसोबास गर्ने सन्थालहरुले बोल्ने गर्दछन् । भारतको आसाम र विहारमा पनि यो भाषा बोलिन्छ । नेपालमा २०६८ को जनगणनाअनुसार यो भाषा बोल्ने मातृभाषीहरुको संख्या कुल जनसंख्याको ०.१९ प्रतिशत वा ४९,८५८ रहेको पाइन्छ ।

३४. सुनुवार : चिनिया-तिब्बती परिवारअन्तर्गत पर्ने भाषा सुनुवार पनि हो । यो भाषालाई राई-किराँती समूहको पश्चिमी किराँती उपसमूहमा राखेर अध्ययन गरेको पनि पाइन्छ । यस भाषाका रुपध्वन्यात्मक तत्व वायु, जेरुङ, शेर्पा, बाहिङ, थुलुङ लगायतका भाषिक विशेषतासँग मिल्दोजुल्दो भएको तर्क पनि विद्वान्हरुले दिएका छन् । यो भाषाको गहन अध्ययन रोस सी. कज्ले (१९६९) ले गरेका छन् (तोवा, १९९८) । यो भाषाको मूलथलो ओखलढुङ्गाको उत्तरपश्चिमी क्षेत्र र रामेछापको मध्यभाग मानिन्छ । पछिल्लो जनगणनाअनुसार नेपालमा सुनुवार मातृभाषी वक्ताको संख्या ३७८९८ अथवा कुल मातृभाषी वक्ताको ०.१४ प्रतिशत रहेको पाइन्छ ।

३५. संस्कृत : भारोपेली भाषा परिवारबाट सतम् वर्ग हुँदै आर्य-इरानेली शाखाबाट छुट्टिएर इ.पू. १५०० तिर भारतवर्षमा आर्य भाषाको तीन चरणमा विकास भयो । पहिलो चरण इ.पू. १५०० देखि इ.पू. ५०० सम्मको अवधिमा यो भाषा प्राचीन संस्कृत वा प्राचीन आर्यभाषाका नामले चिनियो । यो अवधिलाई वैदिक संस्कृत (इ.पू. १५०० देखि इ.पू. ८०० सम्म) र लौकिक संस्कृत (इ.पू. ८०० देखि इ.पू. ५०० सम्म) का नामले चिनिन्छ ।  वैदिक संस्कृतमा ऋग्वेद, सामवेद, यजुर्वेद, अथर्ववेद लगायत ब्राह्मण, उपनिषद् आदि ग्रन्थहरु तयार गरिए । लौकिक संस्कृतमा रामायण, महाभारत, रघुवंश, उत्तररामचरित आदि महाकाव्यहरु रचना भए । कालिदास, माघ, वाणभट्ट, भवभूति आदिका साहित्यिक कृति र पाणिनि, पतञ्जलि, कात्यायन आदिका व्याकरणात्मक कृतिहरु पनि यसै अवधिमा तयार गरिएका हुनाले संस्कृत भाषामा यो चरण भाषा र साहित्यका दृष्टिले अत्यन्त उर्वर मानिन्छ ।

                इसाको ११०० देखि हालसम्मको भारतीय आर्यभाषालाई आधुनिक आर्यभाषा वा नव्यभारतीय आर्यभाषा युग भनिन्छ । प्राकृतबाट अपभ्रम्श हुँदै आधुनिक आर्यभाषाका रुपमा विकसित भएका भाषाहरुमा नेपाली, हिन्दी, मैथिली, भोजपुरी, अवधी, थारु, आसमी, उडिया, बधेली, छत्तीसगढी, ब्रज, कन्नौजी, राजस्थानी, बुन्देली, मराठी, कोङ्कणी, सिन्धी, लहन्दा, पञ्जावी, उर्दू, गढवाली, कुमाउनी, सिंहली आदि भाषाहरु संस्कृतबाटै विकसित भएका भाषा हुन् । संस्कृतबाट प्राकृत र अपभ्रम्श हुँदै नेपाल, भारत, पाकिस्तान, भुटान, बङ्गलादेश र श्रीलङ्कामा बोलिने भाषाहरु विकसित भएका हुन् । नेपालको राष्ट्रिय जनगणना २०६८ ले नेपालमा १६६९ जना संस्कृत मातृभाषी वक्ताको अवस्थालाई देखाएको छ ।

३६. तिब्बती : तिब्बती समुदायमा बोलिने अर्थात् तिब्बतीहरुको मातृभाषालाई तिब्बती भनिन्छ । यो भाषा चीन, तिब्बत, नेपाल र भारतमा बोलिन्छ । यो भाषा तिब्बती र सम्भोट लिपिमा लेखिन्छ । भुटानमा बोलिने जोङ्खा भाषा नेपालमा बोलिने शेर्षा भाषा तिब्बतीभाषासँग निकट सम्बन्ध रहेको बुझिन्छ । तिब्बती भाषाका अम्दो, उचङ र खम्पा गरी तीन प्रकारका भेदहरु भएको कुरा जानिफकारहरु बताउँछन् । नेपालको कास्की पोखराको भोटे क्याम्प, बागलुङ ढोरपाटनको शरणार्थी क्याम्पलगायत हिमाली क्षेत्रका भूभागमा यो भाषाका वक्ताहरु भएको पाइन्छ । तिब्बती भाषाको आप्mनै लिपि, दर्शन, बौद्ध धर्मका ग्रन्थ, चिकित्सा विद्या (आम्ची शिक्षा) भएको पाइन्छ । नेपालमा २०६८ को जनगणनाअनुसार तिब्बती मातृभाषी वक्ताहरु ४४४५ रहेका छन् ।

३७.  अंग्रेजी : भारोपेली भाषापरिवारको संसारप्रसिद्ध भाषा अंग्रेली हो । २०६८ को जनगणनाले नेपालमा अंग्रेजी मातृभाषी वक्ताको जनसंख्या २०३२ देखाएको छ ।

३८. बान्तवा : नेपालमा बान्तवा मातृभाषी वक्ता १३२५८३ रहेका छन् । यिनीहरुको अध्ययन राईकिराँती भाषाअन्तर्गत पनि गरिन्छ ।

३९. ओरिया : नेपालमा ओरिया मातृभाषी वक्ता ५८४ रहेका छन् । यिनीहरु मध्ये ९९ मातृभाषी वक्ता गण्डकी प्रदेशमा रहेका छन् ।

४०. राजवंशी (०.४६ %) : राजवंशी पनि संस्कृतको मागधी प्राकृतबाट अपभ्रंश हुँदै विकसित भएको भाषा हो । यो भाषा नेपालका राजवंशीहरुले मातृभाषाका रुपमा बोल्ने गर्दछन् । यो भाषालाई कतै ताजपुरी वा ताजपुरिया पनि भनेको पाइन्छ । यो भाषा नेपालको झापा र मोरङका केही भागहरुमा बोलिन्छ ।  जनगणना २०६८ अनुसार नेपालमा यो भाषाका वक्ताहरु ०.४६ प्रतिशत (१,२२,२१४) रहेको पाइन्छ । यो भाषामा नेपाली, बङ्गाली र मैथिली भाषाको प्रभाव परेको पाइन्छ ।

४१. अछामी  (०.५४ %) : अछाम जिल्ला र यसको आसपासमा बोलिने नेपाली भाषाको ओरपश्चिमा भाषिकाले २०६८ को जनगणनामा अछामी भाषाको मान्यता पाएको हो । यसको निकटसम्बन्ध नेपाली, बैतडेली र सिंजाली भाषासँग रहेको पाइन्छ । २०६८ को जनगणनाअनुसार यो भाषाका वक्ताहरु कुल जनसंख्याको ०.४३ प्रतिशत वा १४२७८७ रहेको पाइन्छ ।

४२. खस : खस भाषा वा खस कुरा नेपालको कर्णाली क्षेत्रमा रहेको प्राचीन राज्यको आधिकारिक भाषा हो । यही भाषाको विकसित रुप आजको नेपाली भाषा हो । केन्द्रीय खस भाषाका जुम्ली उखान संग्रहको सम्पादन रत्नाकर देवकोटा (१९७०) ले गरेका छन् । खस भाषाका ११ वटा भाषिका वा स्थानीय बोलीहरु रहेकामा सन् २०११ को राष्ट्रिय जनगणनाले यी स्थानीय बोलीलाई पनि नयाँ भाषाको मान्यता दियो । यही मान्यताअनुसार अब खस भाषाबाट विकसित भएका डोटेली, बैतडेली, अछामी, दैलेखी, बझाङी, बाजुरेली, दार्चुलेली, डोल्पाली, जुम्ली, डडेल्धुरी र गढवाली गरी ११ वटा नयाँ भाषाको उत्पत्ति भयो । यो पछिल्लो तथ्याङ्कले अब खस भाषा छुट्टै नयाँ भाषा हो वा नेपाली भाषाकै प्राचीन स्वरुप हो भन्ने विषयमा नयाँ बहस सिर्जना गरेको छ । जनगणना २०६८ ले खस मातृभाषीको संख्या १७४७ वा ०.०१ प्रतिशत रहेको जनाउँछ ।

४३. अन्य भाषा : नेपालमा भाषासम्बन्धी विवाद र अन्योल कायमै रहेको अवस्थामा जनगणना २०६८ अनुसार नेपालमा बोलिने अन्य मातृभाषीहरुमा जिरेल (४८२९), कुलुङ (३३१७०), गनगाई (३६१२), याक्खा (१९५५८), मुसलमान (१०७५), चाम्लिङ (७६८००), पञ्जावी (८०८), थामी (२३१५१), बराम (१५५), साम्पाङ (१८२७०), लोहोरुङ (३७१६), कुसुन्डा (२८), आसामी (४७६), थुलुङ (२०६५९), दनुवार (४५८२१), धिमाल (१९३००), खालिङ (१४४६७), माल्पाँडे (२४७), बझाङी (६७५८१), फ्रेन्च (३४), लाप्चा (७४९९), राजी (३७५८), याम्फू (९२०८), चिनियाँ (२४२), तिलुङ (१४२४), ताजपुरिया (१८८११), जोङ्खा (८०), वालिङ (११६९), नाछिरिङ (१००४१), मेचे (४३७५), वाम्बुले (१३४७०), हायु (१५२०), वन्करिया (६९), राउटे (४६१), मेवाहाङ (४६५०), दुङ्माली (६२६०), बेल्हारे (५९९), नागामेसे (१०), रसियन (१७), डोल्पाली (१६६७), गढवाली (३८), मनाङ्गे (३९२) लगायतका १२३ भन्दा बढी भाषाहरुको तथ्याङ्क जनगणना २०६८ ले प्रकाशनमा ल्याएको छ भने जनगणना २०७८ को तथ्याङ्कले १२४ मातृभाषाको तथ्याङ्क सार्वजनिक गरेको पाइन्छ । नेपालमा धर्मको संख्या १० वटा कायम भएको छ । राष्ट्रिय जनगणना, २०७८ को तथ्याङ्कअनुसार जातजातिको संख्या १४२ र मातृभाषा संख्या १२४ कायम भएको छ ।

सन्दर्भ ग्रन्थसूची

थापा, दिनबहादुर (२०७४), भाषाविज्ञान नेपाली भाषा, काठमाडौँ : अक्सफोर्ड इन्टरनेसनल पब्लिकेसन प्रा.लि. ।

नेपालमा बोलिने भाषापरिवार र विभिन्न मातृभाषाहरु

Leave a Reply

Your email address will not be published.

Scroll to top