आफ्नै जीवनसङ्घर्षका कथा

प्रा.डा. दिनबहादुर थापा

विगत २१ वर्ष यता प्राध्यापक सङ्घको पहिलो काम भनेकै वार्षिक रुपमा ‘प्रज्ञा सारथि’ प्रकाशन गर्ने हो । प्राध्यापक सङ्घ, प्रज्ञा सारथि र मेरो आफ्नै सम्बन्ध छ । विगतका सभापतिले जस्तै नवनिर्वाचित सभापतिको फोन आयो “गुरु सारथिलाई लेख चाहियो, तुरुन्त तयारी गरिदिनु प¥यो” । तर लेख तयार गर्न सजिलो छैन । विगतमा बढुवा प्रयोजनका लागि भए पनि लेख्न बाध्यता थियो । अब त्यो बाध्यता छैन । मैले सारथिमा लेख्नुको खासै अर्थ नहुँदा नहुँदै पनि लेख्नै पर्ने बाध्यता भयो । नयाँ कुरा खोज्ने फुसर्त छैन, अरुका विषयमा के लेख्नु, बरु आफ्नै जीवनसङ्घर्षका कथा सान्दर्भिक होला ।

प्रज्ञा सारथिको विशेषाङ्क (२०७६) मा मेरा अनुभव र अनुभूतिहरु सार्वजनिक भइसकेका छन् । मेरा नियमित पाठकले पढेर प्रतिक्रिया पनि दिइसक्नु भएको छ । यसमा पनि मैले मेरै पेसासँग सम्बिन्धत अनुभव र  अनुभूतिलाई निरन्तरता दिनुपर्ने भयो । प्राध्यापन सेवामा लागिरहँदा मैले जीवनमा के पाएँ, के गुमाएँ र केकस्ता जिम्मेवारीहरु थपिएका छन् ? पाठकका लागि रुचि र प्रेरणाका स्रोत बन्न पनि सक्छन् । म सबै राम्रा काम गरेको छु भन्दिन तर आफ्ना कार्यप्रति सन्तुष्ट छु । यहाँ म आफ्नै विषयमा कलम चलाएर कसैका लागि रिसर्च त कसैका लागि रिकर्ड बनोस् तर कसैका लागि पनि रिसरागको विषय नबनोेस् भन्न चाहन्छु ।

जीवनमा मैले शिक्षा, दीक्षा, रोजगारी, जिम्मेवारी, उपाधि, पद, प्रतिष्ठा, माया, सदभाव सबै पाएको छु । केही गुमाएका विषयहरु पनि छन् । गुमेका विषयमा खाता बसेका घाउ कोट्याउन म चाहन्न । जीवन आफैमा सङ्घर्ष हो रहेछ । सङ्घर्ष गरेरै विद्यालयदेखि विश्वविद्यालयसम्मको अध्ययन पूरा भयो । सङ्घर्षबाटै सेवाको निरन्तरता, उपाधि र जिम्मेवारी प्राप्त हुने हो । मैले जे प्राप्त गरेको छु, आफ्नै सङ्घर्षका उपलब्धि हुन् । प्रज्ञा सारथि लगायत विभिन्न पत्रपत्रिकाहरुमा निरन्तर कलम चलाएको उपलब्धि आफ्नो सेवामा स्थायित्व प्राप्त भयो । एक दर्जनभन्दा बढी सन्दर्भ पुस्तकहरु लेखन प्रकाशन कार्यले पेसागत उन्नयनमा सहयोग पु¥यायो । प्राध्यापकहरुको सेवा र सद्भावका कारण त्रिभुवन विश्वविद्यालय (त्रिवि) सभाको सदस्य हुने अवसर मिल्यो । क्याम्पसको विकेन्द्रीकरण, स्वायत्तता र गुणस्तर सुनिश्चितताका विषयमा बहस र पैरवी गर्दागर्दै सञ्चालक समितिको अध्यक्ष भइ टोपलियो । यी सबै मेरा आफ्नै जीवनसङ्घर्षका उपज हुन् ।

आपूmले आफ्नै आत्मश्लाघा गर्दा आत्माभिमानीको आरोप लाग्न पनि सक्छ । आत्मानुभव प्रकट गर्दा परमानन्द प्राप्ति हुन्छ भने त्यस्ता आरोप सहनुपर्छ, सहिदिउँला । मैले व्यक्तिगत रुपमा समाज, इष्टमित्र र बन्धुबान्धवका लागि केही गरेको छैन । शिक्षामा म समर्पण गरेको छु र शैक्षिक संस्थामा अनवरत सेवा गरेको दाबी गर्छु । प्रतिफलका रुपमा मैले काम, दाम, नाम, इनाम सबै प्राप्त गरेको पनि छु तर शिक्षा प्राप्त गरिसकेको छैन । शिक्षाप्रतिको मेरो आफ्नै धारणा छ । शैक्षिक व्यापार, गुणस्तरीय शिक्षा, मातृभाषामा शिक्षा, शिक्षानीति, विश्वविद्यालयको अवस्था लगायत शिक्षाप्रतिका मेरा अवधारणाहरु विद्युतीय सञ्जाल (www.dinthapa.com.np) मा पढ्न सकिन्छ ।

शिक्षा नाफा र घाटाको व्यापार नभएर सेवाको विषय हो । शिक्षा आपूmले नलिएसम्म अरुलाई दिनसकिने विषय होइन । शिक्षा एक वर्षमा फल्ने मेवा पनि होइन, दस वर्षमा हुर्कने रुख पनि होइन र सय वर्षपछि समाजमा देखिने परिवर्तन नै शिक्षा हो । शिक्षा संस्कारक तत्व हो, जो कर्मकाण्ड होइन, आत्मानुभूति हो, जसले जीवनलाई बदल्न सिकाउँछ । मेरो जीवन बदलिएको छैन र कसैको जीवन म बदल्न पनि सकेको छैन । पूरै पाँच दशक यही क्षेत्रमा समर्पण गर्दा पनि मैले शिक्षा प्राप्त गरिसकेको छैन ।

पेसाप्रति जिम्मेवार बनाउने कार्यसर्तले हो । मेरो पेसागत कार्यसर्तले मलाई दैनिक सात घण्टा आफ्नो पेसागत काम गर, कम्तीमा साप्ताहिक १५ कक्षा लिनैपर्छ, कम्तीमा दैनिक २५ जना विद्यार्थीलाई ज्ञान र सीपको सहजीकरण गर, शैक्षणिक योजना (वार्षिक, एकाइगत र दैनिक) बनाएर मात्र कक्षामा प्रवेश गर, विद्यार्थीको आन्तरिक मूल्याङ्कन र नतिजा विश्लेषण गरी कमजोर विद्यार्थीलाई उपचारात्मक कक्षा सञ्चालन गर, आफ्ना विद्यार्थीको अभिलेख तयार गर, प्राज्ञिक उन्नयन (खोज, अनुसन्धान, लेखन र प्रकाशन) का कार्यमा लाग, आफ्नो आचार संहिता पालना गर अनि अप्राज्ञिक झण्डामुनि बसेर आफ्नो पेसागत आचार संहिताको बदख्वाइँ नगर भनेको छ । तर मैले सबै कार्यसर्तहरु पालना गर्न गराउन सकेको छैन ।

म यतिसम्म भन्न सक्छु कि म मेरो संस्थाको पूर्णकालीन जनशक्ति हुँ । मेरो कर्तव्य पेसागत निष्ठा र संस्थागत चिन्तन हो । मैले मेरा अन्य जिम्मेवारीहरु पूरा गरेर पनि दैनिक औषतमा चारवटा कक्षामा करिव १०० विद्यार्थी पढाउँछु । मेरो कार्यसर्तभित्र पर्ने तीन वर्ष (२०७४–०७६) को विद्यार्थी नतिजा विश्लेषण गर्दा संख्यामा ४०३ र औषतमा ६९.५८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको अभिलेख म आफैले तयार गरी सम्बन्धित निकायमा बुझाएको छु । मेरो बौद्धिक सम्पत्ति सबै पाठक वर्गका लागि मेरै विद्युतीय सञ्जाल (वेभसाइट) मार्फत सार्वजनिक गरिदिएको छु । अझै म मेरो कर्तव्य पूरा गर्नसकिरहेको छैन ।

म अहिले विशुद्ध पेसाकर्मी शिक्षक मात्र नभएर संस्थागत नीति निर्माता, कार्यान्वयन कर्ता, व्यवस्थापक र सञ्चालकको भूमिकामा पनि छु । पेसाकर्मी भइकन पनि समिति, विभाग र संस्था प्रमुखको भूमिका निर्वाह गर्नु मेरो कर्तव्य हो । म आफैले अनेक कार्यसर्तहरु पूरा गर्नुका साथै गराउनुपर्ने जिम्मेवारी छ । संस्थाको स्वायत्तता, गुणस्तरीय शिक्षाको सुनिश्चितता, संस्थागत सुशासन र नीतिगत पारदर्शितालाई कार्यान्वयन गर्नु गराउनु मेरो दायित्वअन्तर्गत पर्दछ होला ।

म आफूआफैसँग सङ्घर्षरत छु । सुन्दा अचम्म लाग्न सक्छ । जिम्मेवारी बहन गरिसकेपछि हरेक कुराको नैतिक जिम्मेवारी लिनैपर्छ । म त्यो जिम्मेवारी लिन तयार नै छु तर मेरो सिद्धान्त र व्यवहारले कहाँनेर तालमेल खाँदैन ? म आफै अन्योलमा छु । चुनौतीका चाङहरु छन् । नीति र कार्यविधिहरु निष्क्रिय छन् । जीर्ण संरचनाको जीर्णोद्धार गर्न कठिन हुँदो रहेछ । अबुझलाई बुझाउन जति सहज हुन्छ, अर्ध बुज्रुकलाई बुझाउन झनै गाह्रो । बुझपच्ची बुज्रुकलाई बुझाउन सकिने कुरै भएन । चुनौतीको चुरो यही नेर छ ।

मुलुकमा परिवर्तन आयो । अधिकार सबैलाई चाहियो तर कर्तव्य पूरा गर्नु पर्दैन । खाइपाइ आएको सुविधा खोस्न पनि नपाइने र उसले आफ्नो जिम्मेवारी पूरा गर्न पनि नपर्ने, क्या राम्रो उदारवादी व्यवस्था । कति कर्णप्रिय शब्दजालः स्वतन्त्रता, समावेशिकता, उदारता, विकेन्द्रीकरण, स्वायत्तता, बहुलता र गुणस्तरीय सुनिश्चितता सप्पै सुविधा सबैलाई बराबर चाहियो । तर कुनै कुराको पनि उत्तरदायित्व कसैले लिनु नपर्ने, क्या काइदा । झन्डा समाएपछि बन्डा पाइने । बन्डा पाएपछि धन्दा र डन्डा चलाउन पाइने । यही झन्डा, धन्दा र डन्डाको व्यवस्थापन नै समस्याको समाधान हो ।

धवलागिरि क्याम्पसको इतिहास वक्ररेखामा अगाडि बढेको छ । सामुदायिक महेन्द्र इन्टर कलेज (२०१९) लाई २०३० श्रावण एक गतेदेखि त्रिविको आङ्गिक क्याम्पस (महेन्द्र क्याम्पस) बनाइयो । आङ्गिक क्याम्पसमा सबै आम्दानी, खर्च र उत्तरदायित्व त्रिविको हुन्थ्यो । त्यही महेन्द्र बहुमुखी क्याम्पसलाई धवलागिरि बहुमुखी क्याम्पस (२०६७) बनाइयो । अन्य स्नातक र स्नातकोत्तर तहका नयाँ कार्यक्रमहरु पनि थपिए । तर २०५३ पछि सञ्चालनमा आएका कार्यक्रमहरु सबैको उत्तरदायित्व त्रिविले लिन चाहेन वा सकेन । क्याम्पसको मुख्य चुनौती भनेकै पुराना कार्यक्रमले विद्यार्थी नपाउने र नयाँ कार्यक्रमले जनशक्ति नपाउने अवस्था आयो ।

कक्षा सञ्चालन गरेर मात्र भएन, शैक्षिक गुणस्तर पनि चाहिने भयो । शिक्षामा गुणस्तर भन्नाले विद्यार्थी उत्तीर्ण प्रतिशत वा नतिजा मात्रै होइन रहेछ । शैक्षिक गुणस्तर भन्नाले भौतिक सुविधा, सञ्चालन प्रक्रिया, सामुहिक सहभागिता, व्यावहारिक पाठ्यक्रम, शैक्षणिक सामग्री, शिक्षण विधि, सह र अतिरिक्त कार्यकलाप, नेतृत्व विकास, सहकार्यको भावना, सकरात्मक अभिवृत्ति, सिर्जनात्मक गतिविधि आदि पक्षको समष्टिगत योगलाई बुझाउँदो रहेछ । शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक लगायत सरोकारवाला सबैको सक्रियताबिना शिक्षामा गुणस्तर नपुग्दो रहेछ ।

हामीलाई स्वायत्तता र गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए) किन चाहिएको हो ? पाइलै पिच्छे उत्तर दिनुपर्छ । बुझपच्चीहरुलाई त केही भन्न परेन, हो हजुर नमस्ते, तपाई वरिष्ठ भने पुग्यो । तर अबुझकीहरुलाई बुझाउन हाम्रा दरबन्दी विहीन र विद्यार्थी कम भएका कार्यक्रमलाई समायोजन गर्न स्वायत्तता चाहिएको हो भन्नै पर्छ । दरबन्दी नभएका र जनशक्ति भएर पनि विद्यार्थी नभएका कार्यक्रमलाई त्रिविले अनुगमन गर्नसक्दैन र अनुदान आयोगले गुणस्तर मापन गर्न मान्दैन । तसर्थ स्वायत्तता र क्युएएको आवश्यकता परेको हो भन्नै पर्छ ।

 उदार र खुल्ला राज्य व्यवस्थामा जति पनि विश्वविद्यालय र कलेजहरु खोल्न पाइन्छ । नेपालमा १४ वटा विश्वविद्यालयहरु खुलिसकेका छन् । अझै प्रदेशहरुले विश्वविद्यालय खोल्ने तरखरमा छन् । खुलेका सबै शैक्षिक संस्थालाई राज्यले अनुदान वा हण्डी दिनैपर्छ भन्ने केही छैन । शिक्षा नीतिमा उल्लेख भए अनुसार सबै विश्वविद्यालय र क्याम्पसको शैक्षिक गुणस्तर मापन गर्ने अर्थात नियमनकारी निकाय भनेको विश्वविद्यालय अनुदान आयोग हो । उसको मनारी बुझाउन र वैधानिकताका लागि पनि गुणस्तर मापन त गर्नैपर्छ । हाम्रो जस्ता ’विद्यार्थी छन् जनशक्ति छैनन् र जनशक्ति छन् विद्यार्थी छैनन्’ कार्यक्रम सञ्चालन भएका क्याम्पसलाई गुणस्तर चिन्ह पाउनु आकाशको फल जस्तै भएको छ । हामी पाँच वर्ष अनवरत लडाइ गर्दा पनि अझै गुणस्तरको छेकछन्द छैन ।

म त्रिवि सभाको सदस्य हुनुका नाताले मैले सोंचेभन्दा विश्वविद्यालयको अवस्था फरक रहेछ । विश्वविद्यालय आफैमा स्वायत्त संस्था हो भनिन्छ तर होइन रहेछ । स्थापना कालदेखिनै सरकार प्रमुख त्रिविको कुलपति रहने व्यवस्था छ । नयाँ काम गर्न सरकारको मुख ताक्नुपर्ने हुन्छ । सरकार फेरिँदा कार्यकारी प्रमुखको अवस्था फेरिन्छ । नयाँ सरकार आउनसाथ नयाँ विश्वविद्यालय थपिन्छन् । थपिने नयाँ विश्वविद्यालयले उही त्रिविको जनशक्ति र भौतिक सम्पत्तिप्रति गिद्दे नजर लगाएकै हुन्छन् । हात्तीको देखाउने दाँत झैँ सबै विश्वविद्यालयको उद्देश्य गुणस्तरीय शिक्षा र दक्ष जनशक्ति उत्पादन गर्नु रहेको देखिन्छ । तर यथार्थमा विश्वविद्यालय भनेका आफ्ना शुभचिन्तक थन्क्याउने कुनिउँ वा डम्पिङ क्षेत्र हुँदा रहेछन् ।

 मुलुकभित्र विश्वविद्यालय र कलेजहरु थपिएको थपिइ छन् । तर उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको आकर्षण विदेशी विश्वविद्यालयतर्फ देखिन्छ । व्यवस्था फेरिए पनि अवस्था झनै विकराल, व्यक्ति बदलिए पनि प्रवृत्ति उस्तै छ । पञ्चायतका साँढेहरु बहुदलमा ब्वाँसा बने, तिनै ब्वाँसा गणतन्त्रमा सिंह बनेका छन् । घर भत्काउने मुसाहरु आज बिरालो बनेका छन् । केही मुसाहरु सुरुङ खनिरहेका छन् । सिंह, बिरालो र मुसाहरुको लडाइँ जारी छ । साँढेको जुधाइमा बाच्छाहरु मिचिएका छन् । बाच्छाहरु बचाउने समय आएको छ ।

त्रिविले आपूmलाई सँभाल्न नसकेपछि आफ्नो केन्द्रीय अधिकार मातहतका क्याम्पसहरुलाई प्रत्यायोजन गर्ने गरी ”त्रिवि विकेन्द्रीकरण नियम २०५५” कार्यान्वयनमा ल्यायो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दबाब र प्रभावमा परेर प्रमाण पत्र तह विश्वविद्यालयबाट फेज आउट गर्ने कार्यक्रम ल्याइयो । त्यसपछि त्रिविको स्वायत्तता सम्बन्धी नियम २०६२ को संशोधित नियम २०७३ लाई उपयोग गरी स्वायत्ततामा जान चाहने क्याम्पसहरुका लागि स्पष्ट नीतिगत व्यवस्था गरियो । त्रिविका सातवटा जति आङ्गिक क्याम्पस स्वायत्ततामा गएर राम्रै काम गरेको अवस्था पनि छ । कतै त्रिविबाट सम्बन्ध विच्छेद गर्ने तर राम्रो गर्न नसकी अलपत्र परिने हो कि भन्ने त्रासमा पनि छन् । हाम्रो क्याम्पसको हालत पनि यस्तै छ ।

पहिलो चरणमा विकेन्द्रीकरण, प्रमाणपत्र फेज आउट र स्वायत्ततामा जान चाहने क्याम्पसहरुले विदेशी दातृनिकायबाट मनग्य आर्थिक सहयोग पाए । तर समयमा निर्णय गर्न नसक्ने क्याम्पसहरुले पनि बाध्यात्मक रुपमा त्रिविको नीतिगत नियम पालना गर्नैपर्ने भयो । अझै त्रिविका चुनौतीहरु एकपछि अर्को थपिएका छन् । पर्याप्त भौतिक सम्पत्ति र दक्ष जनशक्ति भएर पनि असक्षम नेतृत्व, खस्किँदो शैक्षिक गुणस्तर र बढ्दो राजनीतिक हस्तक्षेपले गर्दा त्रिविले अपेक्षाकृत काम गर्नसकेको छैन । स्रोत परिचालन, सम्पत्ति संरक्षण र जनशक्ति व्यवस्थापन गर्न नसक्दा त्रिविले आफ्ना मातहतका क्याम्पसहरुलाई स्वायत्ततामा धकेल्दै आफूजिम्मेवारीबाट पन्छिरहेको छ । यी स्वायत्त क्याम्पसहरु कुनै दिन शैक्षिक माफियाको हातमा पुगे रे भन्ने सुन्न नपरोस्, शुभकामना छ ।

मैले त्रिवि सभामा उठाएका मुद्दाहरु शिक्षक र कर्मचारीको स्थायी नियुक्ति, सरुवा र बढुवा प्रक्रिया नियमित रुपमा पारदर्शी ढङ्गले होस् भन्ने नै हुन् । तर विडम्बनाको कुरा यिनै विषय समयमा न्यायोचित ढङ्गले हुन नसक्दा त्रिवि जनशक्ति बिहिन हुने त होइन भन्ने सन्त्रास बढेको छ । दीक्षित विद्यार्थीको संख्या घट्दो क्रममा छ । विद्यार्थीको नियमित परीक्षा र विश्वासनीयताप्रति प्रश्नहरु उठिरहेका छन् । जनशक्ति व्यवस्थापनमा भएको लापर्बाहीले गर्दा कतै घाम तापेर खाने र कतै कामको चापाचाप देखिन्छ । सक्षमले अवसर नपाउने र असक्षमले पद ओगट्ने प्रवृत्ति वा टिके प्रथा त छँदैछ । यसमा पनि काम नगरी अवसर पाउने र मरेर काम गर्दा पनि अवसर नपाउने बीचको द्वन्द्व यथावत छ । यही विषम परिस्थितिमा हामीले स्वायत्तताको बाटो रोज्नुपरेको हो ।

निष्कर्षमा भन्नु पर्दा शिक्षा क्षेत्रमा नीतिगत खोटहरु छन् । शैक्षिक संस्थाहरुमा व्यवस्था र संरचना बदलिए पनि अवस्था फेरिएको छैन । जतिसुकै शैक्षिक संस्थाहरु थपिए पनि गुणस्तरमा सुधार आएको छैन । व्यवहारमा परिवर्तन नआएसम्म अवस्थामा परिवर्तन आउँदैन । प्रक्रिया राम्रो नभएसम्म नतिजा राम्रो हुने कुरै भएन । अवस्थामा परिवर्तन गर्न र नतिजा राम्रो ल्याउन आफूआफैसँग सङ्घर्ष गर्नुपर्छ । आफ्नो काम आफै गर्नुपर्छ । आफ्नो समीक्षा आफै गर्नुपर्छ । म र मेरो संस्थाको अवस्था बदल्न मेरो सङ्घर्ष जारी छ । अस्तु !!!

(त्रिवि प्राध्यापक संघ, एकाइ समिति, ध.ब.क्या.(२०७८), प्रज्ञा–सारथि, वर्ष २१, अंक २०, पृ. १–५ बाट ) ।

आफ्नै जीवनसङ्घर्षका कथा

One thought on “आफ्नै जीवनसङ्घर्षका कथा

Leave a Reply

Your email address will not be published.

Scroll to top