प्रा.डा. दिनबहादुर थापा
आलेख सार
सैनिकको लस्कर वा बथानमा बसी नयाँ राज्यको स्थापना गर्ने वीर लडाकू जात विशेषलाई बगाले थापा भनिन्छ । आत्रेय गोत्री बगाले थापाका मूल पुरुष कालु थापा हुन् । उनी शाक संवत् ११११ (वि.सं. १२४६) तिर डोटीमा राजा भएका थिए । उनै कालु थापाका जेठा छोरा पुन्याकरले पुलामा, माहिला तारापतिले ताकम, साहिँला विरु थापा (रुकुम/रोल्पा ?) र कान्छा धर्मराजले ज्यामरुककोट (म्याग्दी) मा राजकाज चलाएका थिए भन्ने तर्क योजी नरहरीनाथले आफ्नो इतिहास प्रकाश (२०१२) मा उल्लेख गरेका छन् । यिनै बगाले थापाहरूको कुलपरम्परा र कुल्यानथानका विषयमा खोजी गर्नु यस लेखको मूल उद्देश्य रहेको छ । यही ऐतिहासिक सन्दर्भलाई जोडेर बगाले थापाको कुल र कुल्यानथानको परम्परा, अनुकूलन र रुपान्तरणको विषयलाई लेखको मूल विषय बनाइएको छ ।
शब्दकुञ्जी: अनुकूलन, कुलपूजा, कुल्यानथान, बगाले थापा, रुपान्तरण
१. थानको परिचय
परापूर्वकालदेखि नै अदृश्य शक्तिको केन्द्र वा देवीदेवताको निवासलाई ‘स्थान, थान, माडौँ, मण्डप, मन्दिर, कोटघर, यज्ञभूमि, पूजाघर‘ आदि पर्यायवाची नामले चिनाएको पाइन्छ । संस्कृतको ‘मण्डप’ शब्दबाट ‘माणो’ हुँदै नेपालीमा ‘माडौँ’ शब्दको विकास भयो । ‘माडौँ’ शब्द विशेष गरी खसान प्रदेश वा सिन्जातिरबाटै पूर्वतिर विस्तार भएको देखिन्छ । स्थान शब्दले व्यापक अर्थमा ‘बस्ने ठाउँ वा रहने निवास’ लाई बुझाउँछ भने ‘थान्’ शब्दले खुला आकाशमुनिको अदृश्य दैवी शक्तिको बास भन्ने अर्थ बुझिन्छ । आज ‘मन्दिर’ शब्दले मूर्ति स्थापना भएको भवन वा देवालय भन्ने अर्थ बुझाउँछ । ‘मण्डप, यज्ञभूमि, पूजाघर, चर्च, गुम्बा, मस्जित आदि शब्दले पनि सीमित अर्थमा पवित्रस्थल वा धर्मानुसारको देवकार्यस्थल भन्ने अर्थ बुझाउँछ । तसर्थ ‘थान्’ भन्नाले खुला क्षेत्र वा प्राकृतिक अवस्थालाई बुझाउँछ भने ‘मन्दिर’ भन्नाले कृत्रिम वा मानव निर्मित भवन वा देवालय भन्ने बुझिन्छ ।
नेपालका रैथाने अदृश्य दैवी शक्तिको निवास भनेकै थान हो । अहिलेको सन्दर्भमा संस्कृतको ‘मन्दिरम्’ शब्दबाट अपभ्रंश भई आएको ‘मन्दिर’ शब्द उही ‘थान्’ शब्दको पर्यायवाची अर्थमा पछि विकसित भएको देखिन्छ । प्रायः कुल्यानथानहरु आज कुलमन्दिरको पर्यायवाची शब्द बन्न पुगेका छन् । थान र मन्दिरका विशेषताहरू र बनावट भने पटक्कै मिल्दैनन् । आज एउटै शक्तिपीठलाई ‘माईथान, देवीथान, भगवतीमन्दिर’ यी तीन पर्यायवाची नामले पुकारिन्छ । वास्तवमा माईलाई चढ्ने बलि भगवतीलाई नचढ्न पनि सक्छ । थानमा चढाइने बलि मन्दिरमा नचढ्न पनि सक्छ । तर रैथाने माई, झाँक्री, मस्टो, सिद्ध आदिका प्रायः थानहरू आज मन्दिरमा रुपान्तरण भइसकेका छन् ।
थान र मन्दिर आफैँमा पर्यायवाची शब्द बनाइएको छ । थान वा मन्दिर निवासी देवीदेवता पनि उनै हुन् । तर पनि थानले परम्परित, सीमित, रैथाने र प्रकृतिमैत्री देवीदेवताको निवास वा शक्तिपीठलाई बुझाउँछ भने मन्दिरले व्यापक, आधुनिक, सुविधासम्पन्न, मानवनिर्मित, कृत्रिम सजावत र आयातित भन्ने अर्थबोध गराउँछ । यो लेखका सन्दर्भमा परापूर्वकालदेखि निराकार र अमूर्त शक्तिका रुपमा मानिदै आएको मस्टो वा कुलको थानलाई आधुनिक समयमा मन्दिरको नामकरण भएको देखिन्छ । थान निवासी प्रायः कुल, माई, देवी, झाँक्री आदि आज मन्दिरमा सयर गर्दै छन् या बन्दी भएका छन् ? यससम्बन्धमा थप अध्ययन गर्नुपर्ने देखिन्छ । यसै सन्दर्भमा बागलुङ जिल्ला र यस आसपासका केही प्रतिनिधिमूलक कुल्यानथानहरूको संक्षिप्त चिनारी दिइएको छ ।
२. कुल्यान (मस्टो) पूजा
नेपालमा मानिसको पहिचान गर्ने आधार थर, गोत्र, कुल, धर्म, पेसा, भूगोल आदि हुन् । थरहरू पनि कुनै समयका पेसा, उपाधि र स्थान विशेषका नामबाट रहन गएका हुन् । रत्नाकर देवकोटाका अनुसार थापा (सेनाप्रमुख वा राज्यको स्थापक), आचार्य (शास्त्रीय आचार पालना गर्ने), द्विवेदी (दुई वेद पढ्ने), सुवेदी (शुद्ध वेद पढ्ने), अधिकारी (अधिकारवाला), कार्की (सैनिक अधिकृत), खड्का (अङ्गरक्षक), भण्डारी (कोषाध्यक्ष) आदि पेसासँग सम्बन्धित थरहरू हुन् (२०६४ : १६४–१६५) । त्यस्तै पोखरेल, गैरे, रेग्मी, गौतम, घिमिरे आदि स्थान विशेषका नामबाट राखिएका थर हुन् । जुम्लाको सिञ्जाबाट पूर्वतिर आएका सबै खस (क्षत्रीबाहुन) हरूका आदिम वा प्राकृतिक देवता भनेकै मस्टो हुन् । यिनै मस्टोलाई आज कुल वा कुल्यान भनिन्छ । यिनै मस्टो देवतालाई जुम्लाबाट आएका सबै खसहरूले निश्चित स्थानमा आआफ्नै कुल्यानथान बनाएर निश्चित तिथिमितिमा कुल पुज्ने चलन छ । कुल वा मस्टोको मौलिकपन भने हराउँदै गएको छ ।
कुलका प्रतीक नै मस्ट/मस्टा वा मस्टो हुन् । मस्टोलाई वायुको प्रतीक वा कुलको निराकार स्वरुप मानिन्छ । यसमा मूर्ति र मन्दिरको कल्पना हुँदैन । मस्टोको कुनै मूर्ति हुँदैन भन्ने स्थापित मान्यता हो (शर्मा, २०७१ : २४८) । बरु मस्टोलाई लिङ्गो र ध्वजाको रुपमा पुजा गरिन्छ । आज पनि हरेक कुलपूजामा बाँस वा निगालो प्रजातिको लिङ्गो र रातासेता ध्वजाको अनिवार्यता रहन्छ । लिङ्गो उपासनाले पशुपालन युगको सङ्केत गर्दछ भने ध्वजाले विजय उत्सवको सङ्केत गर्दछ । कतिपय मस्टोका उपासकहरूले मस्टोको निराकार रुपलाई साकार रुप दिन ध्वजालाई इन्द्रको प्रतीक र लिङ्गोलाई शिवको प्रतीकका रुमा अथ्र्याएको पनि पाइन्छ (खत्री, २०५८ : ७५) । सायद यसैबाट थानहरू मन्दिरमा विकसित भएको हुुनुपर्छ । तर लिङ्गो पुज्दैमा कुललाई शिवको प्रतीक मान्नु सान्दर्भिक देखिदैैन ।
मस्टोका विषयमा फरकफरक भनाइहरू पाइन्छन् । कतै बराह र मस्टो फरकफरक देवता हुन् भन्ने भनाइ पाइन्छ भने कतै बाह्र भाई मस्टोलाई बराहमस्ट भनिएको हो पनि भनिन्छ । कतै अठार भाइ मस्टोका एउटी बहिनी (मन्डाल्नी वा भवानी) र उनै बहिनीका बाह्र भाइ छोराहरू बराह हुन् भनिएको पाइन्छ । यिनै १८ भाइ मस्टा (मामा) र १२ भाइ बराह (भान्जा) लाईसँगै पूजा गरिने भएको हुँदा बराहमस्ट भनिएको हो भन्ने तर्क पनि सुन्न पाइन्छ । प्रायः खस (क्षत्री र बाहुन) हरूको कुलपूजामा मस्टोलाई बोका र बराहलाई थुमा (भेडाको साँढ) बलि चढाउने परम्परा देखिन्छ । खसहरूले बराहलाई कुलका इष्ट देवता मान्ने चलन छ । जनजातिले बराहलाई साँढले पूजा गर्दछन् । यसर्थमा खस र मगर (जनजाति) हरूको सहसम्बन्ध धेरै पुरानो हो भन्ने तथ्यको पुष्टी हुन्छ ।
माधवप्रसाद पोखरेलको भनाइमा पनि सबै पहाडे खस (बाहुन, छेत्री, ठकुरी, कामी, दमाई, सार्की, बादी आदि) हरूका मूल कुल देवता मस्टो हुन् । मस्टो बाल ब्रह्मचारी हुन् । मस्टोको थान खुला हुन्छ, त्यहाँ छानो हुँदैन, मस्टोको मूर्ति हुँदैन, ढुङ्गो थापेर अथवा खोपामै मस्टो पूजा गरिन्छ (पोखरेल, २०७६, मङ्सिर १४) । मस्टोका बाबु इन्द्र हुन् र उनका आराध्य देव शिव हुन्, शिवले सबै प्राणीको भरणपोषण र रक्षा गर्न खटाएका गणपति मस्ट हुन पनि भनिन्छ । मस्टोलाई कुलदेवता, भूमिपति, क्षेत्रपाल, स्थानीय देवताका गणपति, परम शक्तिका देवता, उदारता र समन्वयका प्रतीक आदि अर्थको प्रतीकका रुपमा पनि हेरिन्छ ।
मस्टोका अनेक किंवदन्तीहरू सुन्न पाइन्छ । मस्टोका कतै १२ भाइ, कतै १६, कतै १८ भाइ र तिनका अनेक उपभेदहरू छन् भन्ने जनश्रुतिहरू पाइन्छन् । गोपीनाथ शर्माका अनुसार बुढा, कःवाँ, थार्पा, बाबिरो, लिउडी, कमल, सिम, रमाल, ढँडार, दुसापानी, डढीर र सितल गरी १२ प्रकारका छन् (२०७१ : २४८) भनिएको छ । सबैका आआफ्नै तर्कहरू छन् । माधवप्रसाद पोखरेल (२०७६) लाई प्राप्त सूचनाका आधारमा ‘उखाडी (जुम्ला), कवा (मुगु), कालसिला (कालिकोट), क्षेत्रपाल (जुम्ला), खापड (कालिकोट), ढँडार (बझाङ), थार्पा (मुगु), दारे (मुगु), दुधे (दुल्लु), बाम (जुम्ला), बाबिरो (जुम्ला), बिजुल्डाणो (जाजरकोट), बुडु (जुम्ला), रमाल (अछाम), लाटो (जुम्ला) र सुनारगाउँ (जुम्ला)’ खसान क्षेत्रका मस्टोहरू हुन् । यिनीहरु मध्येकै मस्टोलाई पहाडे खसहरुले आफ्नो कुल्यान मान्दछन् । यी मस्टोहरुमा पनि सत्वगुणी (सालबसाली खिररोटी र दुधधार खाने), रजोगुणी (रक्तबलि खाने) र तमोगुणी (दुबै किसिमको भोग लिने) वर्गमा पर्दछन् भन्ने विश्वास रहेको छ ।
मस्टो निराकार हुने हुनाले सामान्य व्यक्तिबाट मस्टो वा कुलपूजा हुन सक्दैन । मस्टो वा कुल बोलाउने, पूजा गर्ने र विदा गर्ने विशेष व्यक्तिलाई मूल धामी र धामीको सहयोगीलाई डाङ्ग्रे भनिन्छ (तमबहादुर थापा, वर्ष ७१) । कुलपूजामा धामीले आफ्नो उत्पत्ति, विस्तार, शाखा, सन्तान र सबै पूजाविधिका विषयमा झाँकमा बताउँछ । त्यसैलाई पतुर्ने वा पतुर्नु भनिन्छ । मस्टो वा कुल उत्रिएका धामीमा यी र यस्तै ऐतिहासिक कुरा, समसामयिक विषय र भविष्यवाणी गर्नसक्ने सामथ्र्य हुन्छ भन्ने विश्वास गरिन्छ । अहिले पनि कतिपय स्थानहरूमा कुलका सक्कली धामी वा डाङ्ग्रेले आगोमा नाच्ने, तातो ताइमा हात चोप्ने, बलिको रगत चुस्ने जस्ता आश्चर्यजनक कार्यहरू गरेको देखिन्छ । कतिपय सन्दर्भमा औषधोपचारसमेत गर्दछन् ।
मस्टोलाई कतिपयले सबै हिन्दु जातिका देवता नभएर खस जातिको मात्र भएको र जङ्गबहादुर राणाले मस्टो पुजक खसलाई हिन्दुकरण गरेको तर्क पनि राख्छन् । पश्चिमबाट पूर्वतिर सर्ने क्रममा कतिपयले ‘‘आफ्ना कुलदेवतालाई साथै लिएर गए र तिनलाई आआफ्नो ढङ्गले मान्दै रहे, शास्त्रीय हिन्दुधर्मको पर्व–पूजा र आचरणमा व्यापक प्रभाव परेपछि कतिले आफ्नो प्रारम्भिक कुलदेवता बिर्से र अन्य लोकप्रिय देवीदेवतालाई नै कुलदेवताको रुपमा प्रतिष्ठापित गरे” भन्ने तर्क पनि पाइन्छ (खत्री, २०५८ : ७५) । वास्तवमा यस क्षेत्रमा मस्टोलाई मस्टोकै विधि र पद्धतिमा पूजा गरेको पाइदैन । बरु आज मस्टोलाई कुलपितृको प्रतीक, शिवको अंश, इन्द्रको सन्तान वा प्रकृतिको प्रतीक मानेर कुनै न कुनै रुपमा पुजिन्छ । मस्टोलाई खस जातिको मुख्य देवता, सामाजिक न्यायका देवता, पथप्रदर्शक, पालनकर्ता र सम्भारकर्ताका रुपमा लिइन्छ । मस्टोको मर्म नबुझ्नेहरूले मस्टोथानलाई मन्दिरमा परिणत गरी धामीको सट्टा शास्त्रीय विधिविधानअनुसार पण्डितद्वारा पूजापाठ गर्न थालिएका उदाहरणहरू धेरै पाइन्छन् ।
संस्कृतिविद् जगमान गुरुङ (२०७६) को भनाइअनुसार सम्पूर्ण खस (क्षत्रीबाहुन) हरूका कुल भनेकै मस्टो हुन् । मस्टोका १२ भाइ र नौ बहिनी भवानी छन् । मस्टो पुज्ने आआफ्नै विधि र परम्परा हुन्छ । मस्टोको थानमा कुलको ज्येष्ठ पुरुष (जेठोबुढो) र धामीबाहेक अरु प्रवेश गराउनु हुँदैन र थानमा छानो राख्नु हुँदैन भन्ने तर्क गुरुङको छ । मस्टोका नाममा धूप राख्दासाथ धामीमा मस्टो आफैँ चढ्छन् । मस्टोको निवास वा थान ओढार, दुधालु रुख, फलफूलको रुख वा बसौँ टिक्ने रुखमुनि हुन्छ । पूजाको दिनमा मात्र त्यहाँ स्याउला बारेर थान बनाइन्छ । त्यही थानमा पूजाको दिन घरबाट चमर, घण्टी, दियो, कलस र पूजासामग्री ल्याई पूजा गरिन्छ ।
गुरुङ (२०७६) का अनुसार यदि कसैले मस्टोको विधिविपरीत काम गरेमा तुरुन्त अनिष्ट हुन्छ भन्ने जनविश्वास रहेको छ । बाटो विस्तारका क्रममा कास्की जयकोटको माटेपानीमा मस्टोको थान सारेर दुर्गाको मन्दिर बनाई मस्टो सार्दैका वर्ष कार्कीहरूमा ठूलो अनिष्ट भएपछि पुनः मस्टिोलाई खुला आकासमुनि सेउलाले बारेर राखिएको दृष्टान्त गुरुङ (२०७६) ले एक प्रवचनमा सुनाएका छन् । उनको भनाइअनुसार मस्टोको थान सारेर पनि सर्दैन र मस्टोको थानमा चमर, घण्टी र दियोबाहेक अरु (मूर्ति, चित्र, मन्दिर) केही आवश्यकता पर्दैन । गुरुङले भने झै आजभन्दा करिब ३० वर्ष पहिलेसम्म यस क्षेत्रका सबै खस (क्षत्रीबाहुन) हरूका आआप्mनै कुल्यानथानहरू थिए । आज ती सबै थानहरू मन्दिरमा परिणत भइसकेका छन् र धामी वा डाङ्ग्रेहरू पनि हराइसकेका छन् । अतिथिलाई भगवान् मान्ने हाम्रो संस्कार र संस्कृतिले गर्दा पनि आप्mनै कुल वा मस्टोलाई बिर्सेर अतिथि देवीदेवतालाई मात्रै पुज्न थालेका दृष्टान्तहरु पनि पाइन्छन् ।
मस्टो पुजक खसहरूमा विभिन्न थरका थापाहरू पनि हुन् । थापा थर कुनै समयको सैनिक उपाधि हो भन्ने विश्वास रहेको छ । नेपालमा मगरबाहेक खस थापाका थरहरूमा बगाले, गोदार, सुयल, खुलाल, पुवाँर, लामिछाने लगायत ५० भन्दा बढी र गोत्रहरू आत्रेय, कश्यप, भारद्वाज, गर्ग, अत्रि, वशिष्ठ, कौडिन्य लगायत भएको जानकारी पाइन्छ (देवकोटा, २०६४ : १९३) । यी सबै थापाका कुनै न कुनै स्थानमा कुलको थान रहेको हुन्छ । त्यही कुल्यानथानमा मस्टो पुजिन्छ । यो आलेखमा आत्रेय गोत्री बगाले थापा, सिद्धको थापना, कुल्यानथान, कुलपूजा विधि र कश्यपगोत्री गोदार थापाको कुल वा मस्टो पूजाविधिका विषयमा थप चर्चा गरिएको छ ।
३. सातसय बगाले थापाको परिचय
सातसय बगाले थापा बागलुङ जिल्लाको गलकोट मल्ममा कहिलेदेखि बसोबास गर्न थालेका हुन् भन्ने सम्बन्धमा ठोस प्रमाणहरू भेटिएका छैनन् । गलकोट राज्यको इतिहाससँग साइनो गाँस्दा राजा जितारी मल्लको पहिलो गलकोट प्रवेश (विसं. १६३१) सँगै थापाहरू पनि म्याग्दीको ताकम, ज्यामरुककोट (जम्रिक) हुँदै गलकोट प्रवेश गरेका हुन् भन्ने भनाइ छ (थापा, २०७३) । यो भनाइअनुसार बगाले थापा मल्ममा करिब चार सय पचास वर्ष पहिलेदेखि यही भूमिमा बसोबास गर्दै आएको अनुमान गर्नसकिन्छ । मल्मको दक्षिणमा अमृसेखोला, पूर्वमा बतासेडाँडा, उत्तरमा घुम्टेको पानी ढलो र पश्चिममा पाण्डवखानीको सीमाना थाउसे खोलाभित्रको जमिन थापाहरूले बिर्ता पाएका थिए भन्ने भनाइ बुढापाकाहरूको छ । यही भूभागमा पहिलो पटक जुम्ली थापाका बाबु जम्रेलका दम्पत्ती खेतमाथि भन्ने स्थानमा आइ बसोबास गर्न थालेका हुन् रे । उनीहरूलाई सन्तान नभएपछि घुम्टे सिद्धको भाकल गरी दुई जुम्ली छोराहरू जन्मिए । छोरा जन्मिएपछि माथि हुलुवा खोलाको किनार फेदी र तल गोलैंचारुख भनिने अर्को ठाउँमा सिद्धको थापना उनै जुम्लीका बाबुले गरेका हुन् भन्ने भनाइ छ ।
जुम्ली परिवारसँगै उनका काका इन्द्रमणि पनि त्यहाँ आएका थिए । जुम्ली जेठाका पाँच भाइलाई पाँचघरे र जुम्ली कान्छाका तीन भाइलाई तिनघरे भनिन्छ । सुरुमा जुम्लीहरुको बूढो घर खोलापारी जुम्लीहरुको जेठो छोरो (सिंहवीर) को घरलाई र इन्द्रमणिको पहिलो निवास काजीको पाटो (हाल गोपाल थापाको भोगचलनमा रहेको) लाई भनिन्थ्यो । जुम्ली जेठाको खलक खोलापारी, जुम्ली कान्छाको खलक मल्म डाडामा र इन्द्रमणिको खलक खोलापारीबाट भल्साङ गइ बस्न थालेका हुन् भन्ने भनाइ स्व. तिलबहादुर थापाको थियो । अद्यापि यिनै तीन खलकका परिवार यत्रतत्र फैलिएर बसोबास गर्दै आएका छन् ।
केही वर्ष पहिलेसम्म खोलापारी बूढोघरबाट जेठ महिनाको शुक्ल पूर्णिमा वा दिवाली पक्षमा प्रत्येक तीन र कहिले पाँच वर्षमा कुलदेवता निकाल्ने चलन थियो रे भन्ने भनाइ स्व. तिलबहादुर थापाको थियो । सुरुमा बूढो घर खोलापारी भए पनि पछि सबै सातसय बगाले थापाको मूल घर कोल (तेल पेल्ने स्थान) जुम्ली जेठाको कान्छो छोरा (मस्तराम) को घरलाई कुल वा निशान घर मानियो । यही निशान घरबाट करिब ५०० मिटरको दुरीमा रहेको ढुङ्गे ओढारमा कुल वा मस्टोको थान बनाइयो । यसैलाई बगाले थापाको कुल्यानथान मान्दै आएको इतिहास छ ।
बगाले थापाको इतिहासलाई खोजी गर्दै जाँदा नरहरिनाथले ‘इतिहास प्रकाश’ (२०१२) मा उल्लेख गरेअनुसार कालु थापा (सम्वत् १२४६) का चार भाइ छोराहरूमा जेठा पुन्याकरले पुला, माइला तारापतिले ताकम, साहिँला बिरुले रुकुम र कान्छा धर्मराजले ज्यामरुकमा राज्य चलाएका थिए भनिएको छ (थापा, २०७९ : २) । यही भनाइलाई आधार मानी थापाहरुको वंशावली र इतिहास लेखिएको छ । मोहनबहादुर मल्लको ‘पर्वतको इतिहास’ (२०२८ : २८) मा मगरहरूको सहयोग लिई सम्वत् १५४५ तिर डिम्बले ताकममा हमला त गरे तर थापाको शक्ति देखेर ‘रजाइँ हाम्रो, कजाइँ तिम्रो’ भनी सम्झौता गरेका थिए भनिएको छ । चन्द्रप्रकाश बानियाँले आप्mनो ‘ऐतिहासिक पर्वतराज्य’ पुस्तकमा ताकम, पुला र ज्यामरुक इलाकामा तीन सय वर्ष अविच्छिन्न रुपमा कालु थापाकै सन्तानले चार हजार पर्वत नामको राज्य चलाएका थिए, उनैबाट खोसेर डिम्ब महाराजले बीस हजार पर्वतराज्य कायम गरेका हुन् भनेका छन् (२०६२ : १२७) । यी भनाइहरुले पनि पुरानो पर्वत राज्यको संस्थापक बगाले थापा हुन् भन्ने पुष्टी हुन्छ ।
इतिहासको जानिफकार विष्णुप्रसाद शर्मा ‘मैत्रेय’ (२०७० : ९) को लेखअनुसार मल्लहरुको आगमन (१५४५) पूर्व बागलुङको पश्चिम निसीभुजी क्षेत्रमा मगर राजाको र बागलुङ बजारको आसपासका थुम/कोटहरुमा भुरेटाकुरे बगाले थापा क्षत्री राजाको शासन चलेको थियो । यिनै क्षत्री राजको शीतकालीन दरबार बागलुङको उपल्लाचौरमा थियो भन्ने विश्वास गरिएको छ । अद्यापि ज्यामरुककोटको आसपासमा रहेका माझकोट, कार्कीकोट र उपल्लाचौरमा देख्न सकिने पुराना किल्ल, पर्खाल, ओखल, प्राचीन खुँडा, हातहतियारसहितको कोटभवन, पुराना इटा, ढुङ्गा, झिंगटी, माटाका कलात्मक भाँडाका टुक्रा, राजाको हात्ती बाँध्ने ढुङ्गा (हालको आर्मी क्याम्पभित्र), देउती माईको थान (उपल्लोचौरमा) आदि उनै भुरे टाकुरे क्षत्री राजा (बगाले थापा) को समयमा निर्मित भग्नावशेष हुन् भन्ने विश्वास गरिएको छ (शर्मा, २०७० : ९) । यी भनाइहरुले पनि बगाले थापाको इतिहासलाई खोजी गर्न थप मद्दत पु¥याएको छ ।
समाजसेवी मदनप्रसाद पाण्डेय (वर्ष ७८) को भनाइअनुसार पनि कुनै समयमा हाल पञ्चकोट भनेर चिनिने संसारकोट, रायँरायँकोट, माझकोट, कारीकोट (कार्कीकोट) र ताराजलकोट (जफतीकोट) मा उनै बगाले थापाका सन्तानहरु भुरेटाकुरे राजाका रुपमा बस्थे रे । कार्कीकोटका राजाले बागलङ कालिकादेवीका नाममा ६० मुरी खेत गुठी राखिदिएका थिए रे भन्ने भनाइ मदनप्रसाद पाण्डेयको छ । पाण्डेयले उनै थापा राजाले कार्कीकोटमा गुठी राखिदिएको प्रमाण काठमाडौँको गुठीसंस्थान र बागलुङको मालपोत कार्यालयमा सुरक्षित रहेको दावी गर्दछन् । कार्कीकोट गुठीको भोगचलन गर्ने मोहीहरुले जग्गाको हकदाबी गरेपछि सर्वोच्च अदालतसम्म पुगेर २५ वर्षसम्म मुद्दा लड्दा उनै ऐतिहासिक प्रमाण (थापा राजाले गुठी राखेको प्रमाण) का आधारमा मुद्दा जितेको घटना उनी सुनाउँछन् ।
बागलुङ कालिकादेवी (माईथान) को गुठीसँगसम्बन्धित अभिलेखहरुको अध्ययन गर्दा पनि सर्दार अमरसिंह थापाले रामचन्द्र खड्काका नाममा जारी गरेको पत्रमा ‘अघिदेखि राखेको गुठीलाई हामीले पनि थामी दियौं … पूजा गर, सरकारको जय मनाउ सम्वत १८४५ साल ज्येष्ठ शुदि ३ रोज ७ मुकाम कार्कीकोट शुभम्’ लेखिएको छ । त्यसरी नै अर्को तत्कालीन महाराजाधिराजले वि.सं. १८५९ मा जारी गरेको पत्रमा पनि ‘१४ पुस्ता अघिदेखि राखिएको गुठीलाई हामीले पनि थामी बक्स्याका छौं’ भनिएको छ (खडका, २०६५ : ५८) । यी अभिलेखहरुबाट पनि पर्वत राज्यमा मल्लहरुको आगमनपूर्व नै कार्कीकोटमा मुकाम वा कुनै शक्तिकेन्द्र रहेछ भन्ने पुष्टी हुन्छ । यिनै ऐतिहासिक गरिमा बोकेका बगाले थापाका सन्तानहरु आज म्याग्दीको ताकम, पुला, ज्यामरुककोट, पर्वतको थापाठाना, बागलुङ्को मल्म र हरिचौर (सर्दाखेत) मा प्रभावकारी ढङ्गले बसोबास गर्दै आएको अवस्था छ ।
उनै बगाले थापाका सन्तान आज पुरानो मल्म गाउँपञ्चायत या वर्तमान गलकोट नगरपालिकाको वडा नं. सातमा बसोबास गर्दछन् । गाउँको बिचमा रहेको सातसय बगाले थापाको कुल्यानथानमा हरेक तीन वर्षको मङ्सिर शुक्ल अष्टमी तिथिका दिन कुलपूजा गर्ने परम्परा रहेको छ । कार्यालयको अभिलेखअनुसार यो कुलमन्दिरमा कुलपूजा गर्ने बन्धुहरूको संख्या २०४१ सालमा १७९ घर, २०४४ सालमा १९० घर, २०४७ सालमा २३४ घर, २०५० सालमा २२५ घर, २०५३ सालमा २८९ घर, २०५६ सालमा ३२६, २०५९ मा २८५, २०६२ मा २७९, २०६५ मा ३१८, २०६८ मा ३६६ घरधुरीको संलग्नता रहेकामा २०७१ सालमा आइपुग्दा ३३५ घर र २०७४ सालमा ३८२ घरपरिवार पूजामा सामेल भएको देखिन्छ । कोरोनाका कारण सबै बन्धुहरुको सहभागिता हुन नसकेका कारण २०७७ सालमा भने बिनाअभिलेख भिन्न प्रकृतिले सामूहिक कुलपूजा गरिएको थियो । पछिल्लो समयमा यहाँबाट वैदेशिक रोजगारी र बसाइसराइ गरी नेपालका विभिन्न ठाउँमा र विदेशमा समेत गएका कारण जनसंख्या जुन अनुपातमा बढ्दै जानुपर्ने हो सो हुन नसकेको पनि देखिन्छ ।
वंशावली (२०७३) अनुसार सातसय बगाले थापाको १२ पुस्तादेखि मल्ममा बसोबास गर्दै आएको देखिन्छ । यसमा अझै पनि पहिलो र दोस्रो पुस्ताका केही नामहरू पत्ता लगाउन नसकिए पनि बाँकी सबैको नामावलीसहितको वंशवृक्ष तयार भइसकेको छ । सातसय बगाले थापा जुम्ला, ताकम, ढोरलथान, पुलाचौर र ज्याम्रुककोट हुँदै मल्ममा आएर बसोबास गरेका हुन भन्ने जनश्रुति रहे पनि खास यो भूमिमा उनीहरू कहाँबाट आएर बसेका हुन्, त्यसको आधिकारिक प्रमाण जुटाउन सकिएको छैन । मल्मका थापालाई अहिले पनि सातसय थापा, हुलुवाली थापा, काजी थापा, जुम्ली थापा आदि नामले चिनिन्छ । थापाहरू यहाँ जहाँबाट आए पनि उनीहरुमा एउटा शासकीय गुण देखिन्छ । उहिलेदेखि हालसम्म पनि थापाले काजी, जिम्मावाल, मुखियाली, प्रधानपञ्च, वडाध्यक्ष आदि पदहरूमा रहेर मल्ममा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको इतिहास छ । आज पनि काजी खलक, मुखिया खलक, जिम्माल खलक, नयाँसाहु खलक आदि भनेर उनीहरूका शाखा सन्तानलाई चिनाउने चलन छँदैछ ।
सातसय थापा किन भनियो भन्ने सम्बन्धमा विभिन्न किंवदन्ती रहे पनि कुनै समयमा थापाहरूले सात सय तिरो उठाउने जिम्मा पाएको हुनाले यिनीहरूलाई सातसय थापा भनिएको हुनु पर्दछ । यी थापाका पूर्वजहरूले हुल, बगाल वा ठूलो समूहको नेतृत्वदायी भूमिका निर्वाह गरेको हुनाले नै यिनका सन्तान आज ‘हुलुवाली, बगाले, सातसय’ आदि विशेषणले चिनिएका हुन् । जुम्ली थापाको अर्थ पनि पश्चिम जुम्लाबाट आएर हो वा दुई भाइ जुम्ल्याह जन्मिएर हो अथवा कालु थापाका कान्छा छोरा जम्रिके (ज्यामरुककोटका) राजाका सन्तान भएर हो, यस सम्बन्धमा भने कुनै ठोस प्रमाण पाइँदैन । यससम्बन्धमा अझै थप अध्ययन गर्न बाँकी छ ।
जनश्रुति र बुढापाकाको भनाइमा जुम्ली (पाँचघरे र तीनघरे) र काजी खलक काका भतिज हुन् भनिन्छ । जुम्लीका बाबु दाजु र काजी खलकका इन्द्रमणि भाइ हुन् भन्ने जनविश्वास छ । नयाँ साहु खलक पाँचौ पुस्तामा जोडिएका नाति पुस्ता हुन् भनिन्छ । तर कुन संयोगबाट यी बन्धुहरू जोडिन आए भन्ने ठोस प्रमाणहरू पाइँदैनन् । भ्रातृत्वभाव र नाता सम्बन्धको साइनोले भने यी सबै बन्धुहरू एउटै बाजेका सन्तान हुन् भन्ने पुष्टी हुन्छ । यी सबै थापाको नाता सम्बन्ध (बाबु, छोरा, नाति, पनाति, खनाति) अद्यापि कायमै रहनु, जेठाको सन्तान चार पुस्ताअगाडि देखिनु र जुठोसुतकमा पनि पूर्ण नियम पालना गर्नुले मल्मका सबै थापाहरु एउटै पुर्र्खाका सन्तान हुन् भन्ने विस्वासिला प्रमाण हुन् । मल्मबाट बेपत्ता भएका र बसाइ सराइ गरी अन्यत्र गएका बन्धुहरुका विषयमा अझै अध्ययन गर्न बाँकी छ ।
४. सातसय बगाले थापाद्वारा सिद्धको थापना
सिद्ध आफैँमा निराकार रैथाने देवता हुन् । सिद्धप्रति थापाको अगाध विश्वास रहिआएको छ । मल्ममा कुल्यानथान र सिद्धका दुईवटा थान बगाले थापाले नै थापना गरेका हुन् भन्ने जनविश्वास रहिरहेको छ । अद्यापि कुलको पूजामा सिद्धलाई रोट चढाइन्छ भने सिद्धको पूजामा कुललाई आनोमानो उठाइन्छ । उहिलेदेखि सिद्धको थानमा वर्षको दुईपल्ट मङ्सिरमा उँभौली (बालीको) र जेठमा उँधौली (पानीको) पूजा गर्ने थिति बसालियो । यही थितिअनुसार अद्यापि सबै गाउँलेहरुले सामुहिक पूजा गर्ने परम्परा बस्यो । उहिलेदेखि नै बोको बलि चढाएर सिद्धको पूजा गर्ने र त्यही थानमा पकाएर खाने चलन चल्दै आएको छ । पुरानो मान्यताअनुसार मस्टो, सिद्ध, झाँक्री आदि रैथाने निराकार देवीदेवतालाई छानोमुनि साकार वा मूर्तरुप बनाएर राख्नु हुँदैन भन्ने मान्यता रहिरहेको बुझिन्छ । सोही मान्यता बमोजिम तलमाथि दुबै सिद्धको थानमा मूर्ति र मन्दिरको परिकल्पना गरिएको थिएन ।
माथि र तल दुबै स्थानमा सिद्धको थान वरिपरि सानो पर्खालले घेरिएको थियो । माथिको थानमा सिमसार भूमिको बीचमा खुला आकाश, रानी खिर्राे र जामुनको रुखमुनि अजङ्को अमूर्त कलाले परिपूर्ण शिला वा पत्थरसँगै सिद्धको थान थापना गरिएको थियो । तल गोलैंचारुख पनि खोलाको किनार, खुला आकाशमुनि पर्खालले घेरिएको गोलैंचाको रुखमुनि सिद्धको थान थियो । गोलैंचाको रुखसँगै आजभन्दा ५० वर्ष पहिलेसम्म अजङको सिमलको रुखमा प्रकृतिको कुचीकार मानिने गिद्धको निवाससमेत थियोे । यो रुख आफैँ ढल्यो वा ढालियो ज्ञात भएन । माथि सिद्धको थानमा रहेको रानी खिर्रो काटे बापत सिद्धका नाममा दण्ड तिर्नु परेको अनुभव दलबहादुर थापा (वर्ष ७५) बताउँछन् । यसको अर्थ केही समय पहिलेसम्म थानको रुख काट्नु हुँदैन भन्ने मान्यता थियो ।
दुःखको कुरा अहिले थानवरिपरिका रुखहरु फडानी गरिएको छ । अन्धानुसरणको नाममा तलमाथि दुबै सिद्धको नाममा मन्दिर निर्माण गरिएको छ । मूल सिद्धको थानलाई बाहिर ओझेलमा परिएको छ । मन्दिरभित्र मूर्ति राखिएको छ । प्राकृतिक संरचनालाई कृत्रिम बनाइएको छ । जामुनको रुख, रानीखिर्रो लगायतका पुरानो संरचना विनाश गरिएको छ । यसले वातावरणीय सन्तुलन, पारिस्थितिक प्रणाली (इकोसिस्टम), परम्परित आस्था र मौलिक पहिचानमा केकति ठेस पु¥याएको छ, यस विषयमा छलफल, बहस र लेखाजोखा हुनै बाँकी छ । प्राकृतिक वा मौलिक देवता बाहिर थानमा र कृत्रिम मूर्ति भित्र मन्दिरमा बनाइएको छ । यसले भविष्यमा अझै अन्योलता बढाउने देखिन्छ । थानको मौलिकतालाई मन्दिरले ओझेलमा पारेको छ । एउटै देवताका नाममा मन्दिरभित्र मूर्ति र बाहिर थानमा शिला वा पत्थर पुजिन थालिएको छ ।
५. बगाले थापाको कुलपूजा विधि
स्मरण रहोस् मस्टो पूजाको विधि र पद्धतिमा कतै पनि एकरुपता पाइदैन । एउटै गोत्रका बगाले थापाहरुको मस्टो पूजामा समेत एकरुपता पाइदैन । तान्त्रिक विधिपूर्वक गर्नुपर्ने मस्टोपूजामा ठाउँअनुसार अनुकूलन र रुपान्तरणसँगै शास्त्रीय वा वैदिक विधिपूर्वक मस्टोपूजा गर्न थालिएका उदहरणहरु पनि पाइन्छन् । बगाले थापाको कुलपरम्परामा एकरुपता नहुनुका कारणहरुमा भीमसेन थापा (वि.सं. १८९६) र माथवरसिंह थापा (वि.सं. १९०२) को हत्यापछि थापाहरु सत्ताच्युत मात्रै होइन, ज्युज्यान जोगाउन पनि भागभाग हुनु प¥यो । यसरी भागदौडका क्रममा थापाहरुले स्थानअनुसार कुल, इष्टदेवता, पूजाविधि र गोत्रसमेत त्याग्नु पर्ने परिस्थितिका कारणले गर्दा कुल वा मस्टो पूजामा एकरुपता कायम हुन नसकेको तर्क भीमबहादुर थापा (२०६३ : ३२) को छ । मस्टो वा कुलपूजा विधिका केही उदहरणहरु यसमा प्रस्तुत गरिएको छ ।
क. सातसय बगाले थापाका कुल र कुलपूजा विधि
खसहरुले मान्ने परम्परागत कुलदेवता वा कुलायनलाई मस्टो भनिन्छ । पुरानो मान्यताअनुसार मस्टो र बराहका लागि मूर्ति र मन्दिरको परिकल्पना हुँदैन्थ्यो । बगाले थापाको पुरानो प्रकृतिमैत्री कुल्यानथानमा ढुङ्गाको आढारलाई चारैतिरबाट पर्खालले घेरिएको थियो । त्यही पर्खालभित्रको भागलाई गौरा वा गवारो भनिन्थ्योे । पुरानो संरचनामा ओढारभित्र ढुङ्गाको थानमाथि तीनवटा शिला (अन्दाजी १० के.जी., एक के.जी. र दुई सय ग्रामका) परापूर्वकालदेखि पूर्खाले थापना गरेका थिए । गवारोभित्रै त्यसको करिब दस हात पर सानो बराहको थान बनाइएको थियो । त्यही ओढारमा प्रत्येक तीन वर्षको एकपल्ट मङ्सिर शुल्क अष्टमीको तिथिमा कुलपूजा गरिन्थ्यो । यही गौराभित्र अर्खालो, ढाल्ने कटुस, निगालो, बाँस, फलेदो, चिलाउनी, मल्लतो लगायतका ठुलासाना विभिन्न प्रजातिका रुखहरुको फेदमा विशुद्ध प्रकृति मैत्री मस्टोको थान बनाइएको थियो । तर २०५० सालपछि यसमा आमूल परिवर्तन आएको छ ।
परम्परित मान्यताअनुसार नै मल्ममा २०५० सालसम्म गौराभित्रको ओढारमा मस्टो वा कुलपूजा गरिन्थ्यो । ओढारभित्रै मस्टो र अन्य इष्टदेवताको प्रतीकका रुपमा सामान्य थान बनाएर छुट्टाछुट्टै लाम्चो आकारका शिलाहरु ठड्याएर राखिएका थिए । तिनीहरुमध्ये कुन शिला कुन देउदेवताको हो भन्ने उनै धामी र मूल पूजारीलाई मात्र थाहा हुन्थ्यो । गौराभित्रको थानको संरचनामा केही परिवर्तन गरेर २०५२ सालमा कुलको थानलाई मन्दिरको संरचना निर्माण गर्ने योजना बनाइयो । संयोगवश सोही वर्ष कुल्यानथानअगाडिबाट गाउँमा बस्ती नै विस्थापित हुने गरी जमिन धाँजा फाट्यो । थानवरिपरिको बस्ती नै विस्थापित भयो । उसै वर्ष गाउँमा कुल बेखुसी भएका कारण गाउँमा अनिष्ट भयो भन्ने गाइँगुइँ हल्ला पनि चल्यो तर यो विज्ञानको दुनियामा कसैले पत्याउने कुरै भएन । भौतिक संरचना निर्माणका कार्य अगाडि बढाइयो ।
दुर्गाबहादुर थापा (वर्ष ८१) को भनाइअनुसार सातसय बगाले थापाको कुल्यान थान अर्थात परम्परित ओढारको अगाडि वि.सं. २०२९ तिर एकपाखे ढुङ्गाको छानो हालियो । दोस्रोपल्ट वि.सं. २०४१ तिर त्यही ओढारको तीनतिरबाट तीनपाखे छानो हालियो । वि.सं. २०५२ मा पुरानो संरचनालाई भत्काएर रुखहरु ढाली नयाँ संरचनामा दुुई तले मन्दिर निर्माणको योजना बनाइयो । सोही योजनाअनुसार २०५३ सालमा परम्परित थानको सट्टामा आधुनिक मन्दिर निर्माण गरियो । वि.सं. २०५९ तिर मूल निशान घर छुट्टै निर्माण गरियो भने वि.सं. २०७१ मा पुरानो मन्दिरलाई समेत भत्काएर विभिन्न व्यक्तिको लगानीमा गणेश, विन्दवासिनी, सोमलिङ्ग, मस्टबराह र सिद्धका नाममा पाँचवटा आकर्षक मन्दिर बनाइयो । अब मस्टाको थान कुन हो भन्ने प्रश्न उब्जेको छ ।
वैयक्तिक लगानीमा गुमानसिंह थापाको परिवारबाट सोमालिङ्गको मन्दिर, काजी परिवारबाट मस्टबराहको मन्दिर, नयाँ साहु परिवारबाट सिद्धको मन्दिर, गैरखर्के परिवारबाट विन्दवासिनीको मन्दिर, खड्कबहादुर थापाको आर्थिक लगानीमा मन्दिरको प्रवेशद्वार र ज्ञानबहादुर थापाको लगानीमा पानीको धारा निर्माण कार्य सम्पन्न गरिएको थियो (स्वाभिमान वर्ष १५, अङ्क ५, २०७१ पृ. २३) । यी मन्दिर निर्माणले भौतिक आकर्षत त बढाएको छ तर मस्टोको मान्यता र वातावरणीय सन्तुलनमा प्रतिकूल असर पारेको देखिन्छ ।
पुरानो मान्यताअनुसार कुलपूजाको तीन दिन पहिलेदेखि गौरा बार्ने (ढाल्ने कटुसको स्याउलाले बाहिरबाट भित्र नदेखिने गरी चौघेरै पर्खाल छोप्ने) चलन थियो । आफ्ना कुल वा मस्टो र बलिमारको दृश्य अरुलाई देखाउनु हुँदैन भन्ने मान्यता थियो । चोखोनिष्ठ र कुलाचारमा रहेका बन्धुबाहेकलाई गौराभित्र प्रवेश गर्नु र गराउनु हुँदैन भन्ने मान्यता रहेको थियो । पछिल्लो समयमा परम्पराको क्रमभङ्गतासँगै बगाले थापाको कुल र कुल्यानथानमा व्यापक रुपान्तरण गरिएको छ । मन्दिरकै पद्धतिमा दैनिक पूजाआज गर्न थालिएको छ । मस्टोपूजाको तान्त्रिक विधिलाई बेवास्ता गरिएको छ ।
एउटा कुल्यानथानको गौराभित्र आज पाँचवटा मन्दिर निर्माण गरिएका छन् । यसको देखासिकी अन्य समुदायका मस्टो पुजकहरुले पनि गरिरहेको अनुभव केहरसिंह थापा बताउँछन् । यसले पर्यटकीय आकर्षण र अहम्बोधको प्रदर्शन त गर्ला तर परम्पराको निरन्तरता र प्रकृतिमैत्री थानको अस्तित्व गुमाएको छ । मन्दिरका देवीदेवताहरुले शास्त्रीय ब्राह्मण पुजारीको अपेक्षा गरिरहेका छन् भने मस्टो र बराहका थान, तान्त्रिक पूजाविधि, धामी र धामीको औचित्य ओझेलमा पर्दै गएको अवस्था छ । मस्टोको मूल थानमा सोमलिङ्गको मन्दिर, शिवको मूर्ति र मस्टको शिलालाई एकै ठाउँमा राखिएको छ ।
निराकार बराहको थानमा मस्टो र बराहलाई एउटै देवता मानी मस्टबराहको मन्दिर निर्माण गरेर मन्दिरभित्र बराह (सुँगुर) को मूर्ति प्रतिस्थापन गरिएको छ । यसर्थ थान र मन्दिर, मस्टो र बराह, कुलदेवता र इष्टदेवता, तान्त्रिक पूजाविधि र शास्त्रीय वा वैदिक पूजाविधिका विषयमा थप अन्योलता बढेको छ । यस विषयमा सम्बन्धित विशेषज्ञद्वारा थप अध्ययन र बहस चलाउनुपर्ने देखिन्छ ।
सातसय बगाले थापाको निशान घरदेखि करिब पाँच सय मिटरको दुरीमा कुल्यानथान रहेको छ । हरेक तीन वर्षमा यही निशान घरबाट दियो, कलश, तरबार, चमर, घण्टी, निमको बोको, थुमा, बाजागाजा, लिङ्ग र धजासहित थानको परिक्रमा गरेर कुलपूजा सम्पन्न गरिन्छ । राज थापा (वर्ष ५१) को भनाइअनुसार पञ्चमी तिथिमा सबै बन्धुहरुबाट तोरी उठाएर जेठाजु र बुहारीले तेल पेल्ने, शुद्ध तोरिको तेलले तीन दिनसम्म बत्ती बाल्ने र अष्टमी तिथिका दिन कुलदेवता बस्ने मूल घरको जेठो छोरो वा मूल पुरुषले दियो समात्ने, बुहारीले कलश समात्ने र अरुले अन्य सामग्री समातेर लावालस्करसित थान प्रवेश गरिन्छ । दुर्गाबहादुर थापा (वर्ष ८१) र खिमबहादुर थापा (वर्ष ७७) को भनाइअनुसार सातसय बगाले थापाको कुलपूजामा वि.सं. २०५० सम्म निमको बोको उल्टो र भेडाको साँढ सुल्टो काटिन्थ्यो तर २०५३ को कुलपूजादेखि यता निमको बोको र भेडाको साँढ दुबै सुल्टो काट्न थालिएको छ ।
बगाले थापाको कुलमन्दिरमा शास्त्रीय विधिपूर्वक ब्राह्मणद्वारा पुजिने देवता र धामीद्वारा तान्त्रिक विधिपूर्वक गरिने पूजाविधिमा सम्मिश्रण भएको छ । यसले कतै शास्त्रीय विधिमा त कतै तान्त्रिक विधिमा प्रभाव पारेको छ । आफ्नो मौलिकपन गुमाएको छ । मस्टोको प्रकृति, अस्तित्व र पूजाविधिमा सङ्कट निम्त्याइएको छ । आफ्ना पुर्खाको इतिहास, परम्परागत मूल्यमान्यता र कुलपूजा पद्धतिमा पनि व्यापक विचलन आएको छ । तसर्थ कुल र कुल्यानथानका विषयमा गहन अध्ययनका साथ परम्पराको निरन्तरता, पितृउद्धार, पूर्वजप्रतिको श्रद्धा, बन्धुत्व एकताको भावना, जैविक विविधता, वातावरणीय सन्तुलन, पारिस्थितिक प्रणालीमा अनुकूलन, मनोरञ्जन र पर्यटकीय आकर्षणको क्षेत्र विस्तारमा समेत विशेष ध्यान दिनुपर्नेे देखिन्छ । समग्र खसहरु र बगाले थापा बन्धुको मस्टोपूजा पद्धतिमा एकरुपता कायम गरी आप्mना पुर्खाको आस्था र मौलिकपनलाई निरन्तरता दिनुपर्ने देखिन्छ ।
ख. ताकमका बगाले थापाका कुल र कुलपूजा विधि
आत्रेय गोत्री बगाले थापाको आदि भूमि भनेर चिनिने ताकम र त्यहाँबाट अन्यत्र गएका थापाहरुको कुलपूजा विधिमा पनि एकरुपता पाइदैन । तमबहादुर थापा (वर्ष ७१) का अनुसार ताकममा हरेक तीन वर्षमा ज्यष्ठी पूर्णिमाका दिन सोमलिङ्गका नाममा धूपधजा र नैवेद्य, मस्टोबराहका नाममा साँढ, कालिका / कलङ्कीका नाममा बोको र भैरवका नाममा बोको बलि चढाइन्छ । बूढापाकाहरुको भनाइअनुसार मल्लहरुले थापाको राज्य खोसेको र पछि सम्झौता गरी थापाले पुज्दै आएका कलङ्कीलाई मल्लले पुज्ने र मल्लले पुजेका सोमलिङ्गलाई थापाले पुज्ने गरी कुल साटेका थिए रे । तर कालान्तरमा मल्लले थापाका कलङ्की पुज्न छोडेपछि थापा आपूmले पुज्दै आएका सोमलिङ्गलाई निरन्तररुपमा र २०४२ सालदेखि कलङ्कीसमेत दुबै कुलदेवता पुज्न थालेका हुन् भन्ने भनाइ रिमप्रकाश थापा (वर्ष ५३) को छ । कुल एउटै थानमा पुजेर पनि कसैको भनाइ सोमलिङ्गका नाममा बोको बलि चढाइन्छ भन्ने छ भने कसैको भनाइ सोमलिङ्गलाई नैवेद्य चढाइन्छ भन्ने छ । यसको अर्थ यहाँ पनि मस्टो पूजाको विधिका विषयमा एउटै र स्पष्ट धारणा पाइदैन ।
ताकममा परापूर्व कालदेखि खुला आकाशमुनि पुजिदै आएको मस्टोलाई वि.सं. २०४८ तिर मन्दिर बनाएर पुज्न थालियो तर मस्टोलाई मन्दिरमा पुजिदैन भन्ने बहस चलेपछि वि.सं. २०७१ देखि पुनः खुला आकाश, पैयुँ र टिमिलोका रुपमुनि कुलपुज्न थालेको अनुभव उनै रिमप्रकाश थापाले सुनाउँछन् । वास्तवमा मस्टोलाई मस्टोकै विधिपूर्वक त्यहाँ पनि पूजा नभएको अनुभव रिमप्रकाश थापा सुनाउँछन् । अद्यापि ताकममा तीन दिन अगावै थान सफा गर्ने, चोखो खाने, गौरा वा गवारा बार्ने, मूल धामीद्वारा झाँक बस्ने, शुभअशुभको भविष्यवाणी गर्ने आदि काम भने हुँदै आएको पाइन्छ ।
ग. लुकुमकोटका बगाले थापाका कुल र कुलपूजा विधि
सुनिल स्मृति गाउँपालिका गजुलकोट वडा नं. ६ मा बसोबास गर्ने आत्रेय गोत्री बगाले थापाको कुल्यानथान र कुलपूजा विधि अन्यत्रभन्दा केही फरक र आफ्नै मौलिक प्रकृतिको देखिन्छ । स्थानीय हिराबहादुर थापा (वर्ष ६४) को भनाइ र आप्mनै अवलोकन भ्रमण (२०७६) बाट प्राप्त अनुभवका आधारमा त्यहाँको मस्टो वा कुलपूजा विधि विशुद्ध तान्त्रिक र प्रकृतिमैत्री देखिन्छ । त्यहाँ करिब पाँच सय वर्ष पुरानो (वि.सं. १५०५ तिरको) ठूलो रैच (कटुसको जस्तै फल लाग्ने रुख) को बोटमुनि तीनवटा सामान्य ढुङ्गाका थानहरु छन् । त्यसको करिब ३० मिटर टाढा खुला आकाशमुनि निराकार अर्को एउटा ढुङ्गालाई बराहको प्रतीक वा थान मानिएको छ । त्यही रैचको बोटमुनि दुई वर्षमा एकपल्ट (एक वर्ष बिराएर) बोको बलि चढाएर मस्टोको पूजा हुन्छ भने साँढको बलि चढाएर बराहको पूजा हुन्छ ।
मङ्सिर महिनाको शुक्ल अष्टमी तिथिका दिन थानबाट भोँगर (बजाउने तामाको बाजा वा कर्नाल) निकालिन्छ र चतुर्दशीसम्म घरघरमा सरसफाइ, चोखोनिष्ठ, थानको सरसफाइ र स्याउलाले थानवरिपरि गौरा बार्ने काम हुन्छ । त्रयोदशीको बेलुका साँझमा ब्युघर (मूल घर) मा सबै बन्धुहरु र विशेषगरी धामीहरु जम्मा भएर घामीहरु झाँक बस्ने, तीनवटा पुजारी (जेठी, माइली र कान्छी) ले तीन ठाउँमा बत्ती बाल्ने, आआफ्ना पितृदेवता, मस्टो वा कुलदेवता र इष्ट देवतालाई बोलाउने, मस्टो चढेमा नयाँ धामीहरु उतार्ने, मूल धामी बकाएर आफ्ना पितपूर्खाहरु कहाँबाट केकसरी त्यो ठाउँमा आएका हुन् भन्न लगाउने, वैयक्तिक शुभअशुभका विषयमा भविष्यवाणी गर्ने/गराउने, आफ्नो मौखिक परम्परालाई सुन्ने र सुनाउने जस्ता कामहरु हुन्छन् । त्यो रात त्यही ब्युघरमा बसी भोलिपल्ट (चतुर्दशी) स्याबरै (सबेरै) घण्ट, दिप, कलस, निमको बोको, साँढसहित आआफ्ना भाकल, विवाह, पुत्बढाइ आदिका बोका, बाजगाजा र झाँकीसहित मस्टो थानमा प्रवेश गरिन्छ ।
रैचको फेँदमा रहेका तीनवटा थानमा उनै तीनवटा धामी (जेठी, माइली र कान्छी) ले तान्त्रिक विधिपूर्वक पूजा सकेपछि निमको बोको उत्तानो पारी धामीले सेरेको अभिनय गरेपछि काटिन्छ । त्यसपछि क्रमशः सबै बोकाहरु उत्तानो काटिन्छ । मस्टोको पूजा सकिएपछि मात्रै बराहको थानमा भेडाको साँढ बलि चढाइन्छ । हिराबहादुर थापाका अनुसार गजुलकोटका अन्य खसहरुले पनि यसरी नै मस्टो पूजा गर्दछन् । केही खसहरुले सेरेर बलि चढाउनु हुँदैन भन्ने बहस पनि चलाएका रहेछन् । त्यहाँको विशेषता भनेकै तान्त्रिक विधिपूर्वक मस्टोपूजा, प्रकृतिमैत्री मस्टोको थान र परम्परित मस्टोपूजाको निरन्तरता पाइनुका साथै मस्टो र बराह पूजाको मौलिकता पाइनु हो ।
समग्रमा भन्नुपर्दा थापाहरूको कुल पूजामा मामा पर्ने मस्टो वा कुलको नाममा एक बर्ने बोको र भान्जा पर्ने बराहलाई एक बर्ने भेडाको साँढ बलि चढाइन्छ । अन्य देवीदेवता र थानीमण्डलीका नाममा धुपधजा चढाइन्छ । पूजाको दिनमा मूल घरबाट निमको बोको, बाँसको लिङ्गो, धुपधजा, कलस, पूजासामग्री र बाजागाजासहित थानमा प्रस्तान गरिन्छ । सबैको साझा वा निमको बोको र भेडाको साँढ सामूहिक कुल (मस्टो र बराह) का नाममा बलि चढाइन्छ भने अन्य पुत्बढाइ, विवाह र भाकल स्वरुप प्रत्येक घरघरबाट कुलका नाममा बोका बलि चढाइन्छ । कुलको प्रसादी घरघरमा लगी आफन्तजनलाई निम्ता गरेर भोजभतेर हुन्छ । कुल पुज्ने विधि र परम्पराका विषयमा कुलको धामीेले पतुर्ने चलन हुन्छ । धामीकै निर्देशनमा तोकिएको तिथिमा पूजा सम्पन्न गरिन्छ । परम्पराको निरन्तरतासँगै अरुको देखासिकीबाट भएको रुपान्तरणले गर्दा समय, स्थान र अवस्थाअनुसार केही फरकफरक ढङ्गले मस्टो पुज्ने गरेको पनि देखिन्छ । वास्तवमा मस्टो पुजक खसहरुको कुलपूजा तान्त्रिक विधिपूर्वक धामीको निर्देशनअनुसार हुनु पर्दछ ।
घ. कश्यप गोत्रका गोदार थापाका कुल र कुलपूजा विधि
म्याग्दी जिल्लाको बेनी नगरपालिका वडा नं. एक रत्ने चौर निवासी कश्यप गोत्रका गोदार थापाहरूले बागलुङ नगरपालिका वडा नं. ५ मालिकाको पुछारमा मस्टो वा कुलपूजा गर्ने परम्परा रहेको छ । उनीहरू करिब ६ पुस्ता पहिले कसैले काठमाडौँतिरबाट त कसैले पश्चिम जुम्लातिरबाट रत्नेचौरमा आई बसोबास गर्न थालेका हुन् भनिन्छ । उनै थापाहरूले मालिका गाउँको पुछार ढोडेनी खोलाको किनारमा पर्ने सिस्ने धाराको पाखोमा रहेको ठूलो ढुङ्गो, चुचाइनो र खिर्राको बोटमुनि कुल्यान थान बनाइ हरेक पाँच वर्षमा ज्येष्ठी पूर्णिमाका दिनमा पूजा गर्न थालेका हुन् । केही समय नियमित पूजा हुनसकेन । नियमित तीनतीन वर्षमा कुलपूजा गर्ने गरी गएको ज्येष्ठी पूर्णिमा (२०८०) का दिन करिब ४० घरधुरीको संलग्नतामा धुमधामसँग पूजा सम्पन्न भयो ।
गोदार थापाका ज्येष्ठ सदस्य बलबहादुर थापा (वर्ष ८२) को भनाइमा पुरानो चलनअनुसार कुलपूजामा दुई दिन अघि आफ्ना बन्धुहरु मूल धामी वा ज्येष्ठ सदस्यको घरमा भेला भई कुलपूजासम्बन्धी छलफल हुँदो रहेछ । भेलामा धामीले कुलको शुभअशुभ, पूजाविधि, बोको पाइने दिशा, आफ्ना पुर्खाको आगमन, लोकाचार, कुलाचार, व्यक्ति विशेषको भविष्यवाणी आदि सबै बताउँथे रे । पूजाको अघिल्लो दिन एकछाके बस्ने, घरमूलीले कपाल खौरने, घर र कुल्यान थानमा सरसफाइ गर्ने, तोरी कुटेर तेल निचोर्ने, आफन्तजनलाई निमन्त्रणा गर्ने जस्ता काम हुँदा रहेछन् । कुजपूजाका दिन मूल धामी आफ्नै घरबाट घण्टी समाइ काँप्दै खट्टो लतारेर अघि लाग्छन् भने बन्धुमा पुरुष ज्येष्ठ सदस्यले दियो र महिला ज्येष्ठ सदस्यले हातमा कलश समाइ थानमा बाजागाजासहित जाने चलन रहेको छ । बन्धुहरु सबैको साझा वा निमको बोको बलि मस्टोका थानमा र साँढको बलि बराहको थानमा चढाइन्छ भने अन्य थानीमण्डलीका नाममा धूपधजा दिइँदो रहेछ । व्यक्तिगत भाकल, पुत्बढाइ र विवाहको भाग कुल वा मस्टोका थानमा बोको बलि चढाइन्छ ।
रत्नेचौरबासी गोदार थापाका कुलका विषयमा रमाइला सन्दर्भहरू जोडिएका छन् । बलबहादुर थापा (वर्ष ८२) भनाइअनुसार आजभन्दा करिब ४० वर्ष पहिले गोदार थापाका कुलधामी ठाइँला थापा थिए । उनमा अलौकिक शक्ति थियो । उनको मृत्यु भएपछि सामान्य कृषक त्यसमा पनि खुट्टो अपाङ्ग व्यक्ति जयबहादुर थापालाई एक्कासी कुल वा मस्टो उत्रिए । उनलाई कुल उत्रिएको विषयमा भाइबन्धुलाई त्यति विश्वास लागेन । उनको शक्ति परीक्षण गर्न आगोको भुङ्ग्रोमा राख्दा पनि उनलाई केही नभएपछि उनमा चढेको अलौकिक शक्तिप्रति सबैको विश्वास बढेर गयो । उनैले करिब ४० वर्षसम्म कुलको धामी कामसहित अन्य लामाको कामसमेत गर्दै आए । कुलको थाननेर बन्धुभित्रकै अर्को व्यक्तिले काँप्दै शिवको मूर्ति र त्रिशुल राख्न खोज्दा त्यो पनि त्यहाँ राख्न धामी वा कुल्यान मानेनन् र राख्न दिइएन । कुल्यान थानमा केवल खनिमको रुख, त्यसको फेदमा मस्टो र बराहको सामान्य थानमात्रै बनाइएको छ । त्यही खनिमको रुखमा निगालो प्रजातिको लिङ्गोमा राता र सेता चेतुवा धजा बाँधेर ठडाइएको छ ।
गोदार थापाको कुल्यान रहेकोे ठूलो ढुङ्गो, चुचाइनो र खिर्राको बोटमुनि रहेको थानमा बागलुङ बेनी सडकले माथिबाट कटान ग¥यो भने तलबाट पहिरोले सम्मो भाग बगायो । चुचाइनो र खिर्राको बोट पनि ढलेर गयो तर त्यही ठाउँमा खनिमको बोट हुर्किएको छ । अझै बाटो र पहिराको जोखिम उत्तिकै छ र थानवरिपरि साँघुरो भाग बाँकी छ । नयाँ संरचना निर्माणको विकल्प पनि छैन । यसको विकल्पमा रत्नेचौर आफ्नै बन्धुको बारीमा दस लाख खर्च गरेर आधुनिक भव्य र सुन्दर मन्दिर बनाइयो । तर धामी जयबहादुरले अनेक प्रयास गर्दा पनि झाँकमा कुल्यान सर्न मानेनन् । आफू बसिरहेको ठाउँ छोड्न कुलले नमानेपछि नयाँ भवनमा पूजा सामग्री राख्ने र भेलाबैठकमा उपयोग गरिएको छ । कुल उत्रिएका धामी जयबहादुर थापा (वर्ष ७६) को करिब एक दशक अगाडि मृत्यु भयो । उनको मृत्युसँगै कुल्यानथान पनि बाटोमै अलपत्र अवस्थामा छ । पुरानो कुल्यानथान साँघुरो र उही पहिरोको जोखिम युक्त ठाउँमै रहेको छ । यो परिघटनाले कुलले आफ्नो थान छोड्न मान्दैनन् र भव्य महलको सान खोज्दैनन् भन्ने सङ्केत गर्दछ ।
धामी जयबहादुरको मृत्यु भइसकेपछि पनि अन्यत्रबाट नयाँ धामी बोलाएर कुललाई नयाँ मन्दिरमा सार्ने प्रयास गरियो तर कुल उक्त ठाउँबाट नयाँ सुविधासम्पन्न भवनमा सर्न मानेनन् । कुल सर्न नमानेपछि गएको ज्येष्ठी पूर्णिमा (२०८०) का दिन उही पुरानो ठाउँमा कुल पूजा सम्पन्न भएको रहेछ । बूढापाकाहरूको भनाइमा कुनै पनि कुल, झाँक्री, माई वा देवीको थानका निम्ति ठूलो ढुङ्गो वा पहराको कोप्चो, कुनै दुध आउने (खिर्रो, गोलैँचा, खन्युँ, दुदिलो, रहचन, पेँपे) वा फललाग्ने बोट (चुनाइनो, कटुस, ओखर, जामुन, तिजु), सयौँ वर्ष टिक्ने साल, सिसौ, वरपिपल, टुनी जस्ता ठूला रुखमुनि खुला आकाशमा कुल्यानथान उपयुक्त हुन्छ भन्ने परम्परागत मान्यता रहेको छ । यी विशेषताहरू गोदार थापाका कुलथानमा अद्यापि देख्न पाइन्छ । प्रायः औलतर्फ खिर्रो, गलैँची, खन्युँ आदि दुधालु रुखहरू र लेकतर्फका थानमा दुदिलो, रहचन, खर्से, पेँपे जस्ता दुधालु प्रजातिका रुखहरू मस्टो, झाँक्री र भुमेथानहरूमा भेट्टिन्छन् ।
आधुनिक सभ्यताको विकाससँगै बाटो बिस्तार, दैवी प्रकोप, देखासिकी, भौतिक सुविधा र विलासितासँगै मन्दिरसँग पनि थानले मुकाबिला गरिरहनु परेको छ । यी र यस्तै स्थानहरूमा मन्दिर निर्माण भइरहेका छन् । खुला आकाशमुनि रमाउने मस्टो, बराह र भुमे मन्दिरभित्र थुनिनु परेको छ । यससम्बन्धमा बुढापाकाहरूको भनाइलाई उद्धृत गर्दा ‘‘निराकार वायुशक्ति वा मस्टोलाई साकार रुप दिंदा मूर्तिपरम्परा भित्रियो । मूर्तिको संरक्षण गर्न मन्दिरको आवश्यकता भयो” । यसरी परम्परित अन्धविश्वासका नाममा आफ्नो मौलिकपन वा परम्परा हराउँदै छ भने आधुनिकता र अनुकूलनका नाममा कृत्रिम अन्धानुसरण बढिरहेको छ ।
ङ. मस्टोसँगै बराह पुज्ने परम्परा
थापाहरू लगायत सबै खस वा मस्टो पुजकहरूका इस्ट देवता बराह हुन् । बराह रैथाने निराकार अदृश्य शक्तिहरू मध्येका एक हुन् । प्रायः खसहरूको कुलपूजामा सँगै बराहका नाममा धुप, धजा, साँढको बलि चढाउने गर्दछन् । मस्टो खसका कुल र बराह मगरका कुल हुन् भन्ने जनविश्वास पनि रहेको छ । मस्टोका थानहरू प्रायः जङ्गल वा पाखो, फल वा पूmलको रुखमुनि र ओढार वा पहाडको चुचुरोमा पाइन्छन् भने बराहका थानहरू प्रायः पानीको मुहान, तलाउ वा सिमसार क्षेत्रमा रहेको देखिन्छ । तसर्थ बराहलाई जलदेवता पनि भनिन्छ । प्रायः बराहथानमा मगरपुजारी रहेको, तलाउको बिच वा कुनामा विशेष प्रजातिको रुख र उभौली वा उधौलीको पर्व विशेषमा भेडाको साँढले पूजा गर्नेे चलन रहेको देखिन्छ । बराहको पूजा रुखमुनि गरिने हुनाले बराहलाई पनि मस्टोलाई जस्तै छानो र मन्दिरको आवश्यकता पर्दैन भन्ने परम्परित मान्यता रहेको देखिन्छ ।
खसहरूले मस्टो र बराहलाईसँगै राखेर मामाको प्रतीकका रुपमा मस्टोलाई बोको र भान्जाको प्रतीकका रुपमा बराहलाई साँढले बलि दिने चलन हुन्छ । बराहका सम्बन्धमा पनि अनेकौं किंवदन्तीहरू पाइन्छन् । १८ भाइ मस्टोकी एउटी बहिनी मन्डाल्नी र उनैका १२ भाइ छोरा वा मस्टोका भान्जाहरूलाई बराह भनियो र मन्डाल्नीका नौ बहिनी छोरीलाई बजु वा देवी भनिएको हो भन्ने किंवदन्ती पनि सुन्न पाइन्छ । बराहलाई कतै मस्टोको सहयोगी पनि भनिन्छ । कतिपय कुल्यानथान र कोटथानहरूमा मस्टोको हतियार (खड्ग) का नाममा बोको र बराहको हतियार आलम (रचनको लौरो) का नाममा साँढ पूजा गर्ने चलन पनि हुन्छ (तमबहादुर थापा, वर्ष ७१) । गलकोटको ठुल्कोटमा पनि माईका नाममा सुँगुर, मस्टो वा खड्गाका नाममा बोको र बराहका नाममा साँढ बलि चढाउने परम्परा छ ।
बराहको निवास वा शक्तिपीठलाई पनि थान भनिन्छ । नेपाली समाजमा बराहथान र बराहताल नाम गरेका स्थानहरू छ्यापछ्याप्ती पाइन्छन् । म्याग्दीका अधिकांश तालहरूसँग बराहको नाम जोडिएको पाइन्छ । यिनीहरू मध्ये पनि गुर्जाबराह, नागीबराह, निस्कोट बराह, खयरबराह, रिगात्बराह आदि पानीको तालसँग नाम जोडिएका बराहथानहरू हुन् । यी सबै बराहको उत्तिकै धार्मिक तथा पर्यटकीय महत्त्व रहेको छ । यी बराहथानहरू पनि क्रमशः बराहमन्दिरमा परिणत हुँदैछन् ।
गुर्जाखानीमा रहेको गुर्जाबराहको एउटा स्मरणीय घटना तमबहादुर थापा (वर्ष ७१) सुनाउँछन् । वि.सं. २०४० तिर तमबहादुरसँग तीनजना व्यक्ति ताकमबाट गुर्जाखानीतर्फ काम विशेषले जाँदै रहेछन् । भाद्र महिनाको अन्तिमतिर बिच बाटोमा एकजना खाली खुट्टामा अद्र्ध अङ्ग छोपिएको गेरुवस्त्रधारी वृद्ध ऋषिसँग भेट भएछ । चार घण्टाको सँगसँगै बाटो हिंडेपछि बेलुका ती ऋषि गुर्जाबराहको थानतिर लागेछन् र अन्य तीनजना गाउँतिर लागेछन् । बेलुका ठूलो पानी परेछ । भोलिपल्ट गाउँमा सोधीखोजी गर्दा ती ऋषि कहाँ बसे, कता गए केही पत्ता लागेन ।
बिहान गाउँमा बुढापाकाले माथि लेकतिरबाट भेडा, बाख्रा, कुकुर, खच्चड र घोडासँगै बराह झरे भन्दै आँखा तानीतानी हेर्न थालेछन् । तमबहादुरले हेर्दा माथिबाट हुस्सु वा कुहिरोको मुस्लोसँगै कुहिरोमा चित्रहरू अमूर्त मात्रै देखिन्थे । दुई दिनपछि गाउँलेहरूले त्यसरी नै लौ बराह गए भन्दै हेर्न थाले । बराह आउँदा भरिएको तलाउ बराह फर्किदा सुकेको देखेपछि तमबहादुरलाई बराहप्रतिको विश्वास बढेर गएको अनुभव उनी सुनाउँछन् । अहिले पनि भेडासहित बराह तल झर्दा बराहथानको तालमा पानी भरिभराउ हुन्छ र बराह माथि लाग्दा तलाउ सुक्छ भन्ने विश्वास कायमै छ ।
गुर्जाका वडा अध्यक्ष जगबहादुर छन्त्याल (वर्ष ५०) को अनुभवमा पनि असार वा श्रावणमा बराह थानमा मूल फुट्ने र आश्विन पहिलो हप्ताको मङ्गलवार बराह पूजा (साँढको बलि) गरेपछि तलाउ सुक्ने गर्दछ । गाउँलेको भनाइअनुसार पनि गुर्जाबराहको थानमाथिबाट नव आगन्तुक, घोडा/खच्चड हिंड्न/हिडाउन हुँदैन, नयाँ बाली बराहलाई नचढाइ खानु हुँदैन र असोजमा पानी परे अशुभ हुन्छ भन्ने जनविश्वास अद्यापि कायमै छ (बानियाँ, २०७५ : ३०५) । गाउँलेहरूको भनाइ नसुनी बराहथानमाथिबाट घोडा हिंडाल्दा अञ्चलाधीश ऋतुवर्ण तुम्बहाम्फेको घोडा ठाउँकोठाउँ मरेको अनुभव उनै जगबहादुरले सुनाउँछन् । यी केही रहस्यमय कुराहरू थप अनुसन्धेय विषय हुन् ।
म्याग्दीको मङ्गलेखानी गाउँमा दहखर्क बराह, ठुलीधुरी बराह, श्रीखर्क बराह, रिगात बराह, काली बराह र पाताल्नी बराह गरी छवटा बराह ताल छन् (बानियाँ, २०७५ : ४०१) । दाङको बाह्रकुनेमा रहेको बराहतालसँग पनि यस्तै मिल्दाजुल्दा अनेक किंवदन्तिहरू जोडिएका छन् । बराहथानसँग जोडिएका र भेटिएका उदाहरणहरूमा जहाँ बराहको थान हुन्छ, त्यहाँ पानीको दह, कुण्डा वा सिमसार क्षेत्र भएकै हुन्छ । यसले थलका देवता मस्टो र जलका देवता बराह हुन कि भन्ने अनुमान गर्नसकिन्छ । यिनै जलका देवतालाई खसहरू मस्टोका इष्टदेव मान्दछन् ।
बागलुङको ढोरपाटन स्थित ढोर–बराहथान एक प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल हो । बागलुङका प्रायः जनजाति भएको गाउँमा बराहथान बढी प्रचलनमा रहेको र मगर पुजारीले पूजा गर्ने गरेको देखिन्छ । गलकोटको झुले, हुग्दीशिरको बराहकोट (बाह्रकोट), गाजाको दह स्थित बराहदह (बराहताल), भकुण्डेको सिद्धबराह (बराहताल) आदि बराहथानका केही उदाहरण हुन् । यी बराहथानहरू मगर समूदायभित्रै रहेर पनि आफ्नो मौलिकपन गुमाउँदै कङ्क्रिटको मन्दिरभित्र मूर्तिकरण गर्दै मगर पुजारीका सट्टामा बाह्मण पुजारीद्वारा शास्त्रीयविधिपूर्वक मन्दिरमा पूजाआज गर्दैआएको पनि पाइन्छ ।
गाजा दहपानीको २४८० मिटर उचाइमा सिद्धबराहको थान छ । यस थानमा परापूर्वकालदेखि उँधौली र उँभौलीको अवसरमा वर्षको दुई पल्ट साँढको बलि चढाइन्छ । उँभौली वैशाख वा जेठ शुक्लपक्षको शनिवार र उँधौली पनि मङ्सिर शुक्लपक्षको कुनै शनिवारको दिन पारेर भेडाको साँढले बलि दिइन्छ । पुरानो मान्यताअनुसार बराहलाई बलि चढाएको प्रसाद गर्भिणी र रजश्वला भएकी महिलाले खानुहुँदैन भन्ने चलन पनि छ (गोपालबहादुर छन्त्याल, वर्ष ५०) । प्राकृतिक सौन्दर्यले भरिपूर्ण दहको बराहतालमा तिहारपछिको वैकुण्ठ चतुर्दशीका दिनमा ठूलो मेला लाग्ने गर्दछ । प्रायः मङ्गलवारका दिन भाकल गर्ने, वरखी बार्ने र व्यक्तिगत पूजा गर्नेहरूको भिड लाग्छ । यो दहसँग जोडिएका किंवदन्तीहरूमा बिहान निस्किने पानीहाँस कहाँ बस्छन् कसैलाई थाहा हुँदैन, दहको पानी चराले सफा गर्दछन्, दहपानीमा डुबेको राँगो जैमिनी पुलती खेतमा निस्कियो रे, दहपानीको खर्सुको पात तल भकुण्डेको दहमा निस्किन्छ आदि कथाहरू स्थानीयबाट सुन्न पाइन्छ (नरबहादुर थापा, वर्ष ७२) । बराहथानको उचित मानमनितो भएन भने अनिष्ट हुन्छ भन्ने जनविश्वास कायमै छ ।
बागलुङ नगरपालिकाभित्र भकुण्डेमा रहेको बराहथान धार्मिक तथा पर्यटकीय आकर्षणको केन्द्र हो । करिब सात रोपनी क्षेत्रफलमा फैलिएको तलाउको बिचमा बैंसको रुखहरू र किनारमा अन्य प्रजातिका झुप्प रुखहरू उम्रिएका छन् । यिनै रुखको फेदमा झाँक्री र अन्य थानीमण्डलीका थानहरू रहेका छन् भने तलाउको किनारमा रहेको सिद्धबराहको थानलाई करिब १० वर्ष अघि आधुनिक कङ्क्रिटको मन्दिर बनाएर बराहको आकृतिमा मूर्ति (सुँगुरको) स्थापना गरिएको छ (डिल्लीप्रसाद शर्मा, वर्ष ६०) । तर यहाँ सुँगुरको बलि भने चढाइन्न । यही मन्दिरमा बराहका नाममा वर्षको दुईपल्ट ज्येष्ठी पूर्णिमा र बर्खे दसैको कोजाग्रत पूर्णिमाका दिनमा भेडाको साँढ बलि चढाइन्छ । बराहसँगै अन्य थानीमण्डलीको पनि पूजा हुन्छ । बराहमन्दिरमा कार्तिक पूर्णिमाका दिन बलिमार हुँदैन । श्रावण र माघबाहेकका महिनामा प्रायः पञ्चमी, दशमी र पूर्णिमाको तिथि पारेर व्यक्तिगत भाकलको साँढ पूजा गरिन्छ । बराहको थानलाई मन्दिरमा परिणत गरेपछि यहाँ शास्त्रीय र प्राकृतिक दुबै पद्धतिलाई अङ्गालेर बराहको पूजा हुन्छ ।
यसरी बराहप्रतिको आस्था र लोकविश्वास कायम रहँदा रहँदै पनि बराहको थानमा हुने प्रकृति पूजामा अनुकूलनसँगै मन्दिरभित्रको शास्त्रीय पूजापद्धतिमा पनि रुपान्तरण आएको छ । अन्यत्र जस्तै बराहसँग जोडिएका प्राकृतिक र अलौकिक सन्दर्भहरू यहाँ लोप भई शास्त्रीय र पौराणिक सन्दर्भहरू जोडिएका कथाहरू सुन्न पाइन्छ । बराहका प्रकार, सन्दर्भहरू, रहस्यमय घटनाहरू, पूजाविधि र अनुकूलन तथा रुपान्तरण ठाउँअनुसार फरकफरक प्रकृतिका पाइन्छन् । बराहका थानहरू संरक्षण र थप अनुसन्धानको पर्खाइमा रहेका छन् । मस्टो र बराह आफैँमा न्योन्याश्रित सम्बन्ध भएका देवता हुन् । तर खसहरूको मस्टो पूजा वा कुलपूजामा बराहलाई किन साँढको बलि चढाइन्छ भन्ने विषयमा गहन अध्ययनको आवश्यकता देखिन्छ ।
६. निष्कर्ष
बगाले थापा र अन्य मस्टोपुजकहरुका आधुनिक देवीदेवता र मन्दिरहरू प्रारम्भिक अवस्थामा उनै थानीमण्डली र रैथाने थानहरूबाट विकसित भएका हुन् । यहाँका रैथाने अदृश्य निराकार दैवी शक्तिका प्रतीक भनेकै मस्टो वा कुल, बराह, माई, झाँक्री, खड्ग, कालिका आदि हुन् । यिनीहरूको स्थायी निवास मन्दिर नभई थान हुन् । यिनै रैथाने थानहरूलाई कालान्तरमा माडौँ, मण्डप, कोटथान, मन्दिर आदि नामले चिनियो । इष्टदेवताका रुपमा पुजिदै आएका नव आगन्तुक देवीदेवताका मन्दिरहरू पनि निर्माण हुँदै गए । देवीदेवता उनै वा नयाँ जुन भए पनि थान र मन्दिरको प्रकृति र पूजापद्धतिमा भिन्नता देखिन थाल्यो । अधिकांश थानहरूमा निराकार देवीदेवताको निवास हुन्थ्यो । निराकार देवीदेवताको थान खुला आकाशमुनि कुनै दुधालु वा फूल फुल्ने बोट, फल लाग्ने बोट, सयौं वर्ष टिक्ने रुख वा पानीको मुहान अनिवार्य हुनुपर्दछ भन्ने मान्यता रहेको थियो । उनै थानहरूलाई आज साकार देवीदेवताको मूर्ति, रड, सिमेन्ट र कङ्क्रिटको मन्दिरमा रुपान्तरण गरिएको छ । थानको तुलनामा मन्दिरप्रतिको आकर्षण पनि बढिरहेको छ ।
मस्टो आफैँमा निराकार, निरञ्जन र खुला आकाशमुनि बस्ने खसहरुका अधिष्ठाता वा मूल देवता हुन् । कतिपय स्थानमा पितृदेवता वा मस्टोका नाममा चढाउँदै आएको बलिलाई बलि नै नचढ्ने इष्टदेवताका नाममा बलि चढाइएको पनि देखिन्छ । मस्टो पुजकहरुका लागि बराह इष्टदेवता हुन् तर व्यवहारमा दुबैलाई एउटै सम्झिएर मस्टबराह भनी एउटै देवताका नाममा साँढ बलि चढाएको पनि पाइन्छ । मस्टो, बराह र शास्त्रीय वा इष्ट देवीदेवताका विषयमा थप बहस र छलफल चलाउनुपर्ने देखिन्छ ।
थानहरू वातावरण मैत्री, प्रकृतिपरक, जैविक विविधता र एकताका प्रतीक मानिन्छन् । थानहरू रैथाने सीप, साधन र स्रोतमा आधारित हुन्छन् । थानका तुलनामा मन्दिरहरू कृत्रिम, आडम्बरी र सौन्दर्यमैत्री देखिन्छन् । प्रारम्भिक अवस्थामा थानका उपासुहरूमा तान्त्रिक र प्राकृतिक विद्या (रैथाने ज्ञान) को अनिवार्यता थियो भने मन्दिरको पूजारुमा शास्त्रीय अध्ययनको आवश्यकता पर्ने भयो । तान्त्रिक विद्याले निरन्तरता पाउन सकेन । थान र थानिय देवीदेवताको मौलिकता पनि हराउँदै गयो । शास्त्रीय विद्याप्रतिको आकर्षण बढ्यो । मन्दिरको सान र अकर्षण पनि बढ्दै गयो । कतिपय स्थानमा हजारौं वर्ष पुराना थानहरु धमाधम भत्काएर र सयौं वर्ष पुराना रुखहरू ढालेर वा ढलेका स्थानमा मन्दिर निर्माण भएका उदाहरणहरू पनि भेटियो ।
बगाले थापाको कुल र कुल्यानथानलाई बसाइँ सराइ, तीव्र सहरीकरण, बहुसांस्कृतिक सम्मिश्रण, वैदेशिक रोजगारी र पश्चिमा शिक्षाप्रतिको आकर्षणले प्रत्यक्ष वा परोक्ष रुपमा प्रभाव पारेको कुरा सुन्न, बुझ्न र देख्न पाइन्छ । अधिकांश कुल्यान थानहरू र पूजापद्धतिसँग परम्पराको निरन्तरता, स्वनिर्भरता, मौलिक पहिचान, वातावरणीय सन्तुलन र नयाँ पुस्ताको आकर्षणमा कमी हुँदै गएको पाइन्छ । नवनिर्माण वा विकासका नाममा क्षयीकरण हुँदै आएका यी र यस्तै प्राकृतिक महत्त्व बोकेका थानहरू र यिनीहरूको मानमानितो जोगाइ राख्नु हामी सबैको साझा जिम्मेवारी हो ।
कुलको मुख्य व्यक्ति भनेकै धामी हो । धामी परम्परा हराउँदै गएकोे छ । मस्टो र मस्टोका थानहरूको मौलिकपन, पूजाविधि, परम्परागत आकर्षण, प्राकृतिक गुण र रैथाने मानमनितो पनि हराउँदै गएको छ । परम्परित थानहरू आधुनिक मन्दिरमा अनुकूलन र रुपान्तरण हुँदै गएका छन् । प्राकृतिक वा सक्कली कुल वा मस्टो र थानीमण्डलीहरूको महत्त्व आपूmले बुझेर नयाँ पुस्तालाई बुझाउन सक्ने हो भने यसबाट परम्पराको निरन्तरता, पितृउद्धार, पूर्वजप्रतिको श्रद्धा, जैविक विविधता, पारिस्थितिक प्रणालीमा सन्तुलन, मनोरञ्जन र पर्यटकीय आकर्षणको क्षेत्र विस्तारमा समेत उपयोगी हुने देखिन्छ । शास्त्रीय देवीदेवता, मठमन्दिर र पूजाविधिको यथोचित सम्मान गर्दै पुख्र्यौली थानको महत्त्व, रैथाने सम्पदा, आस्था र विश्वासलाई हस्तान्तरण, पुस्तान्तरण र निरन्तरता दिनु हामी सबैको साझा कर्तव्य हो ।
सन्दर्भ सामग्रीसूची
खत्री, प्रेमकुमार (२०५८), नेपालका धार्मिक मत र सामाजिक संरचना, काठमाडौँ : एक के. पब्लिशर्स एण्ड डिष्ट्रब्युरन ।
खडका, बिदुर (२०६५), बागलुङका पुवार खडका, बागलुङ : सुगंगा प्रकाशन ।
गुरुङ, जगमान (२०७६), ‘‘खश जाति र मष्टो परम्पराबारे जानकारी” www.samajkoawaj.com (2080\04\20) ।
थापा, दिनबहादुर (२०७३), बगाले थापाको वंश: विगतदेखि वर्तमानसम्म, मल्म : सातसय बगाले थापा समाज ।
थापा, दिनबहादुर (२०७९), ‘‘धवलागिरिको साहित्यिक इतिहाससँग जोडिएका सन्दर्भहरु”, प्रज्ञा–सारथि, बागलुङ : त्रि.वि.प्राध्यापक संघ, एकाइ समिति धवलागिरि बहुमुखी क्याम्पस, वर्ष २२, अङ्क २१, पृ. ७–१८ ।
थापा, भीमबहादुर (२०६३), बगाले थापा क्षत्रीको वंशावली, गुल्मी: बगाले थापा क्षत्री समाज ।
देवकोटा, रत्नाकर (२०६४), बृहत् जुम्ला राज्यको ऐतिहासिक विवेचना, काठमाडौँ : कुमार खड्ग प्राइभेट स्टडिज
पोखरेल, माधवप्रसाद (२०७६), ‘‘मस्टो हाम्रो कुलदेवता” https://jhannaya.nayapatrikadaily.com/news-details/652/2019 (2080\7\15)
बानियाँ, कर्णबहादुर (२०७५), म्याग्दीको इतिहास, संस्कृति र सम्पदा, भरतपुर : विष्णुदेवी बानियाँ ।
बानियाँ, चन्द्रप्रकाश (२०६२), ऐतिहासिक पर्वत राज्य, म्याग्दी: म्याग्दी पुस्तकालय ।
मल्ल, मोहनबहादुर (२०२८), ”पर्वतको इतिहास”, प्राचीन नेपाल, काठमाडौँ : पुरातत्व विभागको मुखपत्र पृ. ४२–५३) ।
शर्मा, गोपीनाथ (२०७१), चौबीसी राज्यको इतिहास: शिक्षा, कला र संस्कृति, काठमाडौँ : मकालु प्रकाशन ।
शर्मा, विष्णुप्रसाद (२०७०), ‘‘दर्शनीय ऐतिहासिक स्थल, कारीकोट बारे केही कुरा”, प्रज्ञा–सारथि, स्वर्ण महोत्सव विशेषाङ्क, बागलुङ : त्रि.वि. प्राध्यापक संघ, एकाइ समिति धवलागिरि बहुमुखी क्याम्पस, पृ. ७–१८ ।
सातसय बगाले थापा समाज (२०७१), स्वाभिमान, वर्ष १५, अङ्क ५, २०७१ पृ.२३ ।
सम्पर्क र संवाद
केहरसिंह थापा, वर्ष ५५, गलकोट नगरपालिका, वडा नं. ७, मल्म ।
खिमबहादुर थापा, वर्ष ७७, गलकोट नगरपालिका, वडा नं. ७, मल्म ।
गोपालबहादुर छन्त्याल वर्ष ५०, जैमिनी नगरपालिका वडा नं. ३, दहपानी दमेक, बागलुङ ।
जगबहादुर छन्त्याल, वर्ष ५०, धवलागिरि गाउँपालिका, वडा नं. ७ गुर्जा, म्याग्दी ।
डल्लीप्रसाद शर्मा, वर्ष ६०, बागलुङ नगरपालिका, वडा नं. १०, भकुण्डे, बागलुङ ।
तमबहादुर थापा, वर्ष ७१, धवलागिरि गाउँपालिका, वडा नं. ७, ताकम, म्याग्दी ।
दुर्गाबहादुर थापा, वर्ष ८१, गलकोट नगरपालिका, वडा नं. ७, मल्म ।
नरबहादुर थापा, वर्ष ७२, बागलुङ नगरपालिका, वडा नं. १०, भकुण्डे, बागलुङ
बलबहादुर थापा, वर्ष ८२, बेनी नगरपालिका, वडा नं. १, रत्नेचौर, म्याग्दी ।
मदनप्रसाद पाण्डेय, वर्ष ७८, बागलुङ नगरपालिका, वडा नं. २, लुङ्गाउँ, बागलुङ ।
राजबहादुर थापा, वर्ष ५१, गलकोट नगरपालिका, वडा नं. ७, मल्म ।
रिमप्रकाश थापा, वर्ष ५३, धवलागिरि गाउँपालिका, वडा नं. ७, ताकम, म्याग्दी ।
हिराबहादुर थापा, वर्ष ६४, सुनिलस्मृति गाउँपालिका, वडा नं. ६, गजुलकोट, रोल्पा ।
(सातसय बगाले थापा समाज, गलकोट-७, मल्म, बागलुुङले प्रकाशन गरेको स्वभिमान, वर्ष २५, रजत विशेषाङ्क (२०८०) मा प्रकाशित लेख )