जेन जीलाई चिठी

जेन जीलाई चिठी

प्रिय जेन जी, हार्दिक बधाई !

शुभकामना र दिवङ्गत सहिदप्रति श्रद्धाञ्जलि ! !

प्रा.डा. दिनबहादुर थापा

भाद्र २३ र २४ को दुर्घटनाले मेरो मुटु छियाछिया भयो, हृदय भतभती पोल्यो । ती निरपराध १९ किशोरकिशोरीको कन्चेटमा लागेको गोली र सिंह दरबारमा दनदनी बोलेको आगो देखेर कसको पो मुटु छियाछिया भएन होला ? हृदय भतभती पोलेन होला ? नहुनु थियो भयो । अब के होला ? परिणाम के आउला र यसको जिम्मेवारी कसले लिनुपर्ला भन्ने प्रश्नको उत्तर आउनै बाँकी छ । तिम्रै  शरणमा परेर देश बचाऊ जेन जी भन्नुबाहेक अरु के पो रह्यो र ? उमेरले तीन बीसमा लाग्दै गर्दा जीवनभर इतिहास पढियो मात्र बनाउन सकिएन । अब इतिहास बनाउने पालो तिम्रो हो ।

जेन जी तिमीभन्दा अघि पनि जेन साइलेन्ट, बेबी बूमर्स, जेन एक्स र जेन वाईले पनि देशकै सेवा गरेका हुन् तर परिणाम आएन । नेतृत्व त गरे तर क्षमता देखाउन सकेनन् । तिमीपछि पनि जेन अल्फा र जेन बेटा आइरहेका छन् । इतिहास पढेर इतिहास बनाऊ जेन जी । शुभकामना छ  ! तिम्रो इतिहास जेन बेटाले लेख्ने छ ।

जेन जी को ? र के  रहेछ ? भन्ने विषय खोज्दै जाँदा त भर्भराउँदो आगोको ज्वाला जस्तै नयाँ उदीयमान भर्खर १३–२८ वर्षको युवापुस्ता पो रहेछ । इतिहास खोतल्दै जाँदा यस्ता पुस्ताहरु त धेरै पो गइरहेका छन्, आइरहेका छन् । मेरा हजुरबा, बा, म आफैँ, मेरो छोरो, मेरो नाति र मेरी पनातिनी पुस्ता गन्दै आउँदा जेन जी त मेरो नाति पुस्ता पर्दो रहेछ । मेरा हजुरबा साइलेन्ट जेन (जेनेरेसन) ले राणा सरकार बेहोरे, बोल्न पाएनन्, अनुशासित भएर साइलेन्ट बसे, विश्वयुद्ध लडे र आर्थिक मन्दीको अभाव भोगेर गए । मेरा बा बेबी बूमर्स (बुढो पुस्ता) ले पनि सामाजिक र आर्थिक असमानताको आन्दोलन उठाए, जातीय, वर्गीय, लैङ्गिक जस्ता सामाजिक विभेदका नारा घन्काए, जेलनेल भोगे, देशमा सङ्घीयता, गणतन्त्र र धर्मनिरपेक्षता पनि ल्याए तर व्यवहारमा आपूm परिवर्तन भएनन् । बाँचुन्जेल आफैँ नेतृत्व लिनुपर्ने, बा विरुद्ध कोही बोल्न नपाइने, बा नै सर्वेसर्वा हुनुपर्ने, बाले जति भ्रष्टाचार गरे पनि कोही बोल्न नपाइने, राज्यका सबै  अवसरहरु बाकै आसेपासेले पाउनुपर्ने, बाहरुकै बिचमा नेतृत्व आलोपालो हुनुपर्ने जस्ता बेथितिहरु बसाले बाहरुले । यही बेथितिका विरुद्धमा जेन जी तिमीहरुले आप्mनो शक्ति देखायौ । यसैको परिणाम भाद्र २३ र २४ को दिन देख्नु\भोग्नु प¥यो ।

मेरो एक्स पुस्ताको पनि आधा उमेर बाको झोला बोकेरै बित्यो । हाम्रो पुस्ताले दुई दिन हिँडेर पिठ्युँमा नुन र तेल बोक्नु पथ्र्यो । दिनमा छ घण्टा हिँडेर हाइस्कुल पढ्नु पथ्र्यो । दुई दिन पैदल हिँडेर विश्वविद्यालय पढ्न पाइन्थ्यो । राजनीतिका कुरा बुभ्mनु पर्यो भने बाको झोला बोक्नु पथ्र्यो । बाको झोला बोकेको चुक्ली कसैले लगाइदियो भने पञ्चायतको कालकोठरीमा थुनिनु पथ्र्यो । बाले अर्तिउपदेश दिनुहुन्थ्यो  ‘‘यो बुर्जुवा शिक्षा पढेर केही काम छैन, पढ्नु पर्दैन” । फुर्सतको समयमा हलो, कोदालो, दाउरा र घाँस पनि आफैँ गर्नुपथ्र्यो । बोल्ने स्वतन्त्रता थिएन तर भोकभोकै मर्नु पनि पर्दैन्थ्यो । शारीरिक दुःख भए पनि परिवारमा शान्ति र आँटीमा खाद्यान्नका भकारी टन्न हुन्थे । देश आफैँमा आत्मनिर्भर र स्वावलम्बी थियो ।

मेरो बाँकी आधा उमेर डिजिटल प्रविधिमै रोमलिएर बित्दै छ । मैले रेडियो सुनेँ, टेपरेकर्डर बजाएँ, फोनको डायल घुमाएँ, विलियम आस्टिनको टाइपराइटरको किबोर्ड थिचेँ, गुगलका सामग्री खोज्न र इमेल पठाउनसम्म सक्छु कि भन्ने आत्मविश्वास बढेको छ । म पुरानो र नयाँ आधुनिक दुबै युगलाई भोगेको अर्धसाक्षर एक्स पुस्ताले कसरी बुभ्mनु उत्तर आधुनिक जेन जी (जेनेरेसन जेट) को मनोविज्ञान । अझ औँठा छाप मेरा बाको त कुरै नगरौँ ।

मेरो छोरो जेन वाई पूरै प्रविधिमा हुर्कियो । डाटा, ब्राण्ड र ट्रेन्ड, शिक्षा र करियरको कुरा गर्छ ऊ । तर म उसका कुरा बुभ्mदिन । ऊ नेपालमा भ्रष्टाचार, बेथिति र अन्यायबाहेक केही छैन भन्छ । तर आप्mनो कर्तव्य के हो बोल्दैन । अमेरिका, अस्ट्रेलिया, युरोप र जापानबाहेकका कुरै गर्दैन ऊ । मेरो र मेरा बाका त कुरै सुन्न चाहन्न । कहिले काहीँ म छोरालाई इतिहासका कुरा सुनाउन खोज्छु । केही बेर सुन्न खोज्छ ऊ, म भन्दै जान्छु ‘‘भीमसेन थापाले भ्रष्टाचार नियन्त्रण, सैनिक संरचना निर्माण र प्रशासनिक संरचना बलियो बनाए, उजिरसिंहले बलले नसकेपछि छापामार युद्ध गरेर अङ्ग्रेजलाई हराउन सफल भए, बलभद्र कुँवर बालबालिका र महिलासहित अङ्ग्रेजसँग नालापानी (हालको देहरादुन) मा घमासान युद्ध गरे, ७२ वर्षका भक्ति थापाले नेपालको सीमा विस्तार गर्ने क्रममा देउथल (हाल भारतको गढवाल) को युद्धमा वीरगति प्राप्त गरेका थिए, नेपाल आफैँ नेपाल भएको होइन, पुर्खाले त्याग नगरेको भए आजको अवस्था के हुन्थ्यो होल ?” ।

जेन वाई (छोरो) बिचैमा जङ्गिदै भन्छ ‘‘वाहियात कुरा नगर्नुहोस् । संसार कहाँदेखि कहाँ पुगिसक्यो, जात, भूगोल र धर्मका कुरा नगर्नुहोस्” । मैले प्रति प्रश्न गर्छु, त्यसो भए आज पनि इजरायल र युक्रेनले भोगेको युद्ध के हो त ? सिक्किम, ताइवान र तिब्बतका पीडा के हुन् ? मेरो मनले भन्छ ‘‘हे नेपाल आमा ! तिम्रो इतिहास कसले सुरक्षित राखिदिने होला ? वाई र जी पुस्तालाई आफ्नो इतिहासको गौरव के हो ? बुझाइदेऊ, विदेशको मात्रै ध्याउन्न होइन अब त आप्mनै देश बनाउने सत्बुद्धि पनि देऊ” ।

मेरो नाति जेन जीसँग मेरा केही कुराहरु मिल्छन् । ऊ देशमा विद्यमान बेथिति, भ्रष्टाचार, कुशासन, अन्याय र असमानताका कुरा गर्छ । जेन जीलाई इन्स्ट्राग्राम, इमो, युटुब, एआइ, रोबर्ट, जिआइएस आदि डिजिटल प्रविधिमा राम्रो ज्ञान छ । मैले परिकल्पना गर्नै नसकेका कुरा उसले भन्दै र गर्दै पनि आयो । केही दिनअघि जेन जीले भन्दै थियो ‘‘विश्वमा जेन्जीले ठूलो राजनीतिक परिवर्तन ल्याइसक्यो । अब नेपालमा छिट्टै परिवर्तन आउँदै छ” । मलाई यस कुरामा पटक्कै विश्वास थिएन । एउटा सामा जिक सञ्जालको माध्यमबाट, त्यो पनि विद्यालय र विश्वविद्यालयमा अध्ययनरत सहर केन्द्रित किशोरकिशोरी (जेन जी) ले मात्रै सत्ता परिवर्तन गर्ने रे । मुलुकमा भ्रष्टाचारविहीन, पारदर्शी र समतामूलक सरकार ल्याएर सुशासन कायम गर्ने रे ! पहिले त सुन्दा पनि आश्चर्य लाग्यो । नभन्दै नपत्याएको खोलाले बगाउँछ भनेझैँ दुई तिहाइको सरकारलाई २४ घण्टाभित्रै धुवाँ र खरानीमा उडाइदियो । अब परिणाम के आउँछ हेर्न बाँकी छ ।

जेन अल्फा पनि झण्डै १५ बर्से किशोर भइसक्यो । यो पुस्ता डिजिटलकै साथमा जन्मियो । स्मार्टफोन, एआइ, भिआर, एआर, ट्याब्लेट, इन्टरनेट र रोबोटिक्स त उसको जीवनशैली नै बन्यो । अनलाइन क्लास, एआइ ट्युटर, डिजिटल टुल्स र इन्टरएक्टिभ गेम उसका लागि सिकाइ सहजीकरणका माध्यम हुन् । इमोजी (डिजिटल चित्र), मिम (हास्यव्यङ्ग्य चित्र), भिडियो कन्टेन्ट आदि उसका भाषा र सञ्चारका माध्यम बन्नपुगेका छन् । जेन बेटा (पनातिनी पुस्ता) पनि भर्खर सन् २०२५ को नयाँ वर्षसँगै जन्मिरहेका छन् । तोते बोलीसँगै माम खुवाउन पनि डिजिटल सामग्री नभइ भएन । भविष्यमा उनीहरुको आवश्यकता र अवस्था कता मोडिने हो आजै ठोकुवा गर्नु अल्लि हतार हुन्छ कि ?  

यी सबै साइलेन्ट, बूमर्स, एक्स, वाई, जी, अल्फा र बेटासम्बन्धी पुस्त्यौली र तिनका चारित्रिक विशेषताहरु उही जेन जीले मलाई सिकाएको हो । बाबु जेन जी तिमीले मलाई मात्र होइन, अब सारा विश्वलाई सिकाउनुपर्छ, युवाले चाहेमा असम्भव भन्ने के हुन्छ ? तिम्रो काँधमा गहन जिम्मेवारी थपिएको छ । ध्वंसात्मक संरचनाको पुनःर्निर्माण, सार्वभौम अस्तित्व, शासकीय स्वरुप, भ्रष्टहरुको व्यवस्थापन, शान्ति र सुशासन कायमलगायतका अवसर र चुनौतीहरु तिम्रै काँधमा थपिएका छन् । तिमी सक्छौ, गर्दै जाऊ । म तिमीलाई इतिहासका केही ज्ञान र अनुभवका कुरा पनि सुनाउँछु, धैर्य भएर सुन्दै गर ।

कुनै विषय (इतिहास, भूगोल, भाषा र संस्कृति) को राम्रो ज्ञान र आप्mनो व्यवहारिक अनुभव नभएसम्म विज्ञानको प्रतिपादन हुँदैन । विज्ञानको उपलब्धिलाई कार्यान्वयनमा ल्याउने माध्यम नै प्रविधि हो । प्रविधिको माध्यमबाट प्रतिपादित ज्ञान वा विज्ञानलाई भण्डारण, प्रशोधन वा सञ्चरण गर्ने काम नै सञ्चार, सूचना वा तिम्रो भाषामा आइटी हो । आइटीमा तिमी आफैँ पोख्त छौ । मेरो केही भन्नु छैन । मेरो भनाइ मेरै युगतर्पm फर्कनुपर्छ भन्ने पटक्कै होइन । आइटीप्रतिको अनादर पनि होइन । तिम्रो क्षमताप्रतिको संशय पनि होइन । भनाइको आशय ज्ञान नभइकन विज्ञान र विज्ञानविना तिम्रो आइटीले मूर्तरुप लिनसक्दैन भन्ने मात्र हो । आप्mनो मौलिकता र गोपनीयता भएन भने त्यो स्वतन्त्र देश हुनै सक्दैन भन्ने मेरो सुझाव हो । आइटीको डाडावेस आप्mनै मौलिक हुनुपर्दछ ।

मेरो जमानामा आइटीको काम गाउँगाउँका कटुवालहरुले गर्दथे । एक ठाउँबाट अर्को ठाउँमा सूचना र वस्तु पु¥याउन हुलाकी दाइ हुन्थे । आज तिम्रो हातमा हुलाकी दाइ आइफोन बनेको छ । फरक हिजोको आइटीले सबैलाई स्वरोजगार बनाउँथ्यो तर आजको आइटीले सबैलाई बेरोजगार बनायो । हिजोका हुलाकी दाइ र कटुवालले बोक्ने सञ्चारको कन्टेन्ट स्वदेशी उत्पादनमा आधारित थियो तर आज तिम्रो आइफोन (सञ्चार) को कन्टेन्ट स्वदेशीभन्दा विदेशी उत्पादनमा आधारित मात्रै छ । हिजोका कटुवाल वा पण्डितले फैलाउने ज्ञान आप्mनै देशीभाषामा मौलिक विषय मात्र हुन्थ्यो, त्यसमा बोधगम्यता र गोपनीयता पनि थियो । वैरीले देशभित्रको गोप्य कुराको भ्याउ पाउँदैन्थ्यो । तर आज वैरीका निम्ति मुलुक भाइफुटे गुहार लुटे भन्ने अवस्थामा पुगेको छ, हेक्का राखे है । तिम्रो आइटीले आप्mनो वा पराइ कसको पृष्ठपोषण भइरहेको छ भन्ने छुट्याउन सक्दैन । देशीभाषा, संस्कृति, प्रकृति र देशभित्रको गोपनीयतालाई बचाउन सक्दैन । सिंहदरबारमा दन्केको आगोको लप्काले यही कुराको सङ्केत गर्दछ ।

बाबु जेन जी ! साइलेन्ट पुस्ताको कथा त मैले भोगेको होइन । इतिहासमा पढेको मात्रै हो ।  मैले देखेको र भोगेको भनेकै बूमर्स, एक्स र वाई पुस्ता हो । अल्फा र बेटा पुस्ता त आउनै बाँकी छ । म तिमीलाई इतिहासका केही शिक्षाप्रद घटनाहरु सुनाउँछु । ताकि तिमीबाट पनि यस्ता घटनाहरु पुनः नदोहोरियून । बैँसमा स्याल पनि घोर्ले हुन्छ भन्छन् । युवा जोसमा केही गरौँ भन्ने हुटहुटी हिजोका बूमर्स पुस्तका युवा र हामी एक्स पुस्ताका युवामा पनि थियो । आज तिमीहरुमा पनि यो हुटहुटी जागेको छ । मेरो भनाइको अर्थ जोशमा होस पु¥याउनुपर्छ भन्ने हो । हिजोका युवा (बूमर्स) ले बैंसमा देखाएको जोस र बुढेसकालमा गुमाएको होसले सिर्जना गरेको  परिस्थिको परिणामलाई म यहाँ बताउँछु ।

कुनै समय (२००३\०४ साल) राजनीतिक व्यवस्था परिवर्तत गर्ने नाउँमा छिमेकी मित्रको इसारामा ठुल्ठुला उद्योगहरुमा मजदुर हड्तालहरु भए । उद्योगहरु टाट पल्टिए, आमहड्ताल गराउनेहरु सत्तामा पुगे, मजदुरहरु बेरोजगार भएर विदेश पलायन हुनुप¥यो । ती उद्योगहरु सञ्चालनमा कहिल्यै आएनन् । परिणाम वस्तु निर्यात गर्ने देशले सधैँ वस्तु आयात गर्नुपर्ने भयो । अर्को दृष्टान्त कुनै समय (२०२८ साल) झापा विद्रोहमा जमिनदार र पूँजीपतिका नाममा धर्मप्रसादहरुको सफाया अभियान चलाइयो । अभियान चलाउनेहरु सत्तामा पुगे तर टाउको काटिने धर्मप्रसादहरु कृषि पेसाबाटै पलायन भए । परिणाम कृषि प्रधान देश आजपर्यन्त कृषिमा आत्मनिर्भर बन्नै सकेन । दस बर्से जनयुद्धमा पनि देश स्वीजल्र्यान्ड बनाउने सपना त देखाइयो तर हात लाग्यो शून्य । जति जोगी आए पनि कानै चिरेका भनेझैँ अवस्था झनै बिग्रिदै गयो । सर्वहाराको वकालत गरेकै भरमा अमिर बनेका नेताहरु साच्चिकै सर्वहारा बन्नुपर्ने परिस्थिति बन्यो । भनिन्छ जस्तो बिउ रोप्यो त्यस्तै फल फल्छ । ठीक त्यस्तै भयो । हिजो अरुका घर जलाइयो, तिनै सुरक्षा कर्मी मारियो । आज ठीक आप्mनै घर जले, उनै सुरक्षा कर्मीबाट सुरक्षा पाइएन ।

जेन जी तिम्रा काँधमा बन्दुक राखेर सिंहदरबार जलाउने काम भयो । आजभन्दा करिब १२२ वर्ष पुरानो इतिहास बोकेको तत्कालीन समयमा एसियाकै ठुलो महल भनेर चिनिने सिंहदरबार ध्वस्त भएको छ । यस दरबारलाई विश्वसम्पदा सूचीमा सूचीकृत गरी पर्यटक भित्र्याएको भए आज करिब एक लाख युवा देशभित्रै स्वरोजगार हुन्थे होला । मित्र राष्ट्रले स्थापना गरेका कलकारखाना जोगाएको भए र कृषिमा आत्मनिर्भर बन्नसकेको भए मात्र पनि आज कोही बेरोजगार बन्नुपर्ने थिएन र विदेशमा भौँतारिनु पर्दैन्थ्यो होला । सिंहदरबार जलाउने अपराध जसले गरेको भए पनि दोषको भागी जेन जी तिमी नै बन्नुपर्ने छ । एसियाको ठुलो सिंहदरबार नभए पनि नेपाल सुहाउँदो स्यालदरबार निर्माण गर्ने अभिभारा तिम्रै काँधमा थपिएको छ ।

हिजोदेखि आजसम्म व्यवस्था पटकपटक फेरियो तर अवस्था फेरिएको छैन । पात्रहरु पटकपटक फेरिए तर प्रवृत्ति कत्ति पनि फेरिएको छैन । बरु देशका नदीहरु बेचिएका छन्, सिमानाहरु मिचिएका छन् । उद्योग र कलकारखानहरु लिलाम भएका छन्, जन्मिने बच्चाको ऋणभार निरन्तर थपिँदै गएको छ र राष्ट्रिय स्वाधीनता कमजोर हुँदै गएको छ । जेन जी तिमीले पनि ध्यान दिएर सुन्नुपर्ने कुरा हिजोका पुस्ताले जेजस्ता उपायबाट सत्तामा पुगे पनि जबसम्म जनताको अवस्था फेरिएन र नेताको प्रवृत्तिमा परिवर्तन भएन तब त सिंहदरबार जलाइयो । हुँडारले झैँ थुपारेको सम्पत्ति पनि खरानी भयो । मुलुकको दुर्भाग्य भनौँ सत्तामा बस्नेले भन्दा कम अपराध प्रतिपक्षमा बस्नेले पनि गरेको छैन । यो प्रवृत्तिले निरन्तरता पायो भने भोलि तिम्रो पनि यही भाद्र २४ कै हालत नहोला भन्नसकिन्न । मानव शक्ति, सम्पत्ति र सम्मानको भोको हुन्छ । तिमी यी आशक्तिबाट टाढै रहनू  । सत्तामा बस्नेले लुटने, सत्ताबाहिर बस्नेले जलाउने संस्कार र संस्कृति सधैँका लागि अन्त्य होस् । जय होस् ! जय जेन जी !!

जेन जीलाई चिठी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to top